‘सिन्दुरे जात्रा’ मंसिर ४ गते प्रदर्शनमा आउने

फिल्मी फण्डा । निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको चलचित्रले करिब ६ महिनाअघि नै आफ्नो प्रदर्शन मिति घोषणा गरेको हो।

निर्देशक पौडेलका अनुसार वितरकसँगको परामर्श र उपयुक्त प्रदर्शन समयलाई ध्यानमा राख्दै मंसिर ४ गतेलाई रिलिज डेट तय गरिएको हो। उनले चलचित्रलाई पर्याप्त पोस्ट–प्रोडक्सन समय दिएर गुणस्तरीय रूपमा दर्शकमाझ ल्याउने तयारी भइरहेको बताए।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भइसकेको छ। छायांकनका क्रममा मुख्य अभिनेता विजय बरालको हातमा चोट लागेपछि निर्माण कार्य केही समयका लागि रोकिएको छ भने बाँकी छायांकन असार १५ पछि पुनः सुरु हुने जनाइएको छ।

चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा र पूर्व मिस नेपाल उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहनेछ। विजय र अञ्जनाले निर्देशक पौडेलसँग ‘पूर्णबहादुरको सारङ्गी’पछि दोस्रोपटक सहकार्य गरेका हुन्।

निर्देशक पौडेल स्वयंको लेखन रहेको चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन्। बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको चलचित्रलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech