फिल्मी फण्डा । बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । आगामी जेठ १२ गते शुक्रबारदेखि प्रदर्शन हुन लागेको उक्त फिल्मको टिकट बुकिङ खुला भएको हो । ‘द पाल्म गुप्र प्रालि’ले बुधवार पत्रकार सम्मेलन गरी फिल्म ‘टुल्की’ शुक्रबार देखि देशभर प्रदर्शन गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई फिल्ममार्फत देखाइएको जानकारी दिए । ”फिल्म टुल्की मा डोल्पा, हुम्ला, मुगु लगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ,”– उनले भने ।
टुल्की डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको निर्माता लामाले बताए । निर्देशक देव थापाले फिल्ममा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष एवम सम्पादक रामजी बगाले, फेसियल हाउसकी सञ्चालक सुष्मा महरालगायतले फिल्मको सफलताको शुभकामना दिएका थिए ।
फिल्म निर्देशन देवज थापा तथा छायाँकन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने फिल्ममा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन् ।
फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।