३ दर्जन कलाकार राप्रपामा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टीमा सोमबार ३ दर्जन कलाकार प्रवेश गरेका छन् । काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले टिका र माला लगाइदिएर कलाकारहरुलाई पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा राप्रपाका कोषाध्यक्ष उद्धव पौडेल, केन्द्रिय सदस्यद्धय रेखा थापा, कोमल वली लगायतको उपस्थिती थियो । अधिकांश कलाकारले हिन्दु राष्ट्र र राजतन्त्र, राप्रपाको मुल नारा भएकाले यसमा सहमति जनाउँदै पार्टीमा प्रवेश गरेको बताए ।
पार्टी प्रवेश गर्नेहरुमा कलाकार रविन्द्र खड्कादेखि नायिका कृषा चौलागाइसम्म छन् । पार्टी प्रवेश गर्नेहरुमा कलाकार मदनदास श्रेष्ठ, रामचन्द्र अधिकारी, संझना वुढाथोकी, अयुव केसी, प्रदिप बाँस्तोला लगायतका छन् । करिब ३ दर्जन कलाकार एकसाथ पार्टीमा प्रवेश गरेका हुन् ।
यस्तै, कमेडी सिरियल ‘हर्के हवल्दार’का ८ जना कलाकार पनि पार्टीमा प्रवेश गरेका छन् । देशमा निर्वाचनको चर्चा चलिरहेको समयमा अहिले कलाकारहरु पनि विभिन्न पार्टीमा प्रवेश गर्ने क्रम बढिरहेको छ । केहि समय अगाडि, गायिका कोमल वली र नायिका रेखा थापा पार्टीमा प्रवेश गरेका थिए ।
चुनावको समयमा पार्टीमा प्रवेश गर्ने लहर चल्ने र चुनाव पछि पार्टी छाडेर अर्को पार्टीमा जाने क्रम पहिलो संविधान सभाको चुनावबाटै कलाकारहरुमा देखिएको छ । कलाकारको यो शैलीको राजनीतिलाई धेरैले विचारको भन्दा पनि अवसरको राजनीतिको रुपमा हेरेका छन् ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस