इगो कै कारण किन जुध्न तयार हुन्छन् फिल्म  ?

फिल्मी फण्डा । नेपाली फिल्म उद्योगले आफ्नो बजार स्वदेश र विदेशमा विस्तार गरिरहेको छ । बजारको विस्तारसँगै फिल्म निर्माणमा पनि गुणस्तर र वृद्धि हुँदै गएको छ । नेपाली सफल हुने फिल्मले २० करोडसम्मको व्यापार गरिसकेको छ भने औसत फिल्महरुले लगानी सुरक्षित गर्ने गरेको छ । तर ८० प्रतिशत बढि फिल्म घाटामै जानु पर्ने बाध्यता पनि नेपाली फिल्म उद्योगमा छ ।

नेपालमा बर्षेनी सय हाराहारीमा नेपाली फिल्म निर्माण भइरहेको छ । बर्ष भरिमा स्वदेशी विदेशी गरेर १ सय बिस बढि फिल्महरु रिलिज हुन्छ । जसमा नेपाली फिल्मको संख्या ७० माथी हुने गर्छ । ५२ हप्तालाई रिलिज क्यालेडर मिलाउने हो भने पनि अधिकांश फिल्महरु एकैदिन रिलिज गर्नुपर्ने बाध्यता छ । तर नेपाली फिल्म उद्योगको बजार अनुसार ठूला बजेटमा निर्माण भएका स्टारडम फिल्मलाई सोलो रिलिजको सन्तुलन व्यवस्था मिलाउन सक्नु पर्ने हो, अर्थात ठूला बजेटका फिल्मसँग अर्को ठूला बजेट र स्टारडम भएका फिल्म नजुधाँएको भए राम्रो हुन्थ्यो ।

तर नेपालमा ठिक यसको उल्टो हुने गरेको छ । इगो, दुश्मनी र प्रतिस्पर्धाकै लागि जुन दिनमा एउटा स्टारको फिल्म रिलिज छ, त्यसै दिन अर्को स्टार र ठूलो बजेटको फिल्म रिलिज गर्ने परिपाटी शुरु हुदै आएको छ । दशैं, तिहार र चाडबाडको बेला त केही हदसम्म ठिकै होला तर सामान्य विदाको दिन पनि ठूला फिल्महरु जुधाएर रिलिज गर्नु एकछिनको लागि प्रतिस्पर्धा देखिएपनि अन्नत यसले नेपाली फिल्म उद्योगलाई अप्रत्यक्ष क्षती गरिरहेको हुन्छ ।


हामीले यहाँ चर्चा गर्न खोजिएको विषय तीन फिल्म वारे हो । नायक अनमोल केसी अभिनित फिल्म फर्की फर्की, आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनित फिल्म पुजार सार्की र नायिका पुजा शर्मा अभिनित फिल्म दानवी आगमी जेठ १० गतेबाट रिलिज गर्ने घोषणा गरिएको छ । स्टार भनिएका कलाकारहरु र ठूला बजेटका यी फिल्महरु एक साथ किन रिलिज हुँदैछन् त ? यसको वास्तविकता वारे फिल्मी फण्डाले प्राप्त गरेको केही कारण यहाँ प्रस्तुत गरेका छौं । 


केही बर्ष अघि छक्का पञ्जा ४ र छड्के २.० निर्माताहरुको इगोकै कारण एकैदिन भिडेका थिए, जबकि ती दुई फरक मितिमा साना फिल्म सँग भिड्नपनि सक्थे या सोलो रिलिज नै पाउन पनि सक्थे । निर्माता दिपकराज गिरी र प्रसान्त गिरीको इगोको कारण २ फिल्म एकैदिन भिडे । अन्तत दुबै फिल्मले आफ्नो फिल्मको क्षमता अनुसारको कमाइ गर्न सकेनन् । त्यस मध्ये पनि छड्के २.० त डिजास्टर हुन पुग्यो ।  

आगामी जेठ १० गते पनि नेपाली बक्स अफिसमा निर्माता, निर्देशक र बितरक बिचको इगो छताछुल्ल हुदैछ । निर्माता, निर्देशक र कलाकार फेवर गर्ने वितरक बिचको इगो लडाईंले आगामि जेठ १० मा नेपाली फिल्म बिच अस्वस्थ प्रतिस्पर्धा हुँदै छ । यदि बजारमा चलेको चर्चालाई आधार मान्ने हो भने बक्स अफिमा हुन लागेको उक्त भिडन्तको पछाडि तिनै फिल्मका निर्माता, निर्देशक र कलाकार बिचमा रहेको सामान्य विवाद वा इगो मात्रै हो । जुन कुरा समान्य मात्रै नभएर फिल्म उघोगमा स्वभाविक पनि मानिन्छ । तर तिनै साना विवादको कारण करोडौंको लागत र मेहनत गरेर स्थापित भएको कलाकारको स्टारडम दाउमा लगाउदै छन्, निर्माता तथा वितरकहरु । 

स्रोतका अनुसार फर्की फर्की फिल्मका निर्माता रोहित अधिकारीले ३ वटा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । जसमध्ये एउटा फिल्म निर्देशन गर्ने जिम्मा निर्देशक दिनेश राउतलाई दिए । अधिकारीले निर्देशक राउतलाई अग्रिम रुपमा ८ लाख पारिश्रमिक समेत दिइसकेका थिए । रोहितले सुरुवातमै फर्की फर्की फिल्म निर्माण घोषणा गरेर सुयोग गुरुङलाई निर्देशकको जिम्मा दिए । त्यहि समय देखि निर्देशक दिनेश राउतको रोहीतसँग इगो टकराव भयो । पछि रोहितले राउतसँग सुरुमै दिएको ८ लाख फिर्ता मागे । यता राउतले पनि ८ लाख फिर्ता दिए । फर्की फर्कीका निर्माता रोहीत अधिकारी र पुजार सार्कीका निर्देशक दिनेश राउत बिच ब्यत्तिगत इगो शुरु भयो । जसको कारण उनिहरु आफ्नो फिल्म एक अर्का फिल्म सँग भिडाउनबाट कसैले रोक्न नसक्ने भन्दै एक पछि अर्को पोस्टर सार्वजनिक गरिरहेका छन् ।


उता निर्देशक सुदर्शन थापाको क्याम्पमा हुर्किएकि नायिका पुजा शर्मा र अनमोल केसीले एक साथ काम गर्ने पक्का भएको थियो । पछी अनमोलले उक्त फिल्म छोड्ने निर्णय गरे । अनमोलले पुजाको फिल्म मात्रै हैन सुटिङको मुखमै पुगेको फिल्म रावायण समेत छोडिदिए । निर्देशक सुदर्शन थापाकै निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म रावायणलाई अलपत्र पारेर अनमोलले फर्की फर्कीको सुटिङ सुरु गरेका थिए । रावायणको सुटिङमा उपस्थिति नभई फरार रहेको भन्दै निर्देशक थापाले कानुनी सहायता लिएर अनमोललाई हिरासतमा समेत लिन लगाएका थिए । 

अनमोलले छोडेपछि अलपत्र परेको फिल्म रावायणमा पछि सुदर्शनकै फेवरेट हिरोइन पुजा शर्मा साथ दिन पुगिन् । यसरी हेर्दा सुदर्शन थापा क्याम्पकी नायिका पुजाको फर्की फर्की फिल्मका नायक अनमोल सँग ब्यक्तिगत र टिमगत दुबै रुपमा पुरानो विवाद छ । उक्त विवादको कारण नै जेठ १० गते पुजा शर्मा आफुले अभिनय गरेको फिल्म दानवी लाई उक्त डेटमा रिलिज गर्न वितरक र निर्मातालाई उक्साउदै छिन् । 
 
यता प्रत्यक्ष अप्रत्यक्ष रुपमा अभिनेता प्रदीप खड्का र लेखक विकास सुवेदीको पनि अनमोल केसी र भुवन केसीसँग सम्बन्ध राम्रो छैन । प्रदिप अभिनित फिल्म प्रकाशलाई अवार्ड सिफारिस गर्ने बिषय होस् या प्रेम गीत ३ को रिलिजलाई लिएर होस्, चलचित्र बिकास बोर्डका अध्यक्ष तथा अनमोल पिता भुवन केसीसँग प्रदिप एण्ड टिमको राम्रो सम्बन्ध छैन । साथै बक्स अफिसको निकटतम प्रतिस्पर्धी भएकै करण पुजार सार्कीका नायक प्रदिपको फर्की फर्कीका नायक अनमोल केसीसँगको इगो पहिलेदेखिनै कायम रहेको छ  ।   

र अर्को महत्वपुर्ण कुरा के छ भने फिल्म वितरण विधामा पनि पुजार सार्कीको वितरण कम्पनी आर आर फिल्मस् (रोहित÷रत्न) र फर्की फर्कीको वितरण कम्पनी काफिया फिल्मस्  (गोबिन्द शाही) तथा कुबेर फिल्मस्  (कुबेर) बिच वितरण प्रतिस्पर्धालाई लिएर पहिलेदेखिनै अस्वस्थ्य प्रतिस्पर्धा छ । खासमा निर्माता, निर्देशक तथा कलाकारको भन्दा पनि वितरक बिचको विवाद अझै नोक्सानदायक हुने गरेको छ । दुई वितरकहरुको अस्वस्थ प्रतिस्पर्धाको कारण इनिसियल रुपमा फिल्मलाई नोक्सान हुने गर्छ । तर यहाँ त तीन स्थापित वितरक, स्थापित निर्देशक, निर्माता र स्टार कलाकारहरुको बिचको इगो लडाईं रहेको छ ।


यसरी निर्माताहरुले आफ्नो फिल्मको लगानी उठाउन भन्दा अरुलाई बर्बाद बनाउने नियत राखेपछि कसरी उठ्न सक्छ नेपाली फिल्म ? सिमित हल, सिमित दर्शक र सिमित समयमा लगानी उठाउन पर्ने अवस्थामा तीन–तीन फिल्म एकैदिन भिडाउन खोज्नुले हाम्रा निर्माताहरु नेपाली फिल्म उद्योग प्रति कति जिम्मेवार छन् भन्ने स्पष्ट बुझ्न सकिन्छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech