काठमाडौं । आगामी चैत्र २७ गतेबाट सोलो रिलिजमा आउने फिल्म ‘राम नाम सत्य’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वान सिनेमाजमा आयोजित कार्यक्रममा निर्देशक माइकल चन्दले ट्रेलर सार्वजनिक गरेका हुन्।
सार्वजनिक ट्रेलरमा विराज भट्टको दमदार एक्सन र संवाद, सुशील श्रेष्ठ र दिव्या रायमाझीबीचको प्रेमकथा तथा विराज–सुशीलबीचको द्वन्द्व देखाइएको छ। साथै, नव–नायक आयुष सिंह ठकुरीको सस्पेन्सपूर्ण भूमिकाले दर्शकमाझ उत्सुकता बढाएको छ।
फिल्ममा समावेश ‘हुम्लाको सिमी’ बोलको गीत पनि चर्चामा छ, जसमा नव–अभिनेत्री खुशी कार्कीले विराजसँग नृत्य गरेकी छन्।
फिल्ममा दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, सुशान्त कुमार श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का, दीपक कोइराला, विनुता विमली, सरोज शाह लगायत कलाकारको अभिनय रहेको छ।
बाल–कलाकारमा आयुष विक्रम शाही, अधिराज चन्द, संरचना चन्द र श्रृङ्खला बिष्ट छन्।माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बनेको फिल्ममा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने सह–निर्मातामा तेजराज चटौत र दमनबहादुर चन्द रहेका छन्।
फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी, नवाज अन्सारीको संगीत रहेको छ। छायांकन मानकृष्ण महर्जनले गरेका छन् भने एक्सन निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्दे प्रसाद र ब्याकग्राउन्ड म्युजिक काला चरणको रहेको छ।
कार्यक्रममा अभिनेता विराज भट्टले फिल्ममा एक्सनसँगै प्रेम, सस्पेन्स र पारिवारिक कथा समेटिएको उल्लेख गर्दै दर्शकले मन पराउने विश्वास व्यक्त गरे। निर्देशक माइकल चन्दले पाँच वर्षको मेहनतपछि फिल्म तयार भएको बताउँदै दर्शकको रोजाइमा पर्न सफल हुने अपेक्षा व्यक्त गरे।