समाजको बेथितीमाथी सिचुएशनल कमेडी (फिल्म समिक्षा–जात्रै जात्रा)

0 1290

फिल्मी फण्डा । फिल्म समाजको दर्पण हो । यहि सन्दर्भमा रहेर कति फिल्महरु सान्दर्भिक हुन सके, कति असान्दर्भिक । तर, यस मध्येको एक सान्दर्भिक फिल्म हो जात्रै जात्रा । कमेडी फिल्मको बाढी नेपाली फिल्ममा आईरहँदा त्यस बीचमा थपिएको फिल्मको सुचिमा जात्रै जात्रा पनि रहेको छ । कमेडी फिल्म बनाउन कै लागि जबर्जस्त हसाउँने शैलीका संवाद तथा अनावश्यक सिनहरु राख्ने परम्परा बढ्न थालेको छ । त्यसबाट भने जात्रै जात्रा पूर्ण रुपमा मुक्त छ ।

समाजको वास्तविक घटना र बेथितीलाई जात्रै जात्राले सिचुएशनल कमेडी शैलीमा प्रस्तुत गरेको छ । यस कारण फिल्म अब्बल बनेको छ । यसको प्रमुख श्रेय भने निर्देशक प्रदिप भट्टराईलाई जान्छ । सिक्वलेको नाममा सिरिज बनाएर दर्शक झुकाउन निर्देशकहरु सफल भईरहँदा वास्तविक सिक्वेलको अर्थ भने जात्रै जात्राले प्रस्ुतत गरेको छ । फिल्मको यो अर्को बलियो पक्ष हो । फिल्मको कथा, पात्र र घटनाक्रमलाई निर्देशक प्रदिप भट्टराईले कलात्मक शैलीमा बुनेको छ ।

जहाँ फिल्म जात्रा सकिएको थियो त्यहि बाट शुरु हुन्छ जात्रै जात्राको कथा । उहि तीन पात्रहरु फणिन्द्र (विपिन कार्की), जोयश (रविन्द्र सिंह बानियाँ) र मुन्ना (रविन्द्र झा) २ करोड ८० लाखको काण्डमा जेल बसेका हुन्छन् । अनुसन्धानको क्रममा निर्दोष सावित पछि सरकारको क्लिन चिटमा थुना मुक्त हुन्छन् । बाहिर आएपनि तीनै जनाको जीवनशैली भने उस्तै । कानुनले अपराधी हैन भनी प्रमाणित गर्दा पनि समाज र छर छिमेकबाट अपराधीकै व्यवहार उनीहरुमा निरन्तर पर्छ । यहि बीचमा परिवार पनि सबैको टाढिएका छन् ।

पहिलेजस्तै जीवन चलाउनकै कठिन छ तीन जना पात्रलाई । यहि बीचमा फणिन्द्रले ट्याक्सी चलाउन शुरु गर्छ । मुन्नाले पनि आफ्नै बलबुट्टाले कपाल काट्ने काम शुरु गर्छ । एक दिन फणिन्द्रको ट्याक्सिमा दावा (दयाहाङ राई) समूहले सुन तस्करी गर्ने योजना सहित गईरहेको हुन्छ । बीच बाटोमा दावाको समूहलाई अपहरण गरेपछि फणिन्द्र ट्याक्सी लिएर फर्कन्छ । तर, सुन त्यहि ट्याक्सिमा हुन्छ । उक्त सुनलाई फणिन्द्रले आफुसँगै राख्छन् ।

यता दावा समूह सुनको खोजीमा फणिन्द्रको पछि लाग्छन् । फणिन्द्र सुनलाई गोप्य रुपमा राख्न अनेक जुक्ति निकाल्छन् । त्यहि बीचमा मुन्ना र जोयशलाई पनि थाहा हुन्छ । पारिवारीक हिसाबले समस्या परेका तीन जनै पात्रहरुले १० किलो सुन पचाउने जुक्तिको खोजी गर्छ । यता फण्न्द्रिको बुढी शम्पु (बर्षा राउत) र छोराले आफन्तको घरमा बेहोर्नु परेको पिडाका कारण फाणिन्द्र सुन पचाउने सोचमा पुग्छ । त्यसमा विस्तारै शम्पुले पनि साथ दिन्छ ।

अब सुन पच्छ की पच्दैन । तीन जनै पात्रहरुको सपना पुरा हुन्छ की हुदैन ? यहि प्रश्नको उत्तरमा फिल्म घुमेको छ । फिल्मको शुरुवाटदेखि अन्तिमसम्म यस्तै शिलशिलामा फिल्म अघि बढ्छ । मनोरञ्जनको खुराकलाई निर्देशकले भरपुर प्रयोग गरेका छन् । त्यो पनि सान्दर्भिक र स्वभाविक तरिकाले । जात्रा भन्दा जात्रै जात्रा विषयवस्तुको तरिकाले उस्तै लाग्छ । तर प्रस्तुतीको हिसाबले अझ अब्बल छ । फिल्मले हसाउँदैन मात्र बीच बीचमा भावुक पनि बनाउँछ । फणिन्द्रका छोराले दर्शकलाई चसक्क बनाईदिन्छ । शम्पु पात्रले पनि कहिँ कतै भावुक बनाउँछ । फणिन्द्रको लुकिछिपी प्रेम फिल्मको अर्को बुट्टा हो ।

राम्रौ हुदाँहुदै केही अस्वाभाविक सिनहरु पनि छन् । ट्याक्सिमा गएको दावालाई कसले बीच बाटोमा अवरोध गर्यो ? किन र के का लागि अपहरण गर्यो ? निर्देशकले प्रष्ट देखाउन सकेको छैन । सामाजिक कुरीतीको रुमा रहेको धामी, झाक्री, माता प्रथालाई फिल्मले प्रथामिकता दिएको छ । जुन अस्वभाविक पनि छ । माताले सुन पच्ने नपच्ने वारे बोल्दा असान्दर्भिक लाग्छ । फिल्ममा यसको आवश्यकता खासै प्रभावकारी लाग्दैन । काठमाडौंमै रहेको सुन र पैसालाई पोखरा पुराइएको छ । १० किलो सुन किन्न बोरामा करौडौं बोकेर व्यापारी पोखरा पुग्नु सान्दर्भिक लाग्दैन । तरपनि यस्ता केही कुरालाई बिर्सने हो भने फिल्म उत्कृष्ट छ ।

दयाहाङ राई, राजाराम पौडेल, कालु राना फिल्ममा बोनस पात्रहरु हुन् । यी पात्रहरुले फिल्मको प्रस्तुतीकरणलाई फराकिलो बनाएको छ भने घटना क्रमलाई विषयगत तरिकाले उत्थान गर्न सहज बनाएको छ । फणिन्द्र, मुन्ना र जोयशको कामको प्रशंशा जात्रामा पनि भएकै हो । यसमा त नहुने कुरै भएन । विपिन कार्की एक पछि अर्को फिल्ममा यस्तै पात्रको लागि अझ अब्बल र दर्शकको आशा बन्दै गईरहेको छ ।

जात्रामा गीत थिएन । तर, पनि फिल्मले राम्रै प्रशंशा पाएको थियो । जात्रै जात्रामा भने दुई वटा गीतहरु समावेश गरेका छन् । दुबै गीत कथासँगै बाँधिएर आउने भएकोले स्वभाविक देखिएको छ । दुबै गीतलाई दर्शकले रुचाएका छन् । केही केही ठाउँमा ब्याकराउण्ड म्युजिक केही लाउड छन् । सम्पादन पक्ष बलियो छ । फिल्मको सिनेमाटोग्राफि पनि बलियो पक्ष हो ।

मूख्य पात्रहरुसँग जोडिएका सहायक पात्रहरुलाई पनि निर्देशकले कथासँगै पूर्ण रुपमा बाँधिएका छन् । सुन काण्ड सहितका समाजका बेथितीलाई व्यङ्ग्यात्मक तिखो प्रहार त गरेका छन् । तर, फिल्मबाट समाजले सिकिहाल्ने खासै खुराक भन्ने छैन । सरसर्टि हेर्दा जात्रा पछि जात्रै जात्रामा केही कमर्सियल सोचबाट फिल्मलाई माथी उठाउन भने निर्देशकले खोजेका छन् । विषयवस्तुको संरचना, पात्र, लोकेशन र प्रोडक्शन भ्यालुले त्यो देखाउँछ ।

नेपाली फिल्ममा सिक्वेल भनेर दर्शक झुकाईरहेका निर्देशकहरुलाई भने जात्रै जात्राले वास्तविक सिक्वेलको एउटा पाठ पक्कै सिकाउँछ । सँगसँगै सुनकाण्ड मात्र नभई घरेलु हिंसा र वर्गीय विभेदलाई पनि फिल्मले प्रस्तुत गरेको छ । तसर्थ समाजमा रहेका बेथितीलाई सिचुएशनल कमेडीमा प्रस्तुत गरेको फिल्मले शुरुदेखि अन्तसम्म दर्शकलाई सन्तुष्ट बनाएको छ ।

निर्देशक : प्रदिप भट्टराई
निर्माता : षट्कोण आर्टस्
पात्रहरु : विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, बर्षा राउत आदि
जनरा : कमेडी
रेटिङ : ३.५/५

यो पनि पढ्नुहोस् :औचित्य विहिन चलचित्र विकास कम्पनी, अत्याधुनिक इन्डोर स्टुडियो किन नबनाउने ?

फिल्मी फण्डा ।  नेपाली फिल्म क्षेत्रमा प्रोडक्शन हाउसको आवश्यकता थियो सँगसँगै यस क्षेत्रलाई जुझारु रुपले सञ्चालन गर्नुपर्ने अवस्था जतिवेला थियो । त्यतिबेला तत्कालिन सरकारले सञ्चार संस्थान ऐन २०२८ अनुसार शाही नेपाली चलचित्र संस्थानको नामबाट २०२८ सालमा स्थापना भएको थियो चलचित्र विकास कम्पनी । संस्थानको पहिलो अध्यक्ष यादव खरेल थिए । निजीकरणपछि कम्पनीले काम नै नगरेको भन्दै खरेलले समय समयमा सार्वजानिक रुपमा चिन्ता व्यक्त गर्दछन् ।

संस्थान २०५० सालमा निजीकरणपछि कम्पनीमा रूपान्तरण भएको थियो । संस्थान कम्पनीमा रुपान्तरित भएपछि पहिलो हस्तान्तरण अरुण मल्ल लगायत डि.बि. थापा र नीर शाहलाई गरिएको थियो । यो व्यवस्थापनले संस्थानको सम्पूर्ण दृश्य अदृश्य दायित्व स्वीकार गरेर त्यसबेलाको आफ्नो अन्तिम मूल्य दुई करोड २७ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तथा सुशीला श्रेष्ठको समूहबाट दुई करोड ११ लाख एक हजार एक सय कायम गरी अरुण मल्लको व्यवस्थापनलाई सम्पूर्ण व्यवस्थापन सेयर बिक्री गरिएको थियो । यसरी अरुण मल्लले छ करोड १० लाखमा खरिद गरेको संस्थानलाई २०६४ सम्म सोही व्यवस्थापनले काम गरेको थियो ।

०६४ सालमा कम्पनीको व्यवस्थापन परिवर्तन भई गोपीकृष्ण मूभिजका प्रोप्राइटर उद्धव पौडेलको मातहतमा कम्पनी सञ्चालन हुन थाल्यो । वि.सं. २०७० भदौ ५ गतेसम्म सञ्चालक समितिको अध्यक्ष भई हाल सामाजिक सेवा र राजनीतिमा सक्रिय उद्धव पौडेलको कार्यकालपछि अहिले यस कम्पनीको अध्यक्षमा निकिता पौडेल रहेकी छिन् । सञ्चालकमा उज्वल पौडेल, निरज पौडेल, निरक पौडेल र सिर्जना शाह छन् । ६ हजार ४ सय ९ जना सेयरधनी रहेको सो कम्पनीको ८.९२ प्रतिशत सेयर सरकारको छ ।

सुरुवाती समयमा विकास कम्पनिले फिल्म क्षेत्रका लागि निकै राम्रा कामहरु गरेका थिए । रिलमा फिल्म खिच्ने बेलाताका विकास कम्पनिमै फिल्मको प्रोडक्शन लगायत कामहरु हुने गर्थे । अझ भनौ जति पनि नेपाली फिल्महरु निर्माण हुन्छन् सबै विकास कम्पनि पुगेकै हुन्थे । तर, नेपालमा डिजीटल प्रविधीको शुरु भयो विस्तारै विकास कम्पनिबाट नेपाली फिल्मकर्मीहरु बाहिरिदै गए । किनकी चलचित्र विकास कम्पनि बालाजुले डिजीटल प्रविधीलाई अबलम्बन गर्दै रुपान्तरण गर्न सकेन ।

यसो त शाही चलचित्र विकास परिषदबाट चलचित्र विकास कम्पनिमा परिणत हुदाँ त्यसको प्रभावकारी विस्तारै घट्दै गईरहेको थियो । प्रति सेयर १०० मा ७ हजार कित्ता सेयर कम्पनिको रहेको थियो । कम्पनि घाटामा गईसकेपछि अझ भनु कम्पनि डुबिसकेपछि प्रति सेयरको मूल्य १५ रुपैयाँ सम्म आयो । तर, सेयरमा कसैको आकर्षण देखिएन । बालाजु औद्यौगिक क्षेत्रको अधिनमा रहेको ३२ रोपनि जग्गामा रहेको कम्पनिलाई गोपिकृष्ण मुभिजले ठेक्कामा लिईसकेपछि कम्पनिको स्थिति नाजुक बन्दै गएको फिल्मकर्मीहरुको भनाई छ ।

फिल्म निर्माण, वितरण, प्रदर्शन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लिजमा दिएको बालाजु औद्योगिक क्षेत्रको २६ रोपनी १२ आना जग्गामध्येबाट जग्गा तथा त्यहाँको संरचना भाडामा दिइए पनि त्यसअनुसार काम भएको नपाइए पछि व्यवस्थापनले फिर्ता लिएको थियो । हाल कम्पनि ८ रोपनिमा मात्र सिमित छ । बाँकी जग्गा गोपिकृष्ण मुभिजकै संलग्नतामा बालाजु औद्योगिक क्षेत्रलाई अन्य संस्था तथा कारखानालाई लिचमा दिएको छ । डिजीटल प्रविधीमा नेपाली फिल्म गएपछि विकास कम्पनिले त्यहाँ भएका केही उपकरण र दुईवटा स्टुडियो बाहेक सञ्चालनमा ल्याउन सकेन । व्यवास्थापन र डिजीटल प्रणालीको प्रोडक्शन हाउस निर्माण गर्न नसक्नु र त्यो किसीमको वातावरण बनाउन नसक्नु व्यवस्थापनको कमजोरी हो ।

पछिल्लो ७–८ बर्षमा कुनै पनि फिल्मकर्मी त्यहाँ पुगेका छैनन् । किनकी त्यहाँ डिजिटल नेपाली फिल्मको काम हुनेगरि कुनै व्यवस्था र वातावरण छैन । दुईवटा स्टुडियो सञ्चालन हुर्दै आईरहेका थिए । तर, त्यो पनि अहिले एउटा मात्र सञ्चालनमा छन् । जग्गा फिर्ता भईसकेपछि कम्पनिको ठूलो स्टुडियो भत्काईसकेको छ । गोपिकृष्ण मुभिजले कम्पनिलाई केही मूर्त रुप दिन नसके पछि अहिले बाहिरको संस्थालाई १० बर्षको लागि चलचित्र विकास कम्पनिनै भाँडामा दिएको छ । मनोज राज भण्डारीले अहिले कम्पनिलाई भाँडामा लिईएको हो । चलचित्र विकास कम्पनिमा कर्मचारीले तलब नपाएको समस्यादेखी चलचित्रकर्मीलाई ठगेको समस्यका कारण बीच बीचमा धेरै आन्दोलनहरु पनि भएका थिए ।

अहिलेको अवस्था हेर्ने हो भने चलचित्र विकास कम्पनिको औचित्य समाप्त भएको छ । सरकारी स्वमित्वको संस्थानलाई निजिकरणको नाममा अस्तित्व नै नामेट पार्नु फिल्म क्षेत्रका सक्रिय व्यक्तिहरुको गैर जिम्वेवारी कार्य रहेको जानकारहरु बताउँछन् । नेपालमा फिल्मसिटी चर्चा लामो समय देखि चल्दै आएको छ । काभ्रेको डाँङडुङ्गे डाँडामा फिल्मसिटी बनाउने भनेर बजेट छुट्याइन थालेको लामो समय भइसकेको छ । ठुलो लगानी लाग्ने फिल्मसिटी बनाउन विनियोजन गरिने कम बजेटको कारणले फिल्मसिटीको अवधारणाले मूर्त रुप पाउन नसकेको फिल्मकर्मीहरु बताउँछन् ।

कहिले धादिङ र गोरखाको सिमानामा फिल्मसिटी बनाउन उपयुक्त त कहिले अन्य ठाँउमा पनि सम्भाव्यता रहेको चर्चा चलिरहँदा अभाव खड्किरहेको सुविधा सम्पन्न इन्डोर शुटिङ स्टुडियोको रुपमा विकास कम्पनीको जग्गालाई उपयोग गर्न सकिन्छ । राजधानीमा नै फिल्मकर्मीहरुले सुविधा सम्पन्न इन्डोर शुटिङ स्टुडियोको खोजि भैरहँदा उपयुक्त विकल्प बन्न सक्छ अहिले निष्क्रिय जस्तै रहेको चलचित्र विकास कम्पनी बालाजु ।

जसको लागि सरकारी निकाय चलचित्र विकास बोर्डले गोपि कृष्णबाट कम्पनीको व्यवस्थापनको पाटो आफु माताहतमा ल्याउनुपर्छ । निजिकरणको नाममा व्यवस्थित रुपमा चल्न सक्ने संस्थानलाई धराशायी बनाइनु फिल्म क्षेत्रको लागि हानिकारक नै छ । काठमाडौं कुना काप्चामा जग्गा खोजिरहनुको साटो चलचित्र विकास कम्पनि बालाजु उपयुक्त ठाउँ हुनसक्छ । यतातर्फ सम्बन्धित पक्षको ध्यान जाओस् ।

यो पनि पढ्नुहोस् : प्रविधि सिक्ने की, ड्रोन मात्रै चलाउने ? 

फिल्मी फण्डा ।  नेपाली फिल्मले समयक्रम अनुसार फड्को मारिरहेको छ । क्यान (नेगेटिभ) देखि रिल र अहिले डिजटलको जमाना । सबै समयक्रमसँगैको विस्तार हो । यसलाई अझ फिल्म क्षेत्रलाई सहज बनाएको छ । तर, यो सँगै प्राविधिकहरु प्रविधिमा कति अपडेट भएका छन् ? के साँचै आवश्यक रुपमा अपडेट छन् त प्राविधिकहरु ? कि प्रविधिका यन्त्रहरुलाई जस्तो जान्यो त्यस्तै मात्र प्रयोग गरिरहेका छन् । यो मूख्य कुरा हो ।

प्रविधिले फड्को मारेसँगै पछिल्लो समय नेपाली फिल्ममा ड्रोनबाट लिइएको सट अनिवार्य जस्तै समावेश गर्न थालिएको छ । म्यूजिक भिडियोमा पनि ड्रोनबाट खिचिएका दृश्यहरुले नै प्रधानता पाएको हुन्छ । अझ, फिल्मको ट्रेलरमा ड्रोन–सटलाई हाइलाइट गरिएको हुन्छ । फिल्मका गीतहरुमा भव्य सेटमा ड्रोन–सटलाई अनिवार्य नै ठानिन्छ । फिल्मको लोकेशन गाँउ होस् या शहर ड्रोनबाट लिइएको सट अवश्य राखिएको हुन्छ ।

सायद त्यस्तो सटले फिल्म भव्य देखिन्छ भन्ने विश्वास सम्बन्धित फिल्मकर्मीमा रहेको हुनसक्छ । ‘क्याप्टेन’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’, ‘दाल भात तरकारी’, ‘ए मेरो हजुर ३’, लभ स्टेशन, लगायतका फिल्महरुमा ड्रोनबाट खिचिएका सटहरू हेर्न पाइन्छ । फिल्ममा केही दृश्यलाई छाडेर ड्रोन–सटहरू खासै अस्वाभाविक लाग्दैनन् । तर, कतिपय फिल्म यस्ता हुन्छन, जसमा ड्रोन–सटको प्रयोग अस्वाभाविक लाग्छ । ड्रोनको अनावश्यक प्रयोगले दृश्यको संवेदनामा अवरोध ल्याउने फिल्मकर्मीहरुको बुझाइ रहेको छ ।

राम्रो देखिन्छ भन्दै ड्रोन जहाँ पनि उडाइन्छ । चाहे त्यो कथाले मागेको होस् वा नमागेको होस् । फिल्मको मागबिना जर्बजस्ति घुसाइएका गीतहरुमा त ड्रोन–सटको व्यापक प्रयोग गरिएको हुन्छ । मेलेमेसो बिना राखिने गीतमा उस्तै किसिमले क्यामरा घुमाइन्छ । आँखाको आनन्दको लागि अत्याधिक रुपमा क्यमराको लेन्स घुमाइन्छ । हिमाली भेगका लोभलाग्दो दृश्य कैद गर्न, रोमान्टिक सिनहरु कैद गर्न ड्रोनको प्रयोग गरिन्छ ।

यसले दृश्यको गुणस्तर त बढ्छ तर, तारतम्यता नमिल्दा उपयोगी नहुन सक्छ । ग्रामिण भेगको प्राकृतिक दृश्य कैद गर्न होस् वा शहरको गगनचुम्बि भवन कैद गर्न होस् ड्रोनको प्रयोग गरिन्छ । क्यामरामा कैद ती दृश्यहरु लोभलाग्दो त देखिन्छ तर, फिल्मको कथासँग दृश्यको संयोजन ? चहकिलो दृश्य फिक्का लाग्छ । एकातिर कथा बहन्छ, दृश्य अर्कोतिर हुन्छ । कथाले भन्न खोजेको कुरा फिल्मको दृश्यले बोल्नुपर्ने हो । दर्शकले फिल्म हेर्दा दृश्यबाट पनि आनन्द लिनुपर्ने हो । तर, कथाको प्रस्तुतिमा दृश्य चिप्लिएको हुन्छ ।

प्रविधिको प्रयोगले गुणस्तर बढाएको छ यो सराहनिय पक्ष हो । व्यवस्थित रुपमा प्रयोग गर्नुपर्ने दृश्य जथाभावि प्रयोग हुन र यसैले ट्रेण्डको रुप लिनु चाँही कालान्तरमा राम्रो नहुन सक्छ । कतिपय निर्देशक आँफै क्यामराको क्याप्टेन बन्छन् । यो उनीहरुको कथाको मर्म दृश्यमा उतार्ने प्रयास हुनसक्छ । जथाभावि दृश्यको प्रयोगलाई व्यवस्थित बनाई ‘स्टोरी टेलिङ’मा ध्यान दिनु फिल्मको लागि हितकर छ । तर, प्रविधीको नामम सिमित घेरामा निर्देशक अल्झनु चाहीँ घाटक पनि हुन्छ । यसमा पनि निर्देशक र छायाँकारले ध्यान दिन जरुरी छ ।

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+