ग्लोबल क्याम्पेन आयोजना गर्दै “सिग्नेचर”

फिल्मी फण्डा । वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान आयोजना गर्ने भएको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो ।
सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफ को सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म, नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन गइरहेको छ । अर्किड केयर होमको प्रमुख सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रमलाई रेड सर्कल क्रिएटिभ सोल्युसन्सले व्यवस्थापन गर्ने छ । एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा फिल्मको स्क्रिनिङ र स्क्रिनिङपछि फिल्मका कलाकारसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साथै, कार्यक्रममा कन्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङका साथै टिकटमा विशेष उपहारहरूको व्यवस्था समेत गरिएको छ ।
यसका लागि ओम हस्पिटल र एजुकेसन एन्ड माइग्रेसन कर्नरले सघाउने छन् । फिल्म सिग्नेचरले व्यक्तिको वास्तविक जीवनलाई विषयवस्तु बनाएको छ । एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कँदै बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बाँनी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई चलचित्रमा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ ।
युवा अवस्थामा मानिसमा हुने साइकोलोजिकल र वायोलोजिकल परिवर्तनले ल्याउने उत्सुकता, आवेग अनि जीवन शैलीलाईव्यवस्थापन गर्न नसक्दा हीनता बोधका कारण दुव्र्यसनको दलदलमा फस्दछन् र यस्तो दुव्र्यसनले एउटा व्यक्ति वा परिवार कसरी क्षतविक्षत हुन्छ र त्यसको नकारात्मक असर सिङ्गो समाज, राष्ट्रलाई कसरी पर्न जान्छ भन्ने विषयलाई फिल्मले रोचक तवरले देखाउने प्रयास गरेको छ । अभियान मार्फत चलचित्रले व्यक्तिमा सकारात्मक सोच, बाँनी, व्यवहार र आशावादी जीवन जिउने उत्प्रेरणा दिने छ ।
ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज)का अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ । चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ रहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस