रेखा - सुलक्षण विवाद साम्य, के थियो विवादको कारण ?

फिल्मी फण्डा । रेखा थापाको निर्माणमा बन्ने फिल्म उपहार लाई लिएर केहि दिन अघि विवाद सुरु भएको थियो । कलाकार तथा लेखक सुलक्षण भारतीले आफ्नो अनुमती विना कथा प्रयोग गर्न लागेको भन्दै उपहार निर्माण टिम माथि कथा चोरीको आरोप लगाएका थिए । उनले फेसबुकमा स्टाटस राख्दै रेखा र निर्देशक ज्ञानेन्द्र देउजालाई ट्याग गरेका थिए र बार्तामा आउन आग्रह गरेका थिए । निर्माण नहुँदै फिल्म विवादमा फस्न लागेपछि रेखा र ज्ञानेन्द्रले सुलक्षण सँग बार्तामा बसेका थिए । अन्तत उक्त विवाद साम्य भएको छ ।

आगामी भदौबाट फ्लोरमा जान तयार भएको फिल्म ‘उपहार’मा सुलक्षण भारतीको नाम उल्लेख गरिने सहमति भएपछि स्क्रिप्टलाई लिएर उत्पन्न विवाद साम्य भएको हो । निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेत्री रेखा थापाले फिल्मको कथा, पटकथा तथा संवादमा नाम उल्लेख गर्ने वचनबद्धता व्यक्त गरेपछि विवाद समाधान भएको हो ।

सहमति पश्चात् सुलक्षणले फेसबुकमा जानकारी दिँदै लेखेका छन्, अन्त्यमा रेखा र ज्ञानेन्द्रजीसँग कुरा भयो । हामी एउटा निष्कर्षमा पुग्यौं । कथा, पटकथा र संवादमा मेरो नाम उल्लेख गर्ने भनी हामीबीच सम्झौता भयो । यस विषयलाई यतै टुंग्याउने हामीले सल्लाहअनुसार कुरा भएको छ ।’

‘मेरो बुझाईमा उहाँहरुले बौद्धिक सम्पत्ति र वान लाइनको कन्सेप्ट बुझ्नु भएको रहेन रैछ । अन्त्यमा उहाँहरुले यो सिनेमा मेरो वान लाइनको कन्सेप्ट हो भन्ने कुरा स्वीकार गर्नुभयो । कथा भनेकै मूल कन्सेप्ट हो 'वान लाइन', जुन मैले लेखेको हो । आफ्नो कन्सेप्टमा अनुमति बिना अरु लेखकलाई कथा लेख्न दिन अनुमति लिनुपर्ने उनको भनाइ रहेको थियो ।

त्यस्तै, फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फेसबुकमा स्टाटस लेख्दै सामान्य मिस अन्डरस्ट्याडिङका कारण विवाद जन्मिएको बताउँदै परिवारभित्रै बसेर समस्या समाधान भएको दावी गरे । उनले फेसबुकमा लेखेका छन् 'यो परिवार भित्रको सामान्य मिस अण्डर्स्ट्याण्डीगंको कुरा र सामान्य बिवाद मात्र थियो,  जुन परिवार भित्रै बसेर समस्या समधान भयो, यसमा लहरो तान्दा पहरो खस्ने त्यसको केहि थिएन, मात्र बुझाई फरक थियो साथै, सबैका आ आफ्नै कर्तब्य र बुझाईमा घटि बढीको अवस्था थियो परिवार भित्रै छलफलमा मिलाइयो, अब आपसी छलफलमा समाधान हुने बिषयमा अनावश्यक  स्याल हुंईयाको जरुरी रहेन'

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech