छोराको रुपमा जन्म भयो तर अहिले आफै छोरी भएँ : अनुपम श्रेष्ठ

सोजना लोहार\फिल्मी फन्डा । अनुपम श्रेष्ठ तेस्रो लिङ्गी समुदायका निकै चर्चित फेसन डिजाइनर तथा कलाकार हुन । एउटा सामान्य फेसन डिजाइनर, म्युजिक भिडियोमा अभिनय, फेशन शो र र्याम्प शोमा मोडलिङ हुदै उनी अभिनय क्षेत्र तिर प्रवेश गरेका थिए । यतिबेला उनको चर्चा नेपाली चलत्रित्र क्षेत्रमा जताततै हुन्छ, खुल्ला विचार र प्रस्ट वक्ता भएका कारण पनि अनुपमको पछिल्लो समय नेपाली मिडियाहरु पछि नै लाग्ने गरेका छन् । समाजमा पुरुष र महिलामा विच हुने भेदभाव याथवत छ त्यासमा पनि तेस्रो लिङ्गीहरु माथी गरिने विभेद त अझ भयानक छ । यस्ता विभेदहरुलाई पन्छाउँदै, लड्दै पछिल्लो समय धेरै तेस्रो लिङ्गीहरुले विभिन्न क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । त्यस्तै अनुपम श्रेष्ठ पनि एक हुन ।
अनुपमले कलाकारिताको क्षेत्रमा विशेष खुबी भएको व्यक्तिको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् । उनको हाउभाउ, मिठो बोली र मायालु स्वाभावका कारण उनी सबै वर्ग र उमेरका मानिससँग सजिलै घुलमिल हुन सक्छन् । उनमा यो एक किसिमको विशेष कला झल्किन्छ पनि । उनी यसलाई आफ्नो महत्वप्र्ण हतियार समेत ठान्छन् । उनी भन्छन् – “मलाई भगवानले दुई रुप दिएकोमा म अत्यान्तै खुशी छु । कुनै गुनासो छैन, म यस्तो किन भए भन्ने प्रश्न पनि अव ममा आउदैन । अरुले एउटा रुपमा जीवन बाच्छन् म दुईओटा रुपमा जीवन बाँचिरहेको छु । यो रुप जीवन त मेरो लागी ईश्वरको बरदान हो अनि विशेष शक्ति पनि ।”
“मेरो बुवाआमाको चाहना थियो छोरी जन्माउने तर म छोराको रुपमा जन्मिए । उमेर बढ्दै जाँदा म परिवर्तन भए र मातापिताका लागी छोरी बन्दिए । मेरो माता पिता पनि मेरो यो रुपमा खुशी हुनुहुन्छ । सायद म पहिलो भाग्यमानी व्यक्ति हुँ जस्लाई मातापिता, घरपरिवार र आफ्न्त सवैको सर्पोट मिलेको छ ।” सप्तरीको राजविराजमा वि.स २०४३ साल जेठ २८ गते जन्मिएका अनुपम करिव ६ महिनाको हुदाँ काठमान्डौ आएका थिए । उनको बाल्यकाल काठमान्डौमा बित्यो र पढाई लेखाई पनि काठमान्डौकै स्कुल कलेजबाट पुरा गरे । उनको कुरा सुनिरहँदा हरेक कुरालाई उनले सरल र सकारात्मक रुपमा लिएको देखियो ।
अनुपम जस्ता यहाँ हजारौँ छन् तर उनीहरु कहिल्यै अनुपम जस्तै खुल्ला भएर बाच्न सक्लान यस्ता प्रश्न मनमा आए । जे भए पनि हामी मान्छे हौ , हामीमा पनि मन छ । कहिलेकाँही त मन दुख्छ होला नि समाजको अनौठो व्यवहार देखेर त्यस्तो बेला आफुलाई कसरी समाल्नु हुन्छ भनेर सोध्न मन लाग्यो । हाम्रो प्रश्नको अर्थ उनमा पिडा दिनु भने थिएन । उनको जवाफबाट अरुलाई पनि उर्जा मिलोस्, प्रेरणा मिलोस् हरेक तेस्रो लिङ्गीहरुमा अनुपममा जस्तै आत्माविश्वास थपियोस् भन्ने पक्का थियो ।
उनी अलिक भावु हुदै पुराना दिनहरु पनि सम्झिए र भर्ने हो कहिले काँही अलि मन दुख्छ तर बानी परिसक्यो । पहिला स्कुल कलेजमा साथीहरुले खुव गिज्याउथे, जिस्काउथे, केटाहरुसँग घुलमिल हुन मलाई गाहे हुन्थ्यो तर मेरो आत्माबल बलियो भएर होला आफुलाई समाल्थे । अहिले त म आफूमा आउने हरेक नकारात्मक प्रतिक्रियालाई पनि सकारात्मक रुपमा लिन्छु र यसलाई शक्तिका रुपमा बदल्छु । सायद यही खुवीले गर्दा पनि होला आज म यो क्षेत्रमा टिकीरहेको छु । त्यसैले म सबैलाई आग्रह गर्छु बाहिरी आवरण हेरेर कसैलाई पनि मुल्यांकन नगर्नु होला । हामी हाम्रो आफ्नो पहिचानमा गर्व गरौ ।’
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस