प्रदीपलाई ‘प्रेमगीत ३’ कै भर

0 631

फिल्मी फण्डा ।  नायक प्रदीप खड्कालाई कुनै समय भ्याइ–नभ्याइ थियो । उनी एक पछि अर्को फिल्ममा अनुबन्ध हुने समाचार निरन्तर जस्तै बाहिरियो । चक्लेटी नायकको डिमाण्ड चुलियो । निर्माताहरु उनलाई आफ्नो फिल्ममा अनुबन्ध गर्न इच्छुक थिए । हिरोइन हैन निर्देशक छान्ने प्रदिपको बाध्यता जस्तै भएको थियो । तर, अहिले प्रदीप ब्रेकमा छन् । उनी एउटा फिल्म दिने तर, हिट फिल्म दिने मनशायमा छन् ।

निर्माण समय पछि धकेलिएको फिल्म ‘बेला’ मा उनी अनुबन्ध हुने पक्काजस्तै भएको भनियो । ‘बेला’लाई रामबाबु गुरुङ्गले निर्देशन गर्दैछन् र गुरुङ्गकै निर्देशनमा बन्ने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा पनि प्रदीपले अभिनय गर्ने संम्भावना उच्च छ रहेको खबर आयो । उता, सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्म ‘शुभ बिबाह’मा पनि प्रदीप काम गर्दैछन् भन्ने खबर आयो ।

सुवास गिरीको कृ २ मा पनि प्रदिप हुने गाईगुई हल्ला थियो । तर सबैमा एकाएक प्रदिप बिलायो । उनी अभिनित फिल्म ‘लभ स्टेशन’ प्रदर्शनको क्रममा थियो । छानेर मात्र फिल्म खेल्ने गरेका प्रदीपले फिल्म ‘लभ स्टेशन’ पछि कुन फिल्ममा अभिनय गर्लान् ? भनियो अन्ततः प्रदीपले ‘प्रेम गीत ३’ नै गर्ने भए । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ आफ्नो टिम सहित फ्लोरमा छ । तर, प्रदिप टिममा परेन । अहिले ‘शुभ विवाह’ र ‘बेला’को चर्चा पनि सेलाएको छ ।

‘प्रेमगीत ३’ ले हिरोइन छनोट गर्दैछ । फिल्मले प्रदर्शनको मिति आगामी चैत २८ गते तोकेको छ । उनी अभिनित फिल्महरु ‘रोज’ र ‘लभ स्टेशन’ ब्याक टू ब्याक फ्लप भयो । प्रदीप समय समयमा सफल फिल्म र असफल फिल्मले करिअरमा खासै फरक नपार्ने बताउँछन् ।

फिल्म छान्न नजानेको र बाठो बन्न खोज्दा चिप्लिएको भनेर प्रदिपको आलोचना पनि हुन्छ । स्टारको छवि बनाइसकेका प्रदीपलाई अब सफल फिल्म दिन दवाव छ । त्यसैले होला उनले प्रेम गीतको ब्राण्ड पछ्याएका । करियरको रफ्तारको लागि ‘प्रेम गीत ३’ को भरमा छन् प्रदीप भन्दा फरक नपर्ला ।

यो पनि पढ्नुहोस् :  यो बर्ष झण्डै दर्जन फिल्म मात्र

फिल्मी फण्डा ।  हिमाली वस्तीका वासिन्दाहरु चिसो मौसममा अत्याधिक हिँउ पर्ने हुँदा उच्च भागबाट तल अस्थाई रुपमा बसाई सर्छन् । कष्टकर जीवनशैलीबाट मुक्ति पाउनु उनीहरुको ध्येय हुन्छ । अस्थाई रुपमा बसाई सरेर आफ्नो सुरक्षा खोज्ने हिमाली वासिन्दा जस्तै रजतपटका फिल्म निर्माण युनिटले अस्थाई रुपमा फिल्म निर्माण रोकेका छन् ।

गत वर्ष उनीहरु फिल्मको खस्कदो व्यापारले असुरक्षित भएकाले फिल्म निर्माण नै रोकेका हुन् । निर्माण भए पनि कम मात्रामा निर्माण भएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी यसलाई स्वभाविक मान्छन् र संसारको जुनसुकै फिल्मी उद्योगमा यस्तो हुने गरेको बताउँछन् । उनले भने,– ‘एकाध वर्षमा फिल्म निर्माण धमाधम हुने र कहिलेकाँही कम बन्ने संसारको जुनसुकै फिल्म क्षेत्रमा हुन्छ ।’ लामा दिन, उच्च हिमाली क्षेत्रको मौसम समेत सफा हुने तथा पानी नपर्ने भएकाले वसन्त र गृष्म ऋतुमा सबैभन्दा बढी फिल्महरु फ्लोरमा जान्छन् । वैशाख र जेठ महिना फिल्म छायाकंनको महिना मानिन्छ । तर, फिल्म छायाकंनको मौसममा यस सिजनमा कम फिल्म फ्लोरमा निस्किएका छन् ।

अघिल्लो वर्ष यही महिनामा करिब तीन दर्जन जति फिल्म फ्लोरमा गएका थिए र ९६ ओटा फिल्महरु प्रदर्शनमा आएका थिए । प्रदर्शनमा आएपनि अधिकांश फिल्महरुले हावा खाएका थिए । गत वर्षको बक्स अफिस कलेक्सनले फिल्म निर्माण युनिटलाई विश्राम लिन बाध्य बनाएको छ । फ्लप फिल्मको बाढी आएकोले फिल्म निर्माण युनिट तर्सिएका छन् । त्यसको परिणाम स्वरुप यसवर्ष कम फिल्महरुले छायाकंन गर्ने तालिका निकालेका छन् । छायाकंनको सिजनमा यस वर्ष पोई पर्यो काले, साङ्लो, छ माया छपक्कै, रातो टिका निधारमा, कबड्डी कबड्डी कबड्डी, मिस्टर नेपाली लगायत आधा दर्जन फिल्म अहिले फ्लोरमा रहेका छन् ।

यस्तै यो बर्ष भद्रगोलको नयाँ फिल्म, मारुनी, प्रेम गीत ३, आई एम २१, डामाडोल, सम्हालिन्छ कहिले मन लगायतका फिल्महरु पनि रिलिजमा आउने संभावना छ । सबै फिल्मलाई हेर्दा जम्मा एक दर्जनको हाराहारीमा मात्र राम्रा ब्यानरका फिल्महरु यस बर्ष रिलिज हुने देखिएको छ ।

यस वर्षबाट फिल्म निर्माणमा ८० प्रतिशतले कमी आएको बताउँछन् । उसो भए कम फिल्म निर्माण भईरहँदा फिल्म क्षेत्र धराशायी बन्न लागेको हो ? यो कुरा मान्न तयार छैनन उनी । फिल्म बनाउन संख्यामा ध्यान दिनु भन्दा पनि गुणस्तरमा ध्यान दिन सुझाउँछन् अधिकारी । उनले भने,–फिल्म क्षेत्रमा थोरै थोरै लगानी फरक फरक फिल्ममा गर्नु भन्दा पर्याप्त लगानी जुटाएर फरक–फरक भिजनलाई एकत्रित गरि अझ उत्कृष्ट फिल्म बनाउँन सकिन्छ । एकै फिल्म निर्माण गर्नु राम्रो हो । यसले फिल्मलाई गुणस्तरिय बनाउँछ ।’

नेपाली दर्शलाई फिल्म बजारले आकर्षण गर्न नसकेको र धेरै मात्रामा फिल्म प्रदर्शनमा आएकोले फिल्महरु फ्लप हुने गरेको फिल्मकर्मीहरुले मत राख्दै आएका छन् । अझ रिलिज क्यालेण्डर भद्रगोल भइरहँदा क्यारेण्डर नै खालि हुने सम्भावना बढेको छ । सबै फिल्महरु यसै वर्ष छायाकंनमा भएर हलसम्म आउने होइनन् । अर्काइभबाट झिकेर हलसम्म ल्याइन्छ । हलसम्म आउने ल्याकत नपुगेका फिल्महरु पनि छन् जो सिधै यूट्यूब जस्ता सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा आउँछन् । जो आफ्नो फिल्म हलमा लाग्दा फ्लप हुन्छ, प्रचार–प्रसारको लगानी समेत उठाउनेमा विश्वस्त हुँदैनन् उनीहरु भने फ्लप फिल्मबाट सँधै तर्सिएकै राम्रो ।

यो पनि पढ्नुहोस् :  हरर फिल्मले दर्शक हसाँयो भने ?

फिल्मी फण्डा ।  अर्पण थापाले निर्देशन गरेको पहिलो हरर फिल्म थियो ‘सुनकेसरी’ । उक्त फिल्म हरर भन्दा पनि हसाँउने भएको आलोचना भयो । फिल्म हेरेर न दर्शकले हररको महशुस गर्न पाए न समीक्षकको नजरमा नोटिस हुन सक्यो । ‘सुनकेसरी’मा हररसँगै ह्युमर जोडेर निमार्ण गरिएकाले दर्शकले धेरै नरूचाएको थापाको भनाई छ ।

पहिलो हरर फिल्म असफल भए पनि थापाले दोस्रो हरर फिल्म बनाएका छन् ‘घर’ । पहिलो फिल्म सफल नभएपनि नेपाली दर्शकमा हरर फिल्मको क्रेज छ भन्ने बुझेर नै घर बनाएको थापा बताउँछन् । फिल्ममा सुरक्षा पन्त हरर रुपमा प्रस्तुत भएकी छिन् । सुरक्षा फरक खालका भूमिका निर्वाह गर्ने कोसिसमा हुन्छिन् । पहिलो फिल्म ‘अझै नि’ सफल नभए पनि उनले ‘धनपति’मा मुख्य भूमिका पाइन् । त्यसपछि ‘भैरे’ र ‘चंगाचेट’ मा उस्तै खालको भूमिकामा देखा परिन् । उनी अभिनित फिल्म ‘सुस्केरा’ हलमा आउन बाँकी छ । सुरक्षाको अर्को फिल्म गोपीले निर्मातालाई सुरक्षित गर्न सकेन ।

फिल्मको ट्रेलर हेर्दा सुरक्षा गर्भवती गृहिणी पात्रका रुपमा प्रस्तुत भएकी छिन् । जुनपात्र भूतको डरबाट ग्रसित छ । काल्पनिक कथावस्तुमा तयार भएको ‘घर’मा घर भित्रकै घटनालाई समावेश गरिएको देखिन्छ । ‘सुनकेसरी’मा ऋचा शर्माले निकै मिहिनेत गरेर हरर रूप धारण गरेको पानीमै मिल्यो ।

डिएस डिजिटलले निर्माण गरेको घरमा सुरक्षा मिहिनेत गरेर हरर रुपमा देखिँदै छिन् । हरर फिल्मले दर्शक हसाँयो भने के होला ? सायद त्यो सुनकेशरी बाट निर्देशक अर्पण थापाले सिकेको हुनुपर्छ । घरबाट केही नयाँ आशा राख्न सकिन्छ । सुरक्षाको हरर रूप दर्शकले कतिको मन पराउलान् ? त्यो भने साउन ३ गते पछि नै थाहा हुनेछ ।

यो पनि पढ्नुहोस् :  ‘आयंका’माथि नै भर ?

फिल्मी फण्डा ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अभिनित फिल्म हो ‘प्रेमदिवस’ । फिल्मलाई लिएर यो जोडी उत्साहित छन् । रजतपटमा खासै नोटिस हुन नसकेका आयुष्मानको प्रियंकासँग प्रेममा रहेपछि र इङ्गेजमेन्ट पछि डिमाण्ड बढेको छ । ‘आयंका’ जोडीलाई दर्शकले रुचाएका छन् ।

फिल्मलाई प्रियंकाले अझ विशेष रूपमा लिएकी छिन् । उनले फिल्मका गीत, ट्रेलरदेखि लिएर समर्थकका टिप्पणी आफ्नो सामाजिक सञ्जालमा सेयर गरेर थाक्दिनन् । योगेश घिमिरे निर्देशित यो फिल्म सफल भएमा आयंका जोडीको डिमाण्ड र बजारभाउ निकै बढ्नेवाला छ । त्यसकारण प्रियंका मात्र होइन, आयुष्मानले पनि प्रचार–प्रसारमा खटिइरहेका छन् । तर, फिल्म युनिटले प्रचार–प्रसारमा उति साह्रो जाँगर चलाएका छैनन् । फिल्म प्रदर्शन अघि ठुलै हल्ला–खल्ला गर्ने रजतपटको शैलीमा ‘प्रेमदिवस’ मौन छ । उनीहरु ‘आयंका’ जोडीमाथि नै भर परेका हुन् ?

प्रियंकाले त छक्का पन्जा, नाइँ नभन्नु लका सिरिजलगायत केही फिल्म हिट दिएकी छिन् । कुनै समय रजतपटको नम्बर वान नायिकाको पहिचान पनि बनाइन् । तर, चपली हाइट–२ बाट डेब्यु गरेका आयुष्मानका अहिलेसम्मका फिल्म हिट भएका छैनन् । उनी ‘चपली हाइट–२’ पछि ‘कथा काठमाडौं’, ‘चंगा चेट’लगायतमा मुख्य भूमिकामा देखिए  पनि सफलताको स्वाद चाख्न पाएनन् ।

त्यसकारण यो फिट जोडीलाई ‘प्रेमदिवस’ हिट हुनु एकदमै जरुरी छ । फिल्मको प्रचार–प्रसारमा खटिएका यो जोडीको मिहेनत कत्तिको फलिफाप होला ? त्यो भने फिल्म प्रदर्शन पछि नै थाहा हुनेछ । प्रतिक्षा गरौँ ।

यो पनि पढ्नुहोस् :  चुनावी एजेण्डा पुरा गर्ने रविन्द्रको प्रतिवद्धता

फिल्मी फण्डा ।  कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । जेठ २५ गते शनिबार सम्पन्न संघको सत्रौँ साधारणसभाबाट खड्का नेतृत्वमा आएका हुन् । उनले चुनावी एजेण्डामा संघको भवन निर्माण गर्ने कामलाई प्राथमिकतामा राखेका छन् । त्यस्तै, कलाकारलाई पेन्सनको व्यवस्था गर्ने प्रतिवद्धता गरेका छन् ।

उनले कलाकारको वर्गिय हक हित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता राख्ने, कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्ने, समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने, वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने, पारिश्रमिक पुरा नपाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने, कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने, आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए । त्यस्तै संघलाई सबै कलाकारहरुको साझा बनाउने प्रयास गर्ने समेत उनले बताएका छन् ।

निर्वाचित भएपछि उनले अध्यक्षका प्रत्याशी सरिता लामिछानेको चुनावी एजेण्डाहरु पनि समेटेर अघि बढ्ने बताएका छन् । उनले आफू कलाकारको पक्षमा काम गर्नका लागि नेतृत्वमा आएको र नेपाली कला क्षेत्रमा योगदान दिन प्रतिवद्ध रहेको बताएका छन् । अध्यक्षमा पराजित लामिछानेले विजेता खड्कालाई बधाई दिएकी छिन् ।

‘चुनावमा हार्नु जीवन हार्नु होइन, मलाई मतदान गर्नुहुने सम्पूर्ण मेरा अग्रज, सहकर्मीहरु तथा सञ्चारकर्मी मित्रहरुलाई मनैबाट आभार, मेरा आदरणीय दाइ रवीन्द्र खड्का लगायत सम्पूर्णलाई बधाई,’ उनले फेसबुकमा लेखेकी छिन् । संस्थापक अध्यक्ष समेत रहेका खड्का नयाँ कार्यसमितिमा निर्वाचित भएकाले कलाकारको हक हितमा संघ केन्द्रीत हुने कलाकारहरुको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस् :  पैसाकै लागि हिन्दी फिल्मसँग साँठगाँठ

फिल्मी फण्डा ।  नेपाल चलचित्र विकास बोर्डले फिल्मलाई बुधबार प्रदर्शन गर्न रोक लगाएको थियो । बोर्डको उक्त निर्णय विरुद्ध फिल्म वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेको थियो । उक्त रिटमाथी सुनुवाई गर्दै अदालतले गत सोमबार बोर्डको नाममा अन्तरिम आदेश जारी गर्दै फिल्म प्रदर्शनमा रोक नलगाउन भनेको हो । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न चलचित्र विकास बोर्डलाई सचेत गराएको छ । अदालतले सोही दिननै निर्देशन माथी कार्वाही गर्न बोर्डलाई दबाब दिएको थियो ।

अदालतको आदेश पश्चात् सलमान खान अभिनित फिल्म ‘भारत’ गत बुधबारबाट प्रदर्शनमा आएको छ । भारत प्रदर्शनमा आएसँगै मल्टिप्लेक्स हलहरुले राम्रो दर्शक पाइरहेको फिल्म ‘जात्रै जात्रा’को शोज् कटौति गरे । न्यायलयको फैसला सबैले मान्नुपर्छ । तर, फिल्म वितरण र प्रदर्शन कसरि स्वतन्त्र व्यवसाय भयो ? स्वतन्त्र व्यवसायमा एकले गरेको व्यवसायले अर्को व्यत्तिकाले गरेको व्यवसायमा असर गर्नु हुँदैन । व्यवसाय भन्नाले आय आर्जन गर्नको लागि मानिसद्वारा गरिने आर्थिक क्रियाकलापलाई जनाउँछ ।

मानिसले पुँजी लगानी गरि जोखिम बहन गरे बापत त्यसबाट नाफा कमाउने उदेश्य लिएका हुन्छन् । यसरी व्यवसाय भनेको मुनाफा कमाउने उदेश्यले मानिसद्वारा गरिने आर्थिक क्रियाकलाप हो । स्वतन्त्र व्यवसायले अरुको व्यवसायमा असर पुर्याउन नपर्ने हो । तर, बुधबार विदेशी फिलम रिलिज हुँदा शुक्रबारबाट रिलिज हुने नपाली फिल्मलाई असर गर्छ कि गर्दैन ? शुक्रबार अघि नै विदेशी फिल्म रिलिज हुँदा शुक्रबार रिलिज हुने नेपाली फिल्मलाई असर गर्ने हुँदा चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी सबै फिल्महरुलाई एकै दिन रिलिज गर्ने प्रणली अंगिकार गर्दै थियो ।

विदेशी फिल्म नेपाली फिल्म रिलिज अघि रिलिज हुँदा नेपाली फिल्मको व्यापारमा असर गर्छ भने फिल्म विदेशी फिल्म वितरण र रिलिजको व्यवसाय कसरि स्वतन्त्र व्यवसाय भयो ? न्यायलयको फैसला चित्त नबुझेमा पुनरावेदन गर्न पाउने व्यवस्था त छँदैछ । एक व्यवसायले सोही प्रकृतिको अर्को व्यवसायमा असर गर्छ भने त्यो स्वतन्त्र व्यवसाय रहँदैन । रजतपटका फिल्महरु वितरककहरुले जानाजान वलिउड वा हलिउड फिल्मसँग ‘क्ल्यास’मा पार्ने गरेका छन् । उनीहरु यतिसम्म गैर जिम्मेवार बनिदिन्छन कि वितरणमा पनि सिण्डिकेट खडा गरिदिन्छन् ।

वितरकहरुले विदेशी फिल्मको चेपमा घरेलु फिल्म पर्नुको एक मात्र कारण हो पैसा । फिल्म वितरण उनीहरुको व्यवशाय हो, व्यवशायमा नाफा हेरिन्छ । तर, नाफाको नाममा नेपाली फिल्म क्षेत्रलाई नै धराशायी बनाउने बाटोमा अघि बढीरहेका छन् वितरक भन्दा फरक नपर्ला । विदेशी फिल्मसँग ‘क्ल्यास’मा पार्ने गर्दा कतिपय अवस्थामा नेपाली फिल्मको बुकिङ्ग समेत खुल्ला हुने गरेका छैन । एकै हप्तामा एकै वितरक कम्पनीले स्वदेशी तथा विदेशी फिल्मको वितरण गर्ने गरेका छन् । वितरकको निहित स्वार्थमा नेपाली फिल्मको कारोबारमा असर गर्ने गर्दछ । यसले नेपाली फिल्म क्षेत्रलाई धराशायी बनाउनेमा दुईमत छैन ।

यो पनि पढ्नुहोस् : दीपकराजको झटारो–‘दर्शक कहाँबाट ल्याउने ?’

फिल्मी फण्डा ।  वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै रिलिज गर्न पाउनुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्यो । अदालतले ‘व्यवसायिक अधिकार हनन हुने गरी फिल्म रिलिज नरोक्न’ आदेश दियो । केही दिन अगाडि बलिउड फिल्म ‘कलंक’ लाई मल्टिप्लेक्सहरुले बुधबार रिलिज गर्न खोज्दा चलचित्र विकास बोर्डले हस्तक्षेप गरेर रोकेको थियो ।

शुक्रबार मात्रै नयाँ फिल्म रिलिज गर्नुपर्ने भन्दै उसले हलहरुलाई पत्र पठाएपछि हलवालाहरु तीन दिन पर्खिन वाध्य भएका थिए । त्यसैले भारत पनि बुधबार रिलिज हुन नसक्ने अवस्था थियो । तर, अदालतको स्टे अर्डर ल्याएर वितरक कम्पनीले भारतलाई बुधवार नै रिलिज गर्यो ।

उक्त निर्णयप्रति नेपाली फिल्मकर्मीहरु रुष्ट छन् । कलाकार दीपकराज गिरी पनि सामाजिक सञ्जालमार्फत् विभिन्न विषयमा आफ्नो मत व्यक्त गरिरहेका हुन्छन् । ‘भारत’ बुधबार नै नेपालमा प्रदर्शन गर्नका लागि वितरक अदालतसम्म पुगेको अवस्थामा उनले आफ्नो मुख खोलेका छन् । हाल फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त उनले फेसबुकमा स्टाटस लेखेर हल सञ्चालकप्रति झटारो हानेका छन् । ‘भारत’ नेपाल प्रदर्शनका लागि अदालतसम्म पुगेका मनोज राठी ‘छक्का पञ्जा’ सिरिजका वितरक समेत हुन् ।

उनले लेखेका छन्,– ‘अदालतको आदेशले, हलहरूको कृपाले, वितरकहरूको तिकडमले फिल्मले हल त कब्जा गर्ला, तर दर्शक कहाँबाट ल्याउने ?’ उनको स्टाटसबाट विदेशी फिल्म प्रदर्शनको लागि अदालतको आदेश, वितरक र हल सञ्चालकको मिलेमतो हुँदैमा दर्शक हलसम्म नपुग्ने कुरा बुझ्न सकिन्छ ।

यो पनि पढ्नुहोस् : सलमानको भारतको लागि मल्टिप्लेक्सले फाले जात्रै जात्रा

फिल्मी फण्डा ।  जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म जात्रै जात्रा भोली शुक्रबारबाट चौँथो हप्तामा प्रदर्शन हुँदैछ । राजधानीका मल्टीप्लेक्स हलहरु लगभग हाउसफुल थिए । तीन हप्ताको कारोबारको रफ्तारमा बुधबार केही ब्रेक लाग्यो । बुधबार सलमान खान अभिनित बलिउड फिल्म ‘भारत’ प्रदर्शनमा आयो सोही कारण मल्टिप्लेक्स हलहरुले ‘जात्रै जात्रा’को शोज् कटौती गरे । तर दर्शक कटौती भएन । जति शो जहाँ जहाँ थियो सबैतिर हाउसफुल भयो । केही दर्शकहरु टिकट नपाएर फर्किए ।

नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीका आफ्नो पाँच स्टेशनमा प्रदर्शनको पहिलो दिन ‘जात्रै जात्रा’ लाई १९ शो दिएको थियो । दोस्रो हप्ता पनि फिल्मले यही आसपासमा शो पाएको थियो । तेस्रो हप्ता (मंगलवारसम्म) भने क्यूएफएक्सले फिल्मलाई थप २ शो बढाएर २१ पुर्याएको थियो । फिल्मले क्यूएफएक्समा बुधबार ७ शो मात्र दिएको हो कारण सलमानको फिल्म भारत थियो । सबै शो हाउसफुल भए । बिहीवार पनि फिल्मलाई ७ शो नै मात्र दिएको छ । चौँथो हप्तामा प्रवेश गर्ने दिन (शुक्रबार) फिल्मलाई चार शो दिइएको छ ।

राजधानीका अन्य मल्टीप्लेक्सहरुले तेस्रो हप्ता (मंगलवारसम्म) पनि फिल्मलाई राम्रो शो उपलब्ध गराएका थिए । धेरै नाफाको लोभमा मल्टीप्लेक्सहरुले सधैं नेपाली फिल्मलाई पाखा र विदेशी फिल्मलाई काखा गर्दै आइरहेका छन् । विदेशी फिल्मका कारण सधैं नेपाली फिल्म चेपुवामा पर्ने घटना नौलो होइन । अघिपछि नेपाली फिल्मको लागि दर्शक उपस्थित नभएको कारणले शो नदिने मल्टीप्लेक्सहरुले यस पटक राम्रो दर्शक पाइरहेको अवस्थामा पनि नेपाली फिल्मको शोज्मा कटौती गरेर अन्याय गरेका छन् । केही वितरक र मल्टिप्लेकसका केही चेनहरु हिन्दी फिल्मका माफिया हुन् भने प्रमाणित गरेका छन् । फिल्म प्रदर्शनको चौँथो हप्तामा जात्रै जात्राले मल्टिप्लेक्समा शतप्रतिशत अकुपेन्सि कायम गरेका छन् । तर, पुग्ने शो खै ?

जात्रै जात्राका निर्देशक प्रदीप भट्टराई यतिबेला फिल्म लिएर वैदेशिक यात्रामा रहेका छन् । उनले बुधबार फेसबुकमा लेखेका छन्,– ‘आफ्नो व्यापार व्यावसाय हो । आफू खुसी गर्न पाइएला । तर, व्यवसायिक धर्म भन्ने पनि त हुन्छ होला ? हामीले जति डिजर्भ गर्छौं त्यत्ति मागेका हौं । नेपाली फिल्म क्षेत्रमा आफ्नो योगदानको बखान गरेर नथाक्नेहरुको मेरा भारत महान भनेको पनि देखियो । हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुशी शो राखे पनि दर्शकको मन खुसी नहुँदा कुन हालत भयो, देखेकै हो ।’

हल कब्जा गरेर मात्र दर्शक हलमा नआउने बताउँदै उनले अगाडि लेखेका छन्, ‘मेरिट अनुसार पाउनु पर्ने शो नपाए पनि हामीले पाउनु पर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौं । अन्तिम सत्य दर्शक नै हुन् । आज टिकट नपाउनु हुने दर्शकप्रति क्षमा चाहन्छौं ।’ त्यस्तै विहीबार उनले फेसबुकमै लेखेका छन्,–‘केही कारणबश हाम्रो चलचित्रको शोहरु घटे पनि हजुर दर्शकहरुको माया भने बढेको बढ्यै छ ।

हिजो बुधबारको दिन पनि हाउसफुल नै भयो सबै शोहरु,हिजो सिनेमा हेर्ने सोच राखेर हल सम्म जानु भएका धेरैले टिकट नै पाइएन र हेर्न पाएनौ भन्नुभयो त्यस्को लागि सरि भन्छौ हामी । हेर्न नभ्याउनु भएकाहरुले आज निम्न समय अनुसार हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला । धन्यवाद । जय जात्रै जात्रा–जय नेपाली सिनेमा’ । यता दीपकराज गिरीले समर्थन गर्दै अप्रत्यक्ष रुपमा मल्टिप्लेक्स र वितरकलाई विदेशी फिल्मको माया बढेको बताईएको छ । यो त उदाहरण मात्र हो मल्टिप्लेक्सले नेपाली फिल्मलाई यसरी पेल्दै आईरहेको थियो र निरन्तर पनि छ । यस वारे अर्को लेख हामी केही समयमा प्रस्तुत गर्नेछौं ।

यो पनि पढ्नुहोस् : कलाकार प्रति संघ उत्तरदायी हुनुपर्छ– सरिता लामिछाने

फिल्मी फण्डा । चलचित्र कलाकार संघको जेठ २५ गते हुने १७ औं साधारणसभाका लागि अध्यक्षको प्रत्याशी सरिता लामिछानेले आफ्नोे एजेण्डा सार्वजनिक गरेकी छन् । लामिछानेले आफ्नो प्राथमिकतामा नेपाल चलचित्र कलाकार संघलाई सम्पूर्ण कलाकारको छाता संगठन वनाउने प्रयास गर्ने, संघको परिचयपत्रलाई राष्ट्रिय मान्यता दिलाउने, कलाकार कल्याण कोषको वृद्धिगरी यसको कामलाई बृहत बनाउने, कलाकारहरुको क्षमता अभिवृद्धिका निम्ति कार्य गर्ने, कलाकार संघको आफ्नै भवन निर्माण गर्ने लगायतका कुराहरु रहेको बताइन् ।

मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’ कलाकार संघको भवन बन्नैपर्ने उनले बताइन् । कलाकार प्रति संघ उत्तरदायी हुनुपर्ने । संघमा हिजोको पुस्ता पनि हुनुपर्छ र आजको पुस्ता अनि भोलीको पुस्ता पनि हुनुपर्नेमा उनको जोड रहेको छ । संघमा राजनीति हावि हुँदै गइरहेको भनिन्छ नि भन्ने जिज्ञासामा उनले भनिन्–‘म स्वतन्त्र कलाकार हुँ, राजनीति आस्था रहे पनि कलाकार संघमा राजनीतिक आस्था मिसाउन हुँदैन ।

संघमा गइसकेपछि विशुद्ध कलाकारको राजनीति हुनुपर्छ । कलाकारका हक हितका कुरा हुनुपर्छ, राजनीति प्रवेश गर्नु हुँदैन ।’ संघ प्रति कलाकारहरुको वितृष्णा रहेको र आफुले सो कुरा मेटाउन प्रयास गर्ने उनले बताइन् । उनले आफुलाई गैह्र कलाकारको आरोप लगाइएको बिषयमा उनले मन दुखेको बताइन् । ‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र वेइजती सहिरहनु परेको छ ।

अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ उनले आफूलाई गैह्र कलाकार भन्नेहरुलाई नै प्रश्न सोध्दै भनिन–‘तीन बर्ष महासचिव म के हैसियतले भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नुहुन्छ ? म ती मुद्धावालाहरुलाई सोध्न चाहन्छु ।’

यसअघि फिल्मी फण्डासँगको कुराकानीमा लामिछानेले भनिन् ‘२० बर्षे करियरमा गैह्र कलाकार प्रमाणित गर्न खोज्नु आफ्नो करियरकै सबैभन्दा ठुलो बेइज्जति र अपमान हो । यसले मलाई मानसिक तनाव भइरहेको छ ।’ आफुलाई लागेको आरोप र भावी योजना वारे जानकारी गराउन उनले मंगवार राजधानीमा एक कार्यक्रमको आयोजना गरिन् । उनले आयोजना गरेको कार्यक्रममा गौरी मल्ल, करिश्मा मानन्धर, रेखा थापालगायत उपथित थिईन् ।

Similar articles

Leave a reply

Your email address will not be published. Required fields are marked *

Contact Us

  • Balami Film Entertainment Pvt. Ltd.
  • Address: Balaju-16, Kathmandu
  • Phone:01-4420813
  • Email: filmyfandatv@gmail.com

Our Team

  • Managing Director: Kabita Balami
  • Editor-In-Chief: Sameer Balami
  • Editor: Maheshwor Tamang
  • Sub Editor: Shyam Sundar Pudasaini
  • Photo/Video: Sanchu Thokar Lama
  • Website/Graphic: Ram Panta

Follow Us on Twitter

Like Us on Facebook

Subscribe Filmy Fanda TV

Follow Us on Google+