निर्माता माथि चलचित्र संघको हस्तक्षेप कहिले सम्म ?

समीर बलामी
फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्र धरायसी बन्दै गइरहेको अवस्थामा पनि नेपाली चलचित्रका निर्माताहरुले हिम्मत नहारी नेपाली फिल्म बनाईरहे । डुब्न लागेका कति सिनेमा हलहरुलाई जोगाउन नेपाली चलचित्र निर्माताहरुको ठूलो हात छ । यसो त नेपाली चलचित्रका निर्माता वीना नेपाली चलचित्र उद्योगको कल्पना गर्न पनि सकिदैन । तर त्यहि निर्माता हरु लगातार नेपाल चलचित्र संघको दमनमा पर्दै आईरहेका छन् । केही बर्ष अगाडी सम्म नेपाली चलचित्रका निर्माताले बनाएको फिल्म प्रदर्शन गरे बापत निर्मातालाई ६० प्रतिशत र हल सञ्चालकलाई ४० प्रतिशत सेयर कायम भईरहेको थियो ।
तर पछि चलचित्र संघको दमनका कारण उक्त प्रतिशत ५०–५० मा आईपुग्यो । यसको विरुद्ध नेपाली चलचित्रका निर्माताहरु र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघले कदम चाले पनि चलचित्र संघले दमन नै गरि रहे । त्यसपछि पनि पहिलो हप्ता ५० प्रतिशत, दोश्रो हप्ता ४२ प्रतिशत र तेश्रो हप्तादेखी ३७ प्रतिशतको मापदण्ड आफुनै चलचित्र उद्योगको सर्बोच्च ठाने चलचित्र संघले लाड्न पुग्यो । ए ग्रेडका सुपरहिट सिनेमाहरुले बल्लतल्ल आफ्नो लगानी सुरक्षित गर्छन् तर साना सिनेमाहरुले लगानी त के प्रचारको पैसा समेत असुल्न सक्दैनन् । यस्तो ज्यादती चलचित्र संघले कहिले सम्म गर्ने ? अनि, निर्माताहरुले कहिले सम्म भोग्ने ? न त यस विषयमा निर्माताहरु एकतामा आउन सकेका छन् न त निर्माताहरुको हक हितको लागि स्थापीत नेपाल चलचित्र निर्माता संघले कुनै प्रतिवाद गर्न सकेका छन् । जस–जसको शक्ति उसैको भक्ती भने जस्तै चलिरहेको छ चल्दै आईरहेको छ चलचित्र उद्योग ।
अहिले अर्को एउटा विवाद चरम निष्कर्षमा पुगेको छ । पछिल्लो समय नेपाली चलचित्रको व्यापार अन्तर्राष्ट्रिय रुपमा पनि क्रमिक रुपमा बढ्दै गईरहेको छ । विस्तारित रुपमा चलचित्रको व्यापार बढेसँगै नेपाल भित्रै पनि केही बजारहरु विस्तार हुदैछ । डिस होम च्यानलले नेपाली ग्रामिण भेगका दर्शक लक्षित गरि हलसँगै डिस होम च्यानलमा पनि एकै साथ नयाँ नेपाली फिल्म प्रदर्शन गर्ने भएपछि नेपाल चलचित्र संघ र हलवालाहरुको निन्द्रा मात्र हराएको छैन । होश हवास् उडेको छ । कतै नेपाली चलचित्रका निर्माताहरु सुरक्षित हुन्छन् की या निर्माताहरु बढ्छन् की भने चिन्ता नेपाल चलचित्र संघलाई लाग्न थालेको छ । हैन भने डिस होम मा एकै साथ फिल्म रिलिज गरे वापत निर्माताले आधा नेपालभर रिलिज गरेको रकम एकै पटक पाउनु, यो भन्दा राम्रो निर्माताको लागि के हुन सक्छ ? हुन त निर्माताको लगानीमा पैसा असुलीरहेका हलवालाहरुलाई यो कुरा कहाँ पच्थ्यो र ? फेरि पनि निर्माता विरुद्ध संघ खनिएको छ । हलसँगै डिसहोममा चलचित्र प्रदर्शन गर्न नपाईने तर्क नेपाल चलचित्र संघले गरिरहेका छन् भने एकै पटक प्रदर्शन गर्न पाउनु पर्ने माग निर्माताहरु गरिरहेका छन् ।
पछिल्लो समय यसको बिचमा फसेको फिल्म हो रुद्रप्रिया । रेखा थापाको रुद्रप्रिया हलसँगै कार्तिक २ गते नेपालभर डिस होममा पनि प्रदर्शन हुदैछ । तर संघले रुद्रप्रिया हलमा नलगाउने निर्णय गरेका थिए । अन्तत संघले घुँडा टेक्न पुग्यो । रुद्र प्रियालाई प्रदर्शन गर्न दिने र अर्को चलचित्रबाट एकै साथ प्रदर्शन गर्न नदिने भनेका छन् । यता यो विषयमा वार्ता गर्न निर्माता संघले महासचिव रोज राणाको संयोजकमा वार्ता समिती गठन गरिएको छ । हामीले दुबै पक्षसँग यो विषयमा कुराकानी गरेका थियौं तर चलचित्र संघले एकै पटकमा प्रदर्शन गर्न नदिने र यसो भएमा हलमा हिन्दी चलचित्र मात्र लगाएर बस्छु भने तर्कमा रहेका छन् । निर्माता संघ समय सापेक्ष बजार फराकिलो हुनुपर्ने र निर्माताको हकमा चलचित्र संघ हुनुपर्ने तर्कमा रहेका छन् ।
यहाँ के सम्म छ भने एउटा चलचित्रमा पुरै लगानी निर्माताको हुन्छ र वीना लगानी हलवालाले बढि रकम पाईरहेका छन् । यति मात्र नभएर नेपाली फिल्म प्रदर्शनको भोली पल्ट फिल्म हलबाट फाल्ने पनि यिनै हलवालाहरु हुन् । अनि यिनै हलवालाहरु हलसँगै डिसहोममा फिल्म रिलिज गर्न पाईदैन भनेर अघि सर्छन । यसको उदाहरणको रुपमा प्रेमगीत २ सँगै रुद्र फिल्म रिलिज भएको थियो तर आईतवार बाट कतिपय हलले रुद्र हटाएर प्रेमगित लगाएका थिए । यो त उदाहरण मात्र हो यस्ता थुप्रै उदाहरणहरु यहाँ जिवीत छन् । डिसहोम्मा रिलिज भएका फिल्महरु पनि हलमा प्रदर्शन गर्ने र दर्शक कम भए हल ओभर टुटेको भन्दै हटाउन पाउने अधिकार चलचित्र संघलाई छ । किनकी यो अधिकार संघ आफैले बनाएको हो ।
तर किन डिस होमको कुरालाई नकरात्मक टिप्पणी गरिरहेका छन् चलचित्र संघ । डिसहोमले दिने रकम संघले ग्यारेन्टि गर्न सक्छ कि सक्दैन ? या कम्तिमा दुई हप्ता सबै नेपाली फिल्म हलमा टिकाउने जिम्मा चलचित्र संघले लिन सक्छकी सक्दैन ? यदि सक्छ भने बल्ल निर्माता संघ र चलचित्र संघ बिच आपसी सहकार्य वा वार्ता सकरात्मक देखिन्छ नत्र यसको कुनै तुक रहदैन । निर्माताको फिल्म हलमा प्रदर्शन गरेपछि हलमा प्रयोग हुने प्रोजेक्टर र सर्भरको रकम त निर्मातासँग असुल्ने हलवालाहरुले निर्माताको हित र निर्माताको सुरक्षाको वारेमा सोच्छ भनु मूर्खता मात्र हो । अब निर्माताहरु आफ्नो लागि एकतामा आउन सकेन भने चलचित्र क्षेत्रको लागि ठूलो घाटा साबित हुनेछ । डिस होम त अहिलेको उदाहरण मात्र हो भोलीका दिनमा एनसेल र नेपाली टेलिकम जस्ता संस्थाहरुले हात–हातमा नेपाली सिनेमा को योजना ल्याउँदै छन् । कुन–कुन तह र प्रविधीमा फिल्म रोक्ने हो चलचित्र संघले सोच्नु पर्ने भएको छ । बरु फिल्मका निर्मातालाई अंकुश लगाउन नभई आफ्नै हलहरु विस्तार, अपडेट र गुणस्तर बनाउन चलचित्र संघ लाग्नु पर्ने भएको छ । यो विषयमा चलचित्र संघ र निर्माता संघ सहित सम्बन्धित निकायको ध्यान जान सकोस् ।
विस्तृत जानकारी JANMATA TV मा शुक्रवार बेलुका ९:३० बजे समीर बलामीको साथमा हेर्न सक्नुहुनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस