चलचित्र माइ लभको ट्रेलर रिलिज, धरहरा ढल्दै गरेको लाइभ भिडियो भाइरल बन्दै (भिडियो)

फिल्मी फण्डा । नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा चलचित्रको पर्दामा हेर्न पाइने भएको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित नेपाली कथानक चलचित्र माइ लभको अफिसियल ट्रेलर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । यो चलचित्र यही मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ ।
जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको उक्त चलचित्रमा गणेश लामा,नयाँ अनुहार शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेत अभिनय हेर्न पाइनेछ ।
माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदा स्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहस नहस पारेको काठमाडौंलाई रियल रुपमा प्रस्तुत गरिएको छ । फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको चलचित्र माइ लभमा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
भिडियो :
यसमा तपाइँको प्रतिक्रिया दिनुहोस