फिल्मी फण्डा। आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परालको आगो’ को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बाल कलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ। गीतले आफू बसिरहेको ठाउँभन्दा मन परेको स्थानतर्फ उडेर जान चाहने भावनालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।
भिडियोमा सुहाना थापाको अभिनय विशेष रूपमा प्रभावशाली देखिन्छ भने रामजी लामिछानेको कोरियोग्राफीले गीतलाई थप आकर्षक बनाएको छ।
नेपाली संगीतका चर्चित संगीतकार शान्ति ठटालको संगीत रहेको गीतमा गायिका निशु शर्माको स्वर सुन्न सकिन्छ। गीतका शब्द मनबहादुर मुखियाले लेखेका हुन् भने संगीत संयोजन बिनोद भुजेलले गरेका छन्।
यो गीतको मूल स्वर भने दिवंगत गायिका अरुणा लामाको हो। उनले करिब चार दशकअघि गाएको यो गीत आज पनि उत्तिकै लोकप्रिय मानिन्छ। निर्माण टिमले गीतमार्फत अरुणा लामालाई सम्झिएको जनाएको छ।
प्रख्यात साहित्यकार गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँ लगायत कलाकारहरूको अभिनय रहेको छ।
हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेलको लगानी छ। पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् भने निर्देशन लक्ष्मण सुनारले गरेका छन्।
फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। साथै भिएफएक्स समिर मिया र सत्यम रानाले तयार गरेका हुन्।
फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।स्मरणीय छ, गुरु प्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित भएर यसअघि पनि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सोही नाममा फिल्म निर्माण गरेका थिए।