निखील र साराको कुकुकु सार्वजनिक (भिडियो)

फिल्मी फण्डा । एक्शन नायक निखील उप्रेती र नायिका सारा श्रीपाईली अभिनित फिल्म पिँजडा ब्याक अगेनको कुकुकु बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले सो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निखील उप्रेती र सारा श्रीपाईलीको अभिनय देख्न सकिन्छ ।
निखीलको डेब्यु फिल्म पिँजडामा निखीलले नाँच्न नजाने पछि गीतमै एक्शन स्टन्टहरु प्रस्तुत गरेका थिए । त्यसपछि दर्शकहरुले निखीललाई एक्शन हिरोकै रुपमा चिनेका थिए तर अहिले पिँजडा ब्याक अगेनमा निखीलले नाच्ने प्रयास गरेका छन् । उक्त प्रयास उनको लागि त राम्रै लाग्न सक्छ तर दर्शकलाई नपच्ने हुन सक्छ । शब्द, संगीत र स्वर समेत राजनराज शिवाकोटीको रहेको गीतको अडियो भने निकै राम्रो छ । तर अडियो अनुसारको भिडियो बन्न सकेको छैन । रामजी लामिछानेको कोरियोग्राफि रहेको गीतमा केही कमजोरीहरु देखिन्छ । यसो त गीतमा पुराना र नेपाली मौलीक परम्पराका शब्दहरु अटाएका छन् । यस्ता शब्दले नयाँ जेनेरेशनलाई पनि पुराना कुरा याद दिलाउने संगीतकार राजन राजको दावी रहेको छ । फिल्मलाई एक्शन डाईरेक्टर हिमाल केसीले निर्देशन गरेका हुन् भने रोहित पुरी, चन्द्र बहादुर क्षेत्री र गोविन्द गैरेले लगानी गरेका हुन् । सौरभ लामाले खिचेको फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखील र साराको अलवा पुकार भट्टराई, ज्याक श्रेष्ठ, भोला सापकोटा, कुशाग्र भट्टराई र विना थापा लगायतको अभिनय रहेको छ । फिल्म माघ ४ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुदैछ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस