बर्ष समिक्षा–२०७४ (पूर्णपाठ)

बर्ष २०७४ मा झण्डै १ अर्ब लगानी
७० करोड बालुवामा पानी
समीर बलामी/फिल्मी फण्डा । गएको बर्ष २०७४ मा झण्डै ९० को हारहारीमा फिल्महरु प्रदर्शनमा आएका छन् । २५ लाख देखी ३ करोड ५० लाख सम्म लगानीका फिल्महरु प्रदर्शनमा आएका हुन् । चलचित्र विकास बोर्डमा २०७३ भित्र १५० भन्दा बढि फिल्महरु दर्ता भएका थिए । २०७४ मा झण्डै ९० को हाराहारीमा मात्र प्रदर्शनमा आएका हुन् । यस भित्र पनि २०७४ मा पाँच चलचित्रले २५ प्रतिशतदेखी १०० प्रतिशत सम्मको नाफा कमाएका छन् भने १९ फिल्म लगानी नजिक र लगानी सुरक्षित देखी ५ प्रतिशत नाफा सम्म पुगेका छन् । यस्तै गनणामा आएका ४४ र नआएका गरि ६० भन्दा बढि फिल्महरुले १० देखी १०० प्रतिशत सम्मै घाटा व्यहोर्नु परेको छ । ६० भन्दा बढि फिल्म सुपर फ्लप सावित भएका छन् ।
अन्य बर्षको तुलनामा बर्ष २०७४ हर्ष न विश्मातको बर्ष सावित भएको छ । ५ देखी १० प्रतिशत फिल्महरु मात्र सुरक्षित हुने नेपाली बजारले यो बर्षमा केही आश देखाईएको छ । यूवा वर्ग लक्षित दर्शकहरु नेपाली फिल्मप्रति आकर्षित भएका छन् । व्यवसायिक हिसावले पनि झण्डै २५ प्रतिशत फिल्महरु राम्रै चलेका छन् । म यस्तो गीत गाउँछु, ए मेरो हजुर २, छक्का पञ्जा २, २ रुपैयाँ, शत्रुगते लगायतका फिल्महरु बर्षको सर्वाधिक हिट फिल्महरु हुन् । घामपानी, राधे, ऐश्वर्य, कृ, कान्छी, मंगलम, लिलिबिली लगायतका झण्डै २ दर्जन फिल्महरु बर्षको लगानी सुरिक्षित देखी १० प्रतिशत नाफा कमाएका औसत फिल्महरु हुन् ।
बर्ष २०७४ मा दर्शकले मन पराएका स्वाद
यस बर्ष मिश्रीत फिल्महरु राम्रा चलेका छन् । स्टार कास्टका फिल्म भन्दा पनि यूवा गर्व लक्षित फिल्म र पूर्ण मनोरञ्जनात्मक फिल्महरु राम्रा चलेका हुन् । सामाजिक विषयमा बनेको फिल्म भन्दा कमेडी जनरामा निर्माण भएका फिल्महरु राम्रा चलेका हुन् । यो बर्ष सर्वाधिक रुचाईएको स्वाद भनेको कमेडी नै हो । छक्का पञ्जा २, धुम २, २ रुपैयाँ, शत्रुगते लगायतका कमेडी फिल्महरु राम्रा चलेका छन् ।
यस्तै रोमान्टि लभस्टोरी भनिएका फिल्महरु पनि यो बर्ष दर्शकको स्वादमा परेका छन् । विशेष गरि यूवा वर्गका दर्शहरुले यस्तो फिल्म मन पराएका छन् । म यस्तो गीत गाउँछु, प्रेम गीत २, ए मेरो हजुर २, ऐश्वर्य, कान्छी, कृ, लिलिबिली लगायत फिल्महरु यूवा वर्गका दर्शकको स्वादको रुपमा देखिएका हुन् ।
२०७४ मा थपिएका स्टार, फिल्म वृतमा स्टारका मापदण्ड
नेपाली फिल्ममा दिन प्रतिदिन स्टारहरु थपिदै गईरहेका छन् । वास्तवमा स्टार भने शब्द आफैमा ओजनदार र प्रतिष्ठित शब्द हो । स्टार के हो ? कसलाई स्टार मान्ने भने विषय र प्रश्न मान्छे फरक र देश फरक हुने गर्छन् । तर सबैको साझा अर्थमा भन्नु पर्दा स्टार भन्ने शब्द चर्चित र सक्षम व्यक्तिलाई दिईने उपनाम हो । नेपाली फिल्ममा व्यक्तिपिच्छे स्टार भने शब्द झुण्डिरहेको देखिन्छ । तर हामीले स्टारको बर्णन बलिउड र हलिउडका केही स्टार सम्बन्धि लेख रचनालाई अध्ययन गरेर प्रस्तुत गरेका छौं ।
बलिउडमा स्टार भन्ने शब्द सेलेब्रेटीहरुलाई भन्ने गरिन्छ । लिड रोलमा रहेर उत्कृष्ट र हिट फिल्म दिने कलाकारलाई प्राय स्टार भन्ने गरिन्छ । यस्तै हलिउडमा लिड अभिनयमा रहेर उत्कृष्ट काम देखाउने र लगातार तीन फिल्म हिट दिने कलाकारलाई स्टारको संज्ञा दिने गरिन्छ । हाम्रो देश नेपालमा लिड रोलमा रहेर एउटा हिट फिल्म दिएपछि उक्त कलाकारलाई स्टार भन्दै आईरहेका छौं । हुन त देश अनुसार मात्र हैन व्यक्ति अनुसार पनि स्टार भने शब्दलाई फरक फरक तरिकारले वर्णन गर्ने गरिन्छ र गर्न सक्छौं । लिड बाहेकका अन्य भुमिकामा रहेर तीन भन्दा बढि राम्रो फिल्म दिने कलाकारलाई पनि स्टार भन्ने गरिन्छ र हामीले पनि भन्दै आईरहेका छौं ।
यसै क्रममा पछिल्लो समय नेपालमा स्टारको संख्या थप्दै गईरहेको छ अझ भन्नु एउटै फिल्मले स्टार बनेहरुको ठूलो जमात भएको छ । हामीले २०७४ मा स्टार बनेका केही नामहरु प्रस्तुत गर्न खोजिरहेका छौं । नेपाली फिल्म वृतमा एक दशक अगाडी सम्म लगातार तीन फिल्म हिट दिनेलाई मात्रै स्टार भने गरेको पुरानो चलचित्रकर्मीहरुको भनाई छ तर पछिल्लो समय एउटा सफल फिल्म दिने कलाकारहरुलाई पनि स्टार भन्दै आईरहेका छौं ।
यसरी एउटा फिल्म बाटै स्टार बनेकाहरुमा दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, पुष्प खड्का, दिपिका प्रसाई लगायत पर्छन् । यस्तै दुई तीनवटा फिल्म दिएर स्टार बनेकाहरुमा दिपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की, केकी अधिकारी, रिचा शर्मा, अर्पन थापा, विपिन कार्की, अनुप विक्रम शाही, सलोन बस्नेत, प्रशान्त ताम्राकार, नीता दुंगाना, शिल्पा पोखरेल, बर्षा शिवाकोटी, बर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, नाजिर हुसेन, रविन्द्र झा, बुद्धि तामाङ लगायत पर्छन् । यस भन्दा अगाडीका कलाकारहरु पनि एक भन्दा बढि फिल्महरु दिएर स्टारका रुपमा कहलिएका थिए ।
बाहुल्यताकै आधारमा यो बर्ष मात्रै स्टारको रुपमा सलिनमान बनियाँ, सलोन बस्नेत, पुष्प खड्का, स्वस्तिमा खड्का, दिपिका प्रसाई, प्रशान्त ताम्राकार लगायत लाईम लाईटमा देखिएका छन् । गत बर्ष प्रदिप खड्का, पल शाह र साम्राज्ञी राज्यलक्ष्मी लगायतका कलाकारहरु स्टारको रुपमा अगाडी आएका थिए । लिडमा फिल्म ए मेरो हजुर २ बाट सलिनमान बनियाँ, फिल्म एश्वर्यबाट दिपीका प्रसाई र प्रशान्त ताम्राकार, फिल्म मंगलमबाट पुष्प खड्का र ३र४ वटा बढि फिल्मबाट सहायक र लिड गरि देखिएका सलोन बस्नेत तथा स्वस्तिमा खड्का स्टारका रुपमा आएका नामहरु हुन् ।
हुन त नेपालमा स्टार देखी सुपरस्टार र महानायक सम्मका ट्याग पाएका कलाकारहरु पनि छन् । अनमोल केसीलाई कोही कसैले मेघा स्टारको ट्याग पनि जवर्जस्ती झुण्डाएका छन् । लगातार तीन चार फिल्म हिट दिएका कारण अनमोललाई सुपरस्टार भन्न सम्म सकिने केही कलाकर्मीको भनाई छ । १० भन्दा बढि सुपरहिट फिल्म दिएका कलाकारहरुलाई मात्रै मेघास्टार भन्न सकिने अवस्था रहेको केही निर्देशकहरुको भनाई छ । तर यी शब्दहरु व्यक्ति अनुसार फरक फरक तरिकाले वर्णन गर्ने गरिन्छ । बहुल्यताकै अर्थमा केही फिल्मकर्मीहरुसँगको कुराकानी र अध्ययनले स्टारको यो वर्णन गरेका छौं । यसर्थ यस बर्ष सलिनमान बनियाँ, सलोन बस्नेत, पुष्प खड्का, स्वस्तिमा खड्का, दिपिका प्रसाई र प्रशान्त ताम्राकार गरि ६ जना स्टार फिल्म क्षेत्रले पाएका छन् भने स्टार बाट अनमोल केसीलाई सुपरस्टार को रुपमा पाएका छन् । केही फिल्मकर्मी र बरिष्ठ फिल्म पत्रकारहरुको अनुसार पछिल्लो समयका स्टार अनमोल केसी मात्रै हुन् बाँकी स्टार हुने दौदमा रहेका छन् ।
२०७४ का सुपरहिट ५ फिल्म
२०७४ साल चैत्र मसान्त सम्म लगभग ९१ फिल्महरु रिलिज हुने छन् । चैत्र १६, २३ र ३० गते गरेर पाँच फिल्महरु रिलिज हुन बाँकी छ । यी बाहेक सबै फिल्महरु रिलिज भईसकेको छ । रिलिज भएका झण्डै ८५ बढि फिल्ममा हामीले गणनामा आएका मध्यबाट ४४ फ्लप फिल्म र १९ औसत तथा लगानी सुरक्षित फिल्मको वारेमा यस अघि नै जानकारी प्रस्तुत गरिसकेका छौं । यस पटक हामीले २०७४ का पाँच सुपरहिट फिल्मको वारेमा जानकारी गराउन गईरहेका छौं । पाँचै फिल्मको गीत संगीत पनि निकै हिट भएको छ ।
२०७४ साल असार ३० गते रिलिजमा आएको फिल्म हो म यस्तो गीत गाउँछु । अन्य ठूला फिल्मको तुलनामा केही कम लगानीमा निर्माण भएको म यस्तो गीत गाउँछु ले लगानी जतिकै नाफा गर्न सफल भएको थियो । २०७४ सालकै सुपरहिट फिल्मको पहिलो फिल्म पनि हो, म यस्तो गीत गाउँछु । सुदर्शन थापाको कथा तथा निर्देशनमा निर्माण भएको फिल्ममा सुदर्शनसँगै पुजा शर्मा निर्माताको रुपमा रहेका थिए । फिल्ममा पुजा शर्मा र पल शाहको मूख्य भुमिका रहेको थियो । फिल्मले औसत रुपमै तेश्रो हप्ता प्रवेश गरेको थियो भने केही हलमा ५१ दिन कायम गरेको थियो । फिल्मले सिंगल र मल्टिप्लेक्स दुबैमा बराबर व्यापार गरेको थियो ।
यस्तै भदौं १६ गते सिंगल रिलिज भएको फिल्म हो ए मेरो हजुर २ । स्व. शिव रेग्मीद्धारा निर्दे्शित ए मेरो हजुर हिट फिल्म हो । झरना थापा र स्व. श्रीकृष्ण श्रेष्ठ अभिनित ए मेरो हजुर को नाम सापटी लिदै झरना थापाले ए मेरो हजुर २ निर्माण गरेकी थिईन् । उनी यहि फिल्मबाट निर्देशकको रुपमा फिल्ममा आएकी हुन् । उनको पहिलो डेब्यु निर्देशन रहेकै ए मेरो हजुर २ सुपरहिट हुन पुग्यो । अहिले पनि फिल्म विदेशको विभिन्न देशमा रिलिज भईरहेको छ । फिल्म ड्रिम्सबाट फिल्ममा आएकी नायिका साम्रज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत र नव नायक सलिनमान बँनियाको मूख्य अभिनय रहेको फिल्म रिलिजको शुरुवाटी दिनमै राम्रो चलेको फिल्म हो । औसत रुपमा सिंगल र मल्टिप्लेक्स दुबैमा तेश्रो हप्ता सम्म फिल्म चलेको थियो ।
२०७४ कै अर्को सुपरहिट फिल्म हो दुई रुपैयाँ । भदौं २३ गते रिलिजमा आएको फिल्म दुई रुपैया कमेडी जनरामा निर्माण भएको फिल्म हो । फिल्मलाई आशिफ शाह र निश्चल बस्नेतले निर्माण गरेका हुन् भने फिल्ममा दुबैको मूख्य भुमिका रहेको थियो । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् । फिल्मले सिंगल थिएटर भन्दा मल्टिप्लेक्समा राम्रो व्यापार गरेको थियो । दुई रुपैया पनि औसत रुपमा मल्टिप्लेक्समा तेश्रो साता सम्म चलेको फिल्म हो ।
यस्तै यहि बर्षको अर्को सुपरहिट फिल्म हो छक्का पञ्जा २ । दिपक राज गिरी र दिपा श्री निरौलाको क्याम्पबाट निर्माण भएको फिल्म छक्का पञ्जाको निरन्तरता स्वरुप निर्माण भएको सिक्वेल हो छक्का पञ्जा २ । फिल्म हिट मात्र भएन सबै रेकर्ड ब्रेक पनि भयो । हाल सम्म सबैभन्दा बढि पैसा कमाउने फिल्मसँगै छक्का पञ्जाले धेरै रेकर्डहरु कायम गर्न सक्यो । अर्को तर्फ फिल्मको दुबै गीत कपि भएको कारण फिल्म विवादमा पनि तानिएको थियो । फिल्मले चार हप्ता सम्म सिंगल र मल्टिप्लेक्समा व्यापार गरेको थियो भने केही हलमा ५१ दिनसम्म मनाएको थियो । फिल्मलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्ममा दिपक दिपा सहित केदार घिमिरे, जितु नेपाल, सुमन गिरी लगायतको लगानी रहेको थियो भने फिल्ममा केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतको मूख्य भुमिका रहेको थियो । फिल्म दशैको छेकोमा असोज ११ गते फुलपातीको दिन रिलिज भएको थियो ।
यस्तै यस बर्षको रिलिज भएका मध्यको अन्तिम सुपरहिट फिल्म हो शत्रुगते । जम्बो कलाकारहरुको टोली भएको शत्रुगते मह सञ्चारसँगै किरण केसी, दिपक दिपा, प्रदिप भट्टराई, नरेन्द्र कंसकार लगायतको लगानी रहेको फिल्म हो । फिल्म जात्राबाट एकाएक चर्चामा आएका निर्देशक प्रदिप भट्टराई निर्दे्शित फिल्म शत्रु गते गत शुक्रवार अर्थात चैत्र ९ गतेबाट प्रदर्शन भईरहेको छ । दिपक दिपासँगै मह जोडी समावेश भएको कारण फिल्मले आक्रमक व्यापार गरिरहेको छ । फिल्मले रिलिजको तेश्रो दिनबाट नाफा शुरु गरेको हो । यस कारण शत्रु गते सुपरहिटको लिष्टमा अटेका हुन् । फिल्ममा पल शाह र आँचल शर्मासँगै प्रियंका कार्की, दिपक दिपा , मह जोडी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुषाल, रमेश रञ्जन झा लगायतको मूख्य भुमिका रहेको छ ।
यस बर्ष रिलिज भएका फिल्महरुबाट यी पाँच फिल्महरु सुपरहिटको सुचिमा पर्न सफल भएको हो । यसै बर्ष फिल्म हिरोज, तिमीसँग, नेप्टे र लिलिबिली रिलिज हुन बाँकी छन् । यी फिल्महरुको व्यापार कस्तो हुने हो त्यो चैत्र मसान्त भित्र थाहा हुनेछ ।
चर्चा बढि व्यापार कमका औसत १९ फिल्म
कुनै साँवा मुस्किल, कुनै लगानी सुरक्षित
यस बर्ष प्रदर्शनमा आएका ९१ फिल्महरु मध्ये ४४ फिल्महरु सुपर फ्लप भएका छन् । कतिपय गनणामा पनि आएनन् । यस बीचमा केही फिल्महरुले औसत व्यापार गरेका छन् भने कतिपय फिल्म लगानी सुरक्षित नजिक पुगेका छन् । केही फिल्महरुले लगानी सुरक्षित गरेर १/२ प्रतिशत नाफा पनि कमाएका छन् । यस्तै औसत चलेका देखी लगानी नजिक र लगानी सुरक्षित सम्मका १९ फिल्महरुको वारेमा हामी जानकारी गराउन गईरहेका छौं । यो बर्ष १९ वटा फिल्महरुले औसत व्यापार देखी लगानी नजिक र लगानी सुरक्षित सम्म गर्न सकेका छन् ।
२०७३ साल बैशाख १ गते तीन फिल्महरु रिलिजमा आएका थिए । दिपेन्द्र के खनाल निर्दे्शित फिल्म लभ लभ लभ, शुशिल पोखरले निर्मित फिल्म राधे र सञ्चारकर्मी दिपेन्द्र लामा निर्दे्शित फिल्म घामपानी रिलिजमा आएको थियो । फिल्म लभ लभ लभ मा स्वस्तिमा खड्का र नव नायक सुरज पाण्डेको भुमिका रहेको थियो । लगानी गरेर हिरो बन्न आउने सुरजको कारण हो या फिल्मको कमजोरीले गर्दा फिल्मले खासै राम्रो व्यापार गर्न सकेन । देश देखी विदेश सम्म गरेर फिल्मले औसत व्यापार मात्रै गरेको थियो । यस्तै निखील उप्रतीको एक्शनदारमा निर्माण भएको राधेले सिंगल थिएटरमा राम्रो व्यापार गरेको थियो । भलै फिल्मले लगानी भने उठाउन नसकेको स्रोतले बताईएको हो । निर्माता शुशिल पोखरेलले भने लगानी सुरक्षित भएको दावी गरेका छन् । यता दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म घामपानीको चर्चा निकै नै भएपनि बल्ल बल्ल लगानी नजिक पुगेको हो । फिल्म राम्रै चलेको थियो र पनि लगानी सुरक्षित गर्न फिल्मलाई हम्मे हम्मे परेको थियो ।
यस्तै श्रावण १३ गते प्रदर्शनमा आएको दुई फिल्म प्रेमगीत २ र रुद्रले पनि सोचे अनुसारको व्यापार भन्ने गरेको थिएन । आशुसेन प्रोडक्शनको निर्माणमा बनेको फिल्म प्रेम गीत हिट भएपछि निर्माण गरिएको सिक्वेल प्रेम गीत २ हलमा राम्रो त चल्यो तर अपेक्षा अनुसारको भएन । फिल्मले देश विदेश गरेर लगानी सुरक्षित गरेर २ देखी ३ प्रतिशत नाफा गरेको थियो । तर प्रेम गीत २ सँगै रिलिज भएको रुद्रले त्यति पनि गर्न सकेन । फिल्म रुद्रको लगानी कम भएकोले लगानी नजिक भन्ने पुगेका थिए । राम शरण पाठक निर्दे्शित तथा सन्तोष सेन निर्मित प्रेम गीत २ मा प्रदिप खड्का र अश्लेशा ठकुरीको अभिनय रहेको थियो । फिल्म रुद्रमा निखील उप्रेती र सारा श्रीपाईलीको अभिनय रहेको छ । रुद्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
यता श्रावण २७ मा रिलिज संरक्षणले हलवालाहरुको फिल्म भएको कारण मात्रै औसत व्यापार गरेको थियो । निखील उप्रेती देखी सौगात मल्ल सम्मको अभिनय रहेको फिल्म मल्टिप्लेक्स टार्गेट भनिएपनि मल्टिप्लेक्समा वास आउट भएको थियो । फिल्मलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । फिल्मको निर्देशक पुर्नेन्द्र झा हुन् । नपत्याउने खोलाले बगाउँछ भनेजस्तै नजरअञ्दाज नगरिएको फिल्म धुम २ ले लगानी सुरक्षित गरेको थियो । भदौं ९ गते रिलिजमा आएको फिल्मले लगानी सुरक्षित गरेर केही नाफा पनि गरेको निर्माता, निर्देशक तथा कलाकार जय किशन बस्नेतको दावी छ । मल्टिप्लेक्समा नलागेको फिल्मलाई सिंगल थिएटरमा रुचाईएको थियो ।
यस्तै स्टार भनिएका पल शाह अभिनित फिल्म जोनी जेनटलमेनले निर्मातालाई तनाब बनाई दियो । अर्थात भदौं ३० मा रिलिजमा आएको जोनी जेन्टलमेनले पलकै कारण औसत व्यापार गरेको थियो तर लगानी सुरक्षित पार्ने सम्मको काम पलले पनि गर्न सकेन । फिल्ममा पलसँगै आँचल शर्माको अभिनय रहेको थियो । फिल्मको औसत व्यापार रहेको हो । यस्तै हलबाट पुरै चुर्लुम्म भएको अर्को फिल्म मेरो पैसा खोईले विभिन्न राईट तथा डिसहोमबाट गरेर लगानी नजिक पुगेका थिए । असोज ११ गते फुलपातीको दिनदेखी फिल्म छक्का पञ्जा २ सँगै रिलिज भएको मेरो पैसा खै आईतवार सम्म हलमा देखिएका थिए । त्यसपछि डिसहोममा मात्रै सिमित भएको थियो । फिल्ममा सौगात मल्ल, बर्षा राउत र बुद्धि तामाङको मूख्य भुमिका रहेको थियो ।
कार्तिक २ गते तिहारको छेकोमा रिलिज भएको रेखा थापाको फिल्म रुद्रप्रिया पनि फिल्म रुद्रकै हालतमा पुगेको थियो । फिल्म चलोस् भनेरै आर्यन सिग्देललाई समावेश गरिएपनि फिल्मले राम्रो गर्न सकेन । निर्माता रमेश एम के पौडेल नराम्रोसँग चिप्लिएको यो पहिलो फिल्म हो । त्यसपछि अझ बेजोडले उनी राज्जा रानीमा चिप्लिएका हुन् । फिल्मले औसत मात्रै व्यापार गरेको थियो । यता रमेश उप्रेतीले आफ्नो अग्नी परिक्षा जस्तै गरेर निर्माण गरिएको फिल्म ऐश्वर्याले राम्रो व्यापार गरेको छ । सायद ऐश्वर्या नचलेको भए रमेश उप्रेती फिल्म क्षेत्रमा रहिरहन्थ्यो या रहनुहुन्नथ्यो त्यो उनलाई नै थाहा थियो । किनकी फिल्म ऐश्वर्या रमेश उप्रेतीको लागि अग्नी परिक्षा जस्तै थियो । अन्य फिल्मको तुलनामा राम्रो चलेको ऐश्वर्या धेरै राम्रो चलेको पनि हैन । तर देश विदेश गरेर झण्डै झण्डै लगानी भने सुरक्षित गरेका छन् ।
यता कार्तिक १७ मा रिलिज भएको फाटेको जुत्ता, कार्तिक २४ मा रिलिज भएको मेला र मंसीर १ मा रिलिज भएको झ्यानाकुटी औसत चलेका फिल्म हुन् । सौगात मल्ल र प्रियंका कार्की लिडमा देखिएको फिल्म फाटेको जुत्ता लगानी नजिक रहेको फिल्म हो । निर्माता अर्जुन कुमारले फिल्म हिट भएको भन्दै सिक्वेल बनाउने औपचारिक घोषणा गरेका थिए । तर कति बर्षमा सिक्वेल आउने हो कुनै अत्तोपत्तो छैन । फिल्मका निर्देशक निकेश खड्का हुन् । आमेश भण्डारी, सलोन बस्नेत र आशिष्मा नकर्मी अभिनित मेला पनि औसत फिल्म हो । फिल्म मेला लगानी नजिक रहेको थियो । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । निशा अधिकारीले बेनिशा हमाल र सौगात मल्ललाई मूख्य भुमिकामा लिएर बनाएको फिल्म झ्यानाकुटी पनि लगानी नजिक रहेको फिल्म हो । फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका थिए ।
यस्तै पौष २८ मा रिलिज फिल्म मिस्टर झोले र माघ ५ मा रिलिज पिँजडा ब्याक अगेन लगानी सुरक्षित गर्न सफल भएको फिल्म हो । राम बाबु गुरुङ निर्दे्शित फिल्म मिस्टर झोलेलाई मिश्रीत प्रतिक्रिया आएको थियो । दयाहाङ राई मूख्य भुमिकामा रहेको फिल्मलाई दर्शकले राम्रै रुचाईएको थियो । यस्तै एक्शन किंग निखील उप्रेती अभिनित फिल्म पिँजडा ब्याक अगेनले देश देखी विदेश सम्म गरेर लगानी सुरक्षित गरिएको हो । फिल्मको लगानी कम भएको कारण पनि लगानी सुरक्षित सम्म भएको निर्देशक हिमाल केसीले बताएका छन् ।
यता सुपरस्टार भनिएका अनमोल केसी अभिनित धेरै नै अपेक्षा गरिएको फिल्म कृ ले सोचेजस्तो व्यापार गर्न सकेन । माघ २६ मा रिलिज कृ ले व्यापार जति गरेको छ, त्यसको श्रेय पनि अनमोललाई मात्रै गएको धेरैको भनाई छ । यस अर्थमा अनमोल केसी एउटा यस्तो कलाकार हो जसको टाउको हेरेर करोडको व्यापार हुन्छ । विषयवस्तुको आधारमा कमजोर भएको कृ ले देश देखी विदेश गरेर झण्डै लगानी नजिक पुगेका छन् । फिल्मको बजेट निकै बढि भएको कारण नाफा गर्न नसकिएको हो । फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् भने सुवास गिरी र भुवन केसीले निर्माण गरेका हुन् ।
यता स्वेता खड्काले निर्माण गरेको फिल्म कान्छी लगानी सुरक्षित गर्न सफल भएको फिल्म हो । फाल्गुन ४ गतेबाट रिलिजमा आएको फिल्म कान्छीमा स्वेतासँगै दयाहाङ राईको मूख्य भुमिका रहेको थियो । स्वेता खड्का र वितरक गोपालकाजी कायस्थले फिल्मले केही प्रतिशत नाफा पनि कमाएको दावी गरे । कतिपयले भने रोएर फिल्म चलाएको आरोप स्वेता खड्कालाई लगाएका छन् । आकाश अधिकारी निर्दे्शित कान्छी विषयवस्तुको आधारमा भन्दा पनि व्यापारिक हिसाबमा राम्रो भएको फिल्म हो ।
यस्तै फाल्गुन २५ गते रिलिजमा आएको फिल्म मंगलम लगानी सुरक्षित गर्न सफल फिल्म हो । पुष्प खड्का, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाई अभिनित सामाजिक कथामा निर्माण भएको फिल्म मंगलमलाई नवल नेपालले निर्देशन गरेका हुन् भने छविराज ओझाले निर्माण गरेका हुन् । फिल्मलाई पुष्प खड्काको कारण चौतर्फी तारिफ मिलेको थियो । नायक पुष्प खड्काले मंगलमबाट स्टारको बाटो तय गर्न सक्ने छवि बनाएका छन् ।
यस्तै चैत्र ९ गते शत्रुगते, चैत्र २३ गते हिरोजसँग तिमीसँग र चैत्र ३० गते नेप्टेसँग लिलिबिली रिलिज हुन बाँकी छ । यी फिल्महरुले कस्तो व्यापार गर्ने हो त्यो पछि नै थाहा हुनेछ ।
२०७४ का ४४ फ्लप फिल्म
३० करोड लगानी बालुवामा पानी
नेपाली फिल्मी बजारमा बर्षको कम्तीमा ७० र बढिमा १२० फिल्महरु पर्दामा लाग्ने गर्छन् । ५२ हप्ता अर्थात एक बर्षमा यति धेरै संख्यामा फिल्म रिलिज हुनको लागि कति फिल्म बर्षमा बन्छ होला भन्ने अनुमान लगाउन सकिन्छ । झण्डै बार्षिक रुपमा १ सय ५० भन्दा बढि फिल्महरु निर्माण हुन्छन् । केही हलमा आईपुग्दैनन् भने केही च्यारिती, युट्युब र हार्ड्डिस्क मै सिमति हुन्छन् । यस बर्ष झण्डै ९० को हाराहारीमा फिल्म प्रदर्शन भएको छ । ९० हाराहारीको फिल्ममा चैत्र ९ गते शत्रुगते, चैत्र २३ गते हिरोज र तिमीसँग, चैत्र ३० गते नेप्टे र लिलिबिली रिलिज हुन बाँकी छ । रिलिज हुन बाँकी फिल्मलाई छोडेर रिलिज भएका फिल्म मध्येहरुबाट हामीले फ्लप ४४ फिल्मको लिस्ट प्रस्तुत गर्न गईरहेका छौं ।
औसत व्यापार गरेका फिल्महरु, लगानी सुरक्षित नजिक रहेका फिल्महरु, लगानी सुरक्षित मात्र गरेका फिल्महरु र नाफा गरेका फिल्महरु बाहेकका फिल्महरु जसले औसत व्यापार अर्थात लगानीको ३५ प्रतिशत व्यापार पनि गर्न सकेन अझै भनु कतिपय फिल्मले प्रचारको पैसा पनि उठाउन सकेन, त्यस्ता फिल्महरुको लिस्ट सार्वजनिक फिल्मी फण्डाले गरेका छौं ।
भुवन केसी अभिनित फिल्म ब्ल्याक डायरी बैशाख २२ मा प्रदर्शनमा आएको थियो । फिल्मले पोष्टर र पम्प्लेटको पैसा पनि उठाउन सकेन । यस्तै जेष्ठ ५ गते रिलिजमा आएको फिल्म डायरी पनि वास आउट भएको फिल्म हो । नायिका छुल्ठिम गुरुङले निर्माण गरेको फिल्ममा उनीसँगै रेखा थापा पनि मूख्य भुमिकामा थिईन् । यता अष्ट नारायण पिक्चर्सले सहकार्य गरेर बनाएको फिल्म हो हिटलर । सौरभ दकाल निर्दे्शित फिल्ममा सोहित मानन्धरको मूख्य भुमिका रहेको थियो । फिल्मले खासै कमाल गर्न सकेन । फिल्म जेष्ठ १२ गते प्रदर्शन भएको थियो । विल्सन विक्रम राईले निर्माण गरेको फिल्म रातोघर जेष्ठ १९ गते रिलिजमा आएको थियो । उनी स्वयम प्रमूख भुमिकामा देखिएका थिए । फिल्मले आश देखाउँदा देखाउँदै चल्न भने सकेन ।
यस्तै जेष्ठ २६ गते दयाहाङ राई अभिनित फिल्म लाल्टिन र अर्पन थापा अभिनित तथा निर्दे्शित फिल्म आधा लभ रिलिज भएको थियो । दुबै फिल्मले औसत व्यापार पनि गर्न सकेन । भलै केही मिडियाले फिल्मको व्यापार करोड भएको समाचार सम्प्रेषण गरेका थिए । यस्तै बर्षा शिवाकोटी र शुशिल श्रेष्ठ अभिनित तथा अमरदिप सापकोटा निर्दे्शित फिल्म कारखाना असार १६ गते रिलिजमा आएको थियो । नेपालमा अरु कारखाना चल्न नसकेको बेला मान्छे बनाउने कारखानाको सन्दर्भमा निर्माण भएको फिल्मले औसत व्यापार पनि गर्न सकेन ।
यता असार २३ मा रिलिज दिपेन्द्र के खनाल निर्मित तथा खगेन्द्र लामिछाने निर्देशति फिल्म धनपतिले पनि खासै व्यापार गर्न सकेन । फिल्म मल्टिप्लेक्समा ठिकै रुचाईएको थियो । आश देखाउँदा देखाउँदै फिल्मले औसत पनि व्यापार गर्न सकेन । यस्तै असार ३० गते सुनिल रावलको सायद २ ले पनि खासै औसत व्यापार गर्न सकेन । सायद हिट पछि शुशिल श्रेष्ठलाई लिएर निर्माण गरिएको सायद २ ले सुनिललाई घाटा मात्र हैन फिल्म वृतबाट नै टादा बनाईदियो ।
यस्तै श्रावण ६ गते रिलिज भएको फिल्म डा. खाते, भदौं २ मा रिलिज भएको सरोज न्यौपाने निर्मित तथा हेमराज बिसी निर्दे्शित फिल्म ग्याङ्गस्टार ब्लुज, भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित भुईमान्छे, भदौं ९ गते रिलिज भएको हामी शरणार्थी, देश खोज्दै जाँदा, भदौं ३० गते रिलिज भएको लिला, कात्र्तिक २ गते रिलिज भएको दयाराम दाहाल निर्दे्शित रानी, कार्तिक २४ मा रिलिज भएको दयाहाङ राई अभिनित तान्द्रो सहित सकस, हसन खानको रोमियो र अण्डर नाईटिङ लगायतका फिल्मले पनि खासै व्यापार गर्न सकेन । तुलनात्मक रुपमा ग्याङ्गस्टार ब्लुज, कारखाना र सायद २ केही मात्रामा ठिकै थियो । मंसीर १५ मा रिलिज कन्फ्युज कुन फिल्म हो छुटाउनै गाह्रो थियो ।
यस्तै मंसीर २२ गते रिलिज भएको दिपज्योती वास आउट फिल्म हो । भुकम्पको पेरिफेरिमा निर्माण भएको गणेश लामा अभिनित तथा जापानि निर्देशक तोषिआकी ईतोहद्धारा निर्दे्शित फिल्म माई लभ ले पनि व्यापार गर्न सकेन । माई लभ र गोरे मंसीर २९ मा रिलिज भएको थियो । गोरे पनि वास आउट फिल्म हो । पौष १४ मा ६ बडिगार्ड देखाएर ताण्डव मच्चाउने कुशल थापाको ह्यापि न्यु ईयर, पौष २१ मा केकी अधिकारी र नाजिर हुसेन अभिनित राज्जा रानी र ईकुले निर्माण गरेको फिर्के, पौष २८ मा आर्यन अधिकारी र प्रियंका कार्की अभिनित बटरफ्लाईले पनि खासै औसत व्यापार गर्न सकेन । तुलनात्मक रुपमा राज्जा रानी र बटरफ्लाई राम्रो मान्न सकिन्छ ।
यस्तै माघ ५ मा निगम श्रेष्ठ निर्दे्शित मल्टिस्टारर लालपुर्जा, माघ १९ मा रिलिज गौरी शंकर धुजुको शेर बहादुर र पटुकी, फाल्गुन ११ मा रिलिज घनश्याम लामिछाने निर्दे्शित पञ्चेबाजा र सत्य–स्वरुप निर्मित साढे ७, फाल्गुन १८ मा रिलिज मिलन चाम्स निर्दे्शित ब्लाईण्ड रक्स र विपिन कार्की अभिनित नाकाले पनि खासै औसत व्यापार गर्न सकेन । सोही दिन रिलिज भएको फिल्म तिम्रै छोरी तरुनी हामीलाई के को दोष वास आउट फिल्म हो । विषवस्तुको आधारमा पञ्चेबाजा र शेरबहादुर राम्रो मान्न सकिन्छ । ब्लाईण्ड रक्स श्रृष्टि केसी माथि बनेको फिल्म हो । फिल्मबाट मिश्रीत पतिक्रिया आएको थियो ।
यस्तै फाल्गुन २५ मा रिलिज सोनाम लामा निर्मित हुर्रे र गनेशदेव पाण्डे निर्दे्शित गाँजाबाजा, गत हप्ता चैत्र २ गते रिलिज डेष्टिनेशन काठमाडौं, पंचायत, ईन्काउन्टर गल्ली र अफिसरले पनि कुनै आश देखाउन सकेन । यी फिल्महरुले औसतमा पनि व्यापार गर्न सकेन । यस्तै नाम नखुलीएका चार भिडियो फिल्महरु १ शो देखी एक दिनमानै पर्दाबाट बाहिरिनु परेको थियो ।
यी ४४ फिल्महरु १५ लाख देखी माथि र १ करोड ५० लाख सम्मका बजेटमा निर्माण भएका फिल्महरु हुन् । सरदरमा सबै फिल्मको निर्माण बजेट ७० लाख दरले अनुमान गर्ने हो भने पनि ३० करोड माथिको लगानी खेर गएको देखिन्छ । यसरी नेपाली फिल्मको गुणस्तरलाई सबैले अपनाउन नसक्दा, बजार व्यवास्थापन नगर्दा र नेपाली बजार अनुसारको लगानीमा फिल्म नबनाउँदा बर्षौं करोडौं रुपैँया बालुवामा पानी सरह भईरहेको छ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस