सौगात छाडेर आर्यनसंग जोडी बाँध्दै सृष्टि

फिल्मी फण्डा । नायक सौगात मल्ल र नायिका तथा मिस नेपाल सृष्टि श्रेष्ठको प्रेम चर्चाको बारेमा नेपाली फिल्मका दर्शक तथा फिल्म क्षेत्रलाई राम्रै जानकारी छ । यी दुईको जोडी रियलकै रुपमा चर्चा हुने गर्छ तर यतिखेर उनै सृष्टिले नायक आर्यन अधिकारीसँग जोडी बाँधिने भएकी छिन् । तर यो रियलमा नभई रिलमा मात्र हुने भएको हो । सबिर श्रेष्ठले निर्देशन गर्न लागिएको फिल्म ‘बाँध माया’ले मा यी दुईको जोडी बाँध्न लागेका हुन् ।
फिल्मको छायाँकन यसै सातादेखि नवलपरासीबाट सुरु हुँदैछ । फिल्म युनिट यतिबेला छायाँकन स्थलमा पुगिसकेको निर्देशक सबीर श्रेष्ठले फिल्मी फण्डालाई जानकारी गराएका छन् । लेखक समेत रहेका निर्देशक श्रेष्ठले ‘बाँध माया’ले लाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ मानेका छन् । प्राय लभस्टोरी र एक्शन फिल्म गर्ने गरेका सबीरले यो पटक पूर्ण रुपमा लभस्टोरी फिल्म गर्न लागिएको बुझिएको छ ।
निर्देशक श्रेष्ठको काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’ का निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ निर्माता हुन् । सह–निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ भने कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । फिल्ममा आर्यन र सृष्टिसँगै कलाकारहरु राजाराम पौडेल, विशाल चाम्लिङको पनि अभिनय रहनेछ ।
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस