सुर्य कर्पोरेशनलाई आरोप लगाउनेको पर्दाफास, अवार्डका लागि ७० जनाको टोली जापान जाँदै

दिपेन्द्र अधिकारी/फिल्मी फण्डा । सुर्य कर्पोरेशन र यसले आयोजना गरेको अवार्डलाई असर गर्ने अभिप्रायले केही मिडिया तथा केही व्यक्तिले गलत समाचार बाहिर ल्याएको कर्पोरेशनले जनाएको छ । नागरिक खबर डटकम नाम गरेको मिडिया र मातृसञ्देश डटकम नाम गरेको मिडियाले केही अपुष्ट समाचारहरु बाहिर ल्याएको कर्पोरेशनले जनाएको हो । यस विषयमा हामीले समाचारमा स्रोत बनाएका दुई व्यक्तिहरुलाई सम्पर्क गर्दा दुबै बाट समाचार निराधार भएको प्रष्ट भएको छ ।
उक्त मिडियाले बाहिर ल्याएको अडियो रिपोर्टलाई सुन्दा र इमिग्रेशनबाट फर्केका राई नाम गरेका यूवक (जसको भिडियो विवरण आउँदै) ले उक्त समाचार पूर्ण रुपमा गलत र निराधार भएको बताएका छन् । उनले आफ्नो वारेमा सोधपुछ भनेर आफ्नो मानहानी हुने गरि समाचार सम्प्रेषण गरेको आरोप समेत लगाएका छन् । उक्त राई भनिएको केटा उर्फ भिमश्वर राईले यस्तो आरोप लगाईएको हो । उनले भने म विजनेस भिषाको लागि सुर्य कर्पोरेशनमा भिषा डकुमेन्टेशनको कामका लागि गएको थिए । त्यहिबाट विजनेस भिषाको तयारी गरे र जापानतर्फ लागे ।
जापानमा गएर कम्पनि दर्ता गरि अफिस चलाउन देखी आफु बस्न लाग्ने शुल्क १२ लाख पचास हजार मैले तिरेको हुँ । तर मलाई इमिग्रेशनले पत्याएनन् । र मलाई त्यहिबाट फर्काइयो । यहि कुरा मलाई गलत दंगले बुझ्न जापानमा भएका शान्त पहारी धेरै पछि लागेका थिए । यता नेपालमा पनि कुनै मिडियाका मान्छे भन्दै पछि लागेका थिए । मेरो साँचो कुरालाई बंङ्ग्याएर मिडियाले गलत समाचार सम्प्रेषण गरे ।
यति मात्र हैन मिडियामा केरमेर गरेर राखेको भिषामा देखाईएका व्यक्ति उर्फ डि सि राईले पनि सुर्य कर्पोरेशनको विरुद्धमा बोल्न मलाई पैसाको प्रलोभनदेखी सबै खालको टर्चर जापानमा बस्दै आएका पत्रकार भनिने शान्त पहारीले दिईरहेको बताएका छन् । मसँग बारम्बार अनावश्यक कुराहरु बुझ्ने प्रयास गरे । मैले साँचो कुरा बताए । लिगली प्रोसेसमै भिजिट टु विजनेस भिषाको लागि म जापान आएको हुँ । पछि मैले जापानमा विजनेस गर्न सकिन्न अन्य काम गर्नको लागि उपाय नभएपछि मैले आफैले रिफ्युजि क्लेम गरे । यो कुनै अपराध हैन । जापान सरकारले दिएको अधिकार हो । बरु मलाई आपत पर्दा सुर्य कर्पोरेशनले लिगली प्रोसेसको सहयोग गरेका छन् । उनले भने यो कर्पोरेशनको विरुद्ध आएको समाचार पूर्ण रुपमा भ्रम हो ।

भिषा केरमेट गरेका व्यक्ति डिसि राईले गरेको पोष्ट
यता नागरिक खबर डटकमका प्रतिनिधीले संस्थाका प्रबन्ध निर्देशक शम्भु लामिछानेसँग जापान जाने ग्राहक भनेर फोन संवाद गरेका छन् । उनले फोनमा जापानको वारेमा कुरा गर्नुपूर्व औपचारिक कुराहरु गरेका छन् । पछि जापानको विषयमा लिगल प्रोसेसबाट जान सकिने बताएका छन् । उक्त प्रतिनिधीले रिफ्युजीको कुरा निकाल्दा त्यस्तो हैन लिगल प्रोसेस हुने बताएका छन् । उनले जापानको लागि भिजिट टु विजनेस भिषाको वारे प्रस्ट्याएका छन् । त्यसमा १२ लाख पचास हजार खर्च लाग्ने बताएका छन् । यो कम्पनिको नियम हो । कोही मान्छे जापान भिजिटमा गएर उतै व्यवसाय गर्न चाहेको खण्डमा विजनेस भिषा प्रोसेस गर्नुपर्ने हुन्छ । यसैको खर्च १२ लाख पचास हजार लाग्ने गरेको छ । शम्भु लामिछानेले यसैको वारेमा ब्रिफ गरेका छन् ।
संस्थाको वेब साईट र सबै विवरण पनि दिएका छन् । त्यसैले सार्वजनिक गरिएको अडियो पूर्ण रुपमा ठिक रहेको शम्भु लामिछानेले बताएका छन् । लिगली कामको बारेमा बताउँदा तोडमोड गरेर समाचार प्रकाशन गरेकोमा ध्यानाकर्षण समेत भएको उनले बताए । समाचारमा स्रोतका रुपमा प्रयोग गरिएका दुबै ब्यक्तिले हाम्रो समाचार र कार्यक्रमको वारेमा प्रचार गरिरहेका छन् । उनीहरु स्वयमले बक्तव्य निकाल्दै छन् । त्यसैले यस्ता भ्रम सिर्जना गर्ने समाचारको विश्वास नगर्न आफ्ना शुभचिन्तकहरु र जपानमा रहेका सम्पूर्णमा अनुरोध गरेका छन् । राई भनिएका व्यक्ति उर्फ भिमश्वर राईको भनाई र भिडियो पनि फिल्मी फण्डा मार्फत चाँडै सार्वजनिक गर्नेछौं ।
अवार्डको पाटो
आगामी मंसिर ८ गते जापानमा आयोजना हुन लागेको दोश्रो सुर्य ईन्टरनेशनल अवार्ड–२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । गत बर्ष ४९ जना कलाकार सहितको जम्बो टोली जापान पुगेर अवार्डलाई भव्य रुपमा सम्पन्न गरिएको थियो । याने बर्ष भने अवार्डमा आधा दर्जन पत्रकार, ५ दर्जन कलाकार र एक दर्जन आगन्तुक समेत उपस्थित हुने अवार्डको मूख्य संयोजक बासुदेव लामिछानेले बताएका छन् ।
यता नेपाल संयोजक रहेको समीर बलामीले गत बर्षको रिपोर्टले यो बर्ष थप उत्साह थपेको बताएका छन् । उनले गत बर्ष ४९ जनामा ४९ जना फिर्ता गरेको रिपोर्ट एम्बेसीमा पेश गरेपछि यो बर्ष शतप्रतिशत भिषा प्राप्त भएको पनि जानकारी गराएका छन् । ७० जनाको टोली जापान गएर अवार्ड मात्र नभई नेपाली फिल्मको बजार प्रवर्द्धन गर्ने पनि बलामीले बताए । यस्तै नेपाल भ्रमण बर्ष २०२०, नेपाल एयरलाईन्स र नेपाल टेलिकमको पनि प्रचार प्रसार तथा प्रवर्द्धन कार्यक्रमहरु गरिने उनले बताएका छन् । उनले यस बर्ष ७० जनाको टोलीको पूर्ण विवरण सार्वजनिक गरेर जापान जाने र फर्कदा पनि फर्केको पूर्ण विवरण जस्ताको तस्तै सार्वजनिक गरिने बताएका छन् ।
यो पटक जम्बो टोलीमा चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराई, एपिएफका चिफ शैलेन्द्र खनाल, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, मह जोडी, निर शाह, भुवन केसी, अनमोल केसी, साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, स्वेता खड्का, विजय लामा, नम्रता श्रेष्ठ, दिपा श्री निरौला, दिपेन्द्र लामा, बर्षा राउत, राजेश पायल राई, बुद्धि तामाङ, सन्दिप क्षेत्री, कमल खत्री, टिका प्रसाई, मञ्जु पौडेल, सञ्विज पराजुली, एपिफएका साँस्कृतिक टोलीलगायतका टोली जापान जादैछन् । यो समारोह नेपाली फिल्म क्षेत्रको लागि अहिलेसम्मकै एतिहासिक क्षण रहनेछ । यति धेरै कलाकारहरुले विदेशमा एकै पटक स्टेज सेयर गरेको यो नै पहिलो पटक हो ।
सुर्य कर्पोरेशनले जारी गरेको विज्ञप्ती जस्ताको तस्तै :
मिति : २०७६/०७/२९
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
गत बर्ष सुर्य ईन्टरनेशनल अवार्ड २०१८ मा सरिक हुने कलाकारबीच मिसाएर केही व्यक्तिलाई जापानमा छोडेको र अवार्डको नाममा सुर्य कर्पोरेशनको अवैध धन्दा भन्ने समाचार पूर्णरुपमा भ्रामक समाचार हो । यसवारे हाम्रो संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । यसको वारेमा थप जानकारी चाहिएमा गत बर्ष अवार्डको नाममा भिषा निवेदन दिई भिषा लिएर जापान आउने कुल कलाकारहरुको डाटा जापानिज एम्बेसी र एरपोर्ट ईमिग्रेशनमा पनि हुन्छ । त्यसबाट उपलब्ध गराउन सकिनेछ । साथै गत बर्ष सबै फिर्ता भएकै कारण यो बर्ष शतप्रतिशत भिषा प्रदान गरेको हो । यसले पनि यस्ता समाचार भ्रामक हो भन्ने पुष्टि गर्छ ।
यस्तो खालको समाचार र हल्ला हाम्रो लागि नौलो कुरा होईन । गत बर्ष पनि हामीलाई आरोप नलागेको होईन । त्यसैले पनि यो बर्ष यस्ता हल्ला र निराधार समाचारहरु आउँछन् भन्ने लागेको थियो । यो पटक अझ मजाक तरिकाले भ्रामक समाचार प्रकाशित गरेको हुदाँ हाम्रो ध्यानाकर्षण भएको हो । जापानमा सम्पन्न हुनगईरहेको दोश्रो सुर्य ईन्टरनेशनल अवार्डलाई असर पार्नको लागि यस्ता भ्रामक समाचार हल्लाको रुपमा आएको हाम्रो स्पष्टता छ । नेपालमा गलत समाचार सम्प्रेषण गर्ने अनलाईन मध्ये सयौं अनलाईन फेक समाचार प्रकाशनमा व्यस्त भएको हामीले दिनहुँ देख्दै र पढ्दै आएका छौं । त्यसमध्येकै एउटा अनलाईनले यस्तो भ्रामक समाचार प्रकाशित गरेकोमा हाम्रो आपत्ति रहेको हो । पत्रकारिता जस्तो पेशालाई अमर्यादित बनाएकोमा पनि हाम्रो ध्यानाकर्षण रहेको छ ।
जापानमा बस्दै आएका पत्रकार मानिने शान्त पहारी, जसले केही समय अगाडी जापानमै खै के नामको अवार्डको आयोजना गर्न भने डोल पिटे । नेपालका प्रतिष्ठित व्यक्तिहरु ल्याउने भनेर हल्ला पनि गरे । अन्तत उहाँहरु अवार्डमा उपस्थित भएनन् । कतिको भिषा नै अस्विकृत भयो । केही मान्छेलाई अवार्डमा भनेर बोलाईयो । तर, जापानको एयरपोर्टबाट फकाईयो । त्यसपछि उक्त अवार्ड असफल भयो । त्यहिबेला देखी शान्त पहारी (नागरिक खबरसँग जोडिएको पत्रकार पनि) र उक्त आयोजकहरु हाम्रो अवार्डलाई असर पार्न निरन्तर लागिरहनु भएको छ ।
हाम्रो अवार्ड र संस्थालाई बद्नाम गर्न उहाँले जापानमा भएका सबैजनालाई बोलीदिन आग्रह गर्दै पैसाको प्रलोभन समेत नदेखाईएको होईन । हाम्रो संस्था अन्य ट्राभल्स एजेन्सी मध्ये जस्तैको एक हो । हामीले राष्ट्रिय र अन्र्ताष्ट्रिय दुबै खालको टुर प्याकेजहरु बनाउने र विक्रि गर्ने काम गर्छौं । यसको साथै भिषा डकुमेन्टेशन सर्भिसहरु पनि दिन्छौं । जापानमा हाम्रो अफिस रहेको कारण हामी जापानलाई विशेष प्रथामिकता दिन्छौं । जापानमा समस्यामा परेका नेपालीहरुको डकुमेन्टेशनका कामहरुमा समेत हामीले सहयोग र पहल कदमी गर्दै आईरहेका छौं । भिजिट भिषामा हामी २ लाख ७० हजार र ४ लाख ७० हजारको प्याकेज समावेश गर्ने गर्छौं ।
नेपालबाट भिजिट भिषामा गई जापानमा बिजनेस भिषा बनाउने नेपलीहरु पनि हाल बढ्दो संख्यामा पाईन्छ । त्यस क्रममा, हवाई टिकट, खान र बस्न सहितको प्याकेजको (२ लाख ७० हजर), कम्पनि रजिस्टर ( ३ लाख ), अफिस रजिस्ट्रेशन र सेटअप (५ लाख ५० हजार), वकिल खर्च (८० हजर), एडिसनल (अफिसियल डकुमेन्टसन चार्च ५० हजार) गरी करिव १० देखी १२ लाख खर्च गरेर केही हाम्रा ग्राहकहरु विजनेस भिषा बनाउन जापान आउने जाने गरेका छन् । पारिवारीक तथा साथीभाई भेटघाटको निमित्त भिजिट भिषा को साथै जापानमा विजनेस भिषाको डकुमेनटेशनको काम समेत हामीले गर्ने गर्छौं । यसको विषयमा बोल्दै नबोलेको कुराहरु लेख्ने, बोलेका कुराहरु बङ्गयाएर लेख्ने, कसैलाई बल प्रयोग गरेर अनावश्यक रुपमा टर्चर दिने, राई नाम भन्दै अर्काको बेइजत गर्ने, कसैको भिषामा केरमेर गरेर प्रमाण भन्दै राख्ने यस्ता खालका समाचार प्रति हाम्रो ध्यानाकर्षण रहेको हुदाँ सरोकारवालमा यो जानकारी गराउँदछु ।
गत बर्ष ४९ जना कलाकारको टोली जापान पुगेको र ४९ फिर्ता आएको रेकर्ड एम्बेसी र एयरपोर्ट इमिग्रेशनमा पनि छ । यस्ता भ्रामक समाचारको पछि नलाग्न सबैलाई अनुरोध गर्दछु । यस बर्ष पनि आधा दर्जन पत्रकार सहित ५ दर्जन कलाकार र टुर प्याकेज सहित झण्डै ७० जना टोली जापानमा हुने दोश्रो सुर्य ईन्टरनेशनल अवार्डमा सहभागी हुनेछन् । सबैको डाटा हामी शुरुमा प्रेसमिट गरि सार्वजनिक गर्नेछौं । पछि नेपाल फर्कदा फर्किसकेको डाटा पनि जस्ताको तस्तै सार्वजनिक गर्नेछौं । यतिखेर हामी नेपाल भ्रमण बर्ष २०२०, नेपाल एयरलाईन्स र चलचित्र क्षेत्रको जापानमा प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयेजना गर्न लागिएको अवार्डमा होमिएका छौं । हामीसँग समय अलि कम छ । जसको विषयमा भ्रामक समाचार आईरहेको छ (राई भनिएका केटा र भिषा केरमेर गरिएका केटा), सोही व्यक्तिको स्पष्ट धारणा समेती हामी अवार्ड पछि पूर्ण विवरण सहित पत्रकार भेटघाट गर्नेछौं । संस्था सम्बन्धी थप जानकारीका लागि सम्बन्धित व्यक्तिहरुसँग सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध छ । साथै राई भन्ने व्यक्ति, भिषा केरमेर गरिएको व्यक्ति र संस्थाले मानहानीको निवेदन समेत प्रशासनमा छिट्टै दर्ता गरिने पनि जानकारी गराउँदछु । धन्यवाद ।
शम्भु लामिछाने
प्रबन्ध निर्देशक
सुर्य कर्पोरेशन प्रा.लि.
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस