किन हुदैछ घाटाको व्यापार ? फिल्म निर्माण धमाधम व्यापार मन्द

लक्ष्मण सुवेदी
फिल्मी फण्डा । फिल्म निर्माण र प्रदर्शनमा जति तीव्रता आइरहेको छ, सोही अनुपातमै व्यापारमा ह्रास देखिन्छ । पछिल्लो दुई महिनामा प्रदर्शित कुनै फिल्मले पनि लगानीसम्म ‘रिकभर’ गर्न सकेका छैनन् । चाडबाडमा फिल्म प्रदर्शन गर्दा नाफा कमाइने सोच निर्माता तथा निर्देशकमा हाबी छ । त्यसकारण उनीहरू फिल्म रिलिज गर्न चाडबाड ताक्ने गर्दछन् । तर, कतिपय निर्माता तथा निर्देशक भने ‘राम्रो फिल्म जहिले पनि चल्छ’ भन्ने मान्यता राख्दछन् । त्यसकारण जाडो, गर्मी, वर्षा, जुनसुकै महिनाको जुनै साता पनि रिलिज गर्न तम्सिन्छन् ।
विशेषगरी, नेपाली फिल्म प्रदर्शनका लागि नयाँ वर्ष, दसैँ अनि तिहारमा निर्माताहरूको तँछाडमछाड हुने गर्दछ । कथा नै तयार नभएको, स्क्रिप्ट नै नलेखिएको तथा नामै नराखिएको भए पनि आफ्नो फिल्म दसैँ वा नयाँ वर्षमा प्रदर्शन गर्ने भनेर अग्रिम मिति तोक्नेहरू पनि बग्रेल्ती छन् ।
दसैँको फूलपातीमा प्रदर्शन भएको छक्का पन्जा २ ले समीक्षक तथा आमदर्शकबाट सकारात्मक प्रतिक्रिया भने पाएन । तर, हलमा दर्शकको भीड भने बढी नै रह्यो । आफूहरूको फिल्मलाई कमजोर भन्नेहरूलाई ‘तमाचा’ दिन उत्तिनै खेर दीपकराज गिरी र दीपाश्री निरौलाले ‘हामी सफल भयौँ, आगामी वर्षको फुलपातीमा छक्का पन्जा ३ आउनेछ’ भनेर घोषणा गरे । छक्का पन्जाले जस्तो छक्का पन्जा २ ले न सकारात्मक प्रतिक्रिया पायो न व्यावसायिक रेकर्ड नै तोड्न सक्यो । यद्यपि, दीपक र दीपा ०७५ को दसैँमा छक्का पन्जा ३ ल्याउने योजनामा छन् । हाल कथा बुन्ने काम भइरहेको छक्का पन्जा ३ को सुटिङ वैशाखबाट सुरु हुने बताइन्छ ।
०७४ को फूलपातीमा झैँ ०७५ को फूलपातीमा पनि छक्का पन्जा सिरिजले एक्लै हल नपाउने पक्का देखिएको छ । गत फूलपातीमा निर्माता रोज राणाले विनाप्रचार–प्रसार छक्का पन्जा २ सँग आफ्नो फिल्म मेरो पैसा खोइ ? प्रदर्शन गरे । दसैँको माहोलमा दर्शकले रोजीछाडी फिल्म हेर्छन् भन्ने सोचले रोजले मेरो पैसा खोइ ? रिलिज गरेका थिए । तर, फिल्मले व्यावसायिक सफलता भने पाएन । छक्का पन्जा २ लाई धक्का दिन नसके पनि मेरो पैसा खोइ ? ले बिश्वज्योतिलगायतका केही हल भने ओगट्यो ।
जसकारण ती हलबाट हुने कमाइमा भने छक्का पन्जा २ लाई घाटा लाग्यो । अबको फूलपातीमा भने अशोक शर्माले आफ्नो फिल्म रिलिज गर्नेछन् । डेढ दशकपछि फिल्म निर्देशनमा फर्कन लागेका शर्माको नयाँ फिल्मको नाम भने फाइनल भइसकेको छैन । फिल्ममा खगेन्द्र लामिछाने र सौगात मल्ल मुख्य भूमिकामा रहने बताइएको छ । शर्माले वितरक तथा हल व्यवसायीलाई अबको फूलपातीमा आफ्नो फिल्म रिलिज हुने जानकारी दिँदै ‘हल बुक’ गरिरहेका छन् । त्यसो त दीपकराज–दीपाश्री र अशोक शर्माबाहेक बजारमा अबको फूलपातीमा आफ्नो पनि फिल्म आउने दाबी केही निर्माताले गर्ने गरेका छन् ।
अहिले लगातार फिल्म निर्माण भइरहेका छन् । अधिकांश कलाकार सुटिङमा व्यस्त छन् । प्राविधिक त झनै व्यस्त छन् । कलाकार र प्राविधिकको पारिश्रमिकले आकाश छोइरहेको छ । तर, हलमा मान्छे आउने क्रम भने दिनानुदिन घट्दै गएको छ । दोस्रो चरणको चुनावको कारण देखाउँदै मंसिर महिनामा उल्लेख्य फिल्म प्रदर्शन भएनन् । मंसिर पहिलो साता निशा अधिकारीको झ्यानाकुटी प्रदर्शन भयो । फिल्मले औसत व्यापार त र्गयो, तर दर्शकबाट सकारात्मक प्रतिक्रिया भने पाएन । मंसिरमै हिन्दी फिल्म पद्मावती प्रदर्शन हुने कुराले पनि नेपाली निर्माताहरू डराए । आफ्ना फिल्म रिलिज गरेनन् । चुनावको छेकोमा पहिला कहिल्यै नाम नसुनेको कन्फ्युज, जुन त लाग्यो तारालेलगायतका औसत प्रचारको दीपज्योति, माई लभलगायतका फिल्म प्रदर्शनमा आए–गए ।
पुसको चिसोसँगै फिल्मी बजार अलि तात्न थालेकोचाहिँ देखियो । त्यो नेपाली फिल्मले नभई सलमान खानको टाइगर जिन्दा हैले गर्दा हलमा दर्शकको भिडमाड देखियो । तर, नेपाली फिल्मले भने दर्शक बटुल्न सकेन । पुस तेस्रो साता कुशल थापाको ह्याप्पी न्यु इयर र देव नेपालको मन त परदेशी प्रदर्शन भए । दुवै फिल्म हलमा आउन र उत्रन बेरै लागेन । पुस तेस्रो साता अर्थात् २१ गतेदेखि दुई फिल्म प्रदर्शनमा आएका छन्– राज्जा रानी र फिर्के । दुवै फिल्मले पहिलो दिन औसतभन्दा माथिको व्यापार गर्न सकेका छैनन् । दुवै फिल्मका निर्माता आफ्नो फिल्मले शनिबार ‘पिकअप’ लिने आशमा छन् ।
अबको शुक्रबार अर्थात् २८ पुसमा पनि दुई फिल्म जुध्दै छन् । करोडभन्दा बढी लगानीका दुई फिल्म हुन्– मिस्टर झोले र बटरफ्लाई । रामबाबु गुरुङ निर्दे्शित मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन र बुद्धि तामाङ मुख्य भूमिकामा छन् । ओमप्रतीक गुरुङ निर्दे्शित बटरफ्लाईमा भने आर्यन अधिकारी र प्रियंका कार्की प्रमुख भूमिकामा छन् । मिस्टर झोले कमेडी जनराको फिल्म हो भने बटरफ्लाईलाई विशुद्ध प्रेमकथानक फिल्मका रूपमा प्रचार गरिएको छ । दुवै फिल्मका निर्माता आफ्नो फिल्म चल्नेमा ढुक्क छन् । माघे संक्रान्तिको बिदा खाने हेतुले पुस २८ मा प्रदर्शन हुन लागेका यी फिल्मको अर्काे साता दुइटा ठूलो बजेटका फिल्म प्रदर्शन हुँदै छन् । फिल्म हुन्– लालपुर्जा र पिँजडा ब्याक अगेन ।
माघ ४ गतेदेखि प्रदर्शनमा आउने लालपुर्जा निगम श्रेष्ठको निर्देशनमा बनेको हो भने पिँजडा ब्याक अगेन हिमाल केसीले निर्देशन गरेका हुन् । लालपुर्जालाई मल्टिप्लेक्स लक्षित मानिन्छ भने पिँजडा ब्याक अगेनलाई सिंगल थिएटर । लालपुर्जामा सौगात मल्ल, विपिन कार्की र मेनुका प्रधान मुख्य भूमिकामा छन् । पिँजडा ब्याक अगेनमा भने निखिल उप्रेती र सारा श्रीपाली प्रमुख छन् ।
माघ दोस्रो साता अर्थात् १२ गते भने एकसाथ तीन फिल्मको भिडन्त हुँदै छ । फिल्म हुन्– मदन घिमिरे निर्दे्शित ब्वाइफ्रेन्ड, भद्र भुजेलको फुर्के र रामकृष्ण बजगाईंको स्वर्ग मेरो गाउँ । ब्वाइफ्रेन्डमा महिमा सिलवाल र पुष्कर रेग्मी मुख्य भूमिकामा छन् । फुर्के नयाँ कलाकारले भरिएको छ । त्यसैगरी, स्वर्ग मेरो गाउँमा भने नरेन खड्का, भावना गुरुङलगायतले अभिनय गरेका छन् । माघ तेस्रो साता अर्थात् १९ गते दुई फिल्मले प्रदर्शन मिति तोकेका छन् । फिल्म हुन्– राम नेपाल निर्दे्शित पटुकी र राजु राजवंशीको शेरबहादुर । पटुकीमा रजनी केसी र मक्टेन कालु मुख्य भूमिकामा छन् भने शेरबहादुरमा सुनील थापा, कर्मा र मेनुका प्रधान मुख्य छन् ।
माघ चौथो साता अर्थात् २६ गते भने एउटा मात्रै फिल्म रिलिज हुँदै छ । फिल्म हो– कृ । सुरेन्द्र पौडेलको निर्देशनमा भुवन केसी र सुवास गिरीले निर्माण गरेको कृमा अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा छन् । अनमोल अभिनीत फिल्म भएकाले कृसँग अन्य कुनै निर्माताले आफ्नो फिल्म जुधाउन चाहँदैनन् । एक्सन लभस्टोरी कृले सुस्ताएको बजारमा नयाँ बहार ल्याउने आकलन गरिएको छ । कृ प्रदर्शनको एक सातापछि अर्थात् फागुन ४ गते भने एकसाथ दुई फिल्म कान्छी र मंगलम् प्रदर्शन हुँदै छन् । अभिनेत्री श्वेता खड्काले आकाश अधिकारीको निर्देशनमा निर्माण गरेको कान्छीमा श्वेता स्वयं र दयाहाङ राई प्रमुख भूमिकामा छन् । फागुन दोस्रो साता अर्थात् ११ गते पनि फिल्मको भिड छ । सो मितिमा सत्य–स्वरूप आचार्यको साढे सात, विनय श्रेष्ठको रोमियो एन्ड मुना र घनश्याम लामिछाने निर्दे्शित पन्चेबाजा प्रदर्शनमा आउँदै छन् । त्यसैगरी, फागुन महिनामै नाका, गाजाबाजा, हुर्रेलगायतका फिल्म प्रदर्शन हुँदै छन् ।
चैतमा पनि दर्शकले छानीछानी फिल्म हेर्न पाउनेछन् । चैत पहिलो साता अर्थात् २ गते राजु अधिकारीको उल्झन र शिवम अधिकारीको पञ्चायत प्रदर्शन हुने तयारीमा छन् । त्यसको अर्काे सातामा अर्थात् ९ गते प्रदीप भट्टराई निर्दे्शित शत्रुगते प्रदर्शन हुनेछ । शत्रुगतेमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, शिवहरि पौडेललगायतले अभिनय गरेका छन् । चैत तेस्रो साता अर्थात् २३ गते केकी अधिकारीको कोहलपुर एक्सप्रेस र शिशिर राणाको तिमीसँग जुध्दै छन् । कोहलपुर एक्सप्रेसमा निर्मात्री केकी आफैँ, प्रियंका कार्की, ऋचा शर्मालगायतले अभिनय गरेका छन् । तिमीसँगमा भने आकाश श्रेष्ठ र साम्राज्ञी शाह मुख्य भूमिकामा छन् । चैत अन्तिम साता अर्थात् ३० गते भने अहिलेसम्म गोविन्द शाही निर्मित लिलिबिलीले मात्रै प्रदर्शन मिति तोकेको छ । बजारमा सुनिएअनुसार नयाँ वर्षको अवसर पारेर चैत ३० मै रोहित रुम्बाको नेप्टे पनि प्रदर्शन हुने तरखरमा छ ।
फिल्म बन्ने क्रम अहिले निकै बढेको छ । अधिकांश निर्माता तथा निर्देशक नयाँ फिल्म बनाउने तयारीमा लागिरहेका छन् । कतिपयले माघबाट सुटिङ सुरु गर्ने योजना बनाएका छन् त कतिले फागुनलाई लक्षित गरेका छन् । फिल्म बन्ने क्रममा बाढी आएझैँ भए पनि व्यापारमा भने खडेरी छाएको छ । अहिले सुन्नमा आएअनुसार माघ महिनाभित्रै झन्डै दुई दर्जन फिल्म ‘फ्लोर’ मा जाँदै छन् । निर्माण भइसकेका कतिपय फिल्मलाई वितरकले लिन नमान्ने, हलले चलाउन नमान्ने अनि दर्शकले हेर्न नमान्ने गरेको स्पष्टै छ । तर, पनि फिल्म बन्ने र जुध्ने क्रममा रत्तिभर कमी आएको देखिँदैन ।
लेखक चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष हुन् । लेखकको यो सामाग्री नयाँ पत्रिकाबाट साभार गरिएको हो ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस