दिपेश रोक्का/फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रमा दुई बढि फिल्महरु एकसाथ रिलिज हुनु नौलो विषय होइन । विशेषगरि चाडपर्व र विदाका दिन परेको महिनामा बढि फिल्महरु रिलिज हुने गरेको छ । माघमा माघे संक्रान्ति र तामाङ जातिले नयाँ बर्षको रुपमा मनाउने सोनाम ल्होसार गरि एकदिने दुई पर्व परेको छ । यस्तै माघ १६ गते शहिद दिवसको अवसरमा विदा पनि परेको छ । चार दिन शनिवारसहित माघ महिनामा ७ दिन विदाको दिन परेको छ ।
शनिवार बाहेक ३ दिन मात्र विदाको दिन परेको माघमा सात (७) वटा फिल्म रिलिज हुने भएको छ । माघ १ गते नयाँ फिल्म रिलिज भएन । माघे संक्रन्तिको अवसर पारेर पौष २६ गते दयाहाङ राई अभिनित फिल्म 'कार्साङ' रिलिजमा आएको थियो । 'कार्साङ' बक्स अफिसमा डिजास्टर हुन पुग्यो । त्यस पछि माघ ४ गते मदन घिमिरे निर्देशित फिल्म 'एक्टर' र 'फिरफिरे फिरिरी' रिलिज भएको थियो । दुबै फिल्म बक्स अफिसमा चिप्लिन पुग्यो ।
५ वटा फिल्म रिलीज हुने क्रममा छ । माघ ११ गते 'मिसीङ–केटि हराएको सुचना' लाग्दै छ । 'मिसीङ केटि हराएको सूचना'लाई निर्देशक दिपेन्द्र गौचनले निर्देशन गरेका हुन् । 'मिसीङ केटि हराएको सूचना'मा नायक नाजीर हुसेन र नायिका श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्म 'मिसीङ केटि हराएको सूचना'को दोस्रो ट्रेलर पनि सार्वजनिक भइसकेको छ । मधेशका नेपाली समुदायलाई अझै पनि भारतीयको रूपमा चित्रित गर्ने विषयमा फिल्मले बोलेको छ । क्युएफएक्स सिनेमाजका प्रतिनिधि निर्माता नकिम उद्दिनको समेत निर्माण रहेको फिल्मलाई अपेक्षित रुपमा हेरिएपनि दर्शकको साथ कतिको रहने हो ? त्यो भने रिलिज पछि नै थाहा हुनेछ ।
माघ १६ बाट प्रदिप खड्का स्टारर फिल्म 'एक्टर–टेक वान' प्रदर्शनमा आउदैछ । फिल्मलाई नव निर्देशक राजन भुसालले निर्देशन गरेका हुन् । फिल्ममा प्रदिप खड्काको साथमा आना शर्मा, नवनायिका दिब्या रायमाझी, राजबल्लभ कोइराला मूख्य भुमिकामा छन् । कुनै समय नेपाली फिल्ममा लभरब्वाईको रुपमा चिनिएका स्टार राजबल्लभ कोइरालाले ११ बर्षपछि एक्टरबाट पुनरागमन गर्दैछन् ।
एक्शन थ्रिलरको रुपमा प्रस्तुत गरिएको फिल्म स्टारहरुको कारण पनि चर्चामा छ । अभिनेता प्रदिप खड्काको लोभलाग्दो फ्यान फलोइङग छ । यस्तै राज बल्लभ कोइरालाको पुनरागमन र दिव्याका कारण पनि यो फिल्मको चर्चा चूलेको हो । चर्चा चुलिएपनि बक्स अफिसमा यसको धक्का कति पर्ने हो ? त्यो पनि रिलिज पछि नै थाहा हुनेछ ।
यस्तै माघ २५ मा ३ फिल्म प्रदर्शन हुने तयारीमा छ । त्रिपक्षीय भिडन्तमा फिल्म 'सारंग', 'ममी' र 'जुना' रहेको छ । 'सारंग'लाई प्रशान्त तामाङले लेखन, निमार्ण र निर्देशन गरेका हुन् । 'सारंग'को प्रमुख भूमिकामा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर, जंग केसी र प्रभात श्रेष्ठका साथै बालकलाकार आदित्य कार्की र सम्राट थापा फिचर्ड छन् । फिल्मको कथा बाल मनोविज्ञान, बाल अधिकार र धनी–गरिब परिवार बीचको यथार्थ कथामा आधारित रहेको बताइएको छ ।
यस्तै निर्माणदेखि च्यारिती शोहरुमा सहानुभूती बटुल्न सफल फिल्म 'जुना'लाई निर्देशक जिवन सेन्चुरीले निर्देशन गरेका हुन् । फिल्म 'जुना' को कथा बाल विवाहविरुद्धको अभियानमा केन्द्रित छ । च्यारिती शो कै प्रतिक्रिया र मिडियाको साथ सपोर्टमा फिल्मका निर्माण टिम फिल्म सफल हुनेमा उत्साहित देखिएका छन् । फिल्ममा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल र रश्मि भट्टको मुख्य भूमिका छ । कतिपय दर्शकले फिल्म हेरेपछि भावुक हुँदै आँसु थाम्न नसकेको र केहीलाई त गहिरो मानसिक प्रभावका कारण अस्पताल जानुपर्ने अवस्था आएको निर्माण पक्षले दावी गरेको छ । केही साना भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मलाई दीपक प्रसाद घिमीरेले निर्माण गरेका हुन् ।
'सारंग' र 'जुना'सँगै रिलिज हुने अर्को फिल्म हो 'ममी' । 'ममी'लाई नव निर्देशक समर निरौलाले निर्देशन गरेका हुन् । फिल्मले पारिवारीक पृष्ठभूमिमा आमाको मातृत्व र मायाको चित्रण गरिएको छ । 'ममी'ले माया र संघर्षको कथालाई प्रस्तुत गर्छ । फिल्म 'ममी'को मुख्य भूमिकामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायत कलाकारहरु छन् । फिल्मलाई लोक राज जोशी र पूर्णिमा जोशीले निर्माण गरेका हुन् ।
रिलिज भइसकेको 'कार्साङ', 'एक्टर' र 'फिरफिरे फिरिरी'ले आफ्नो लगानी समेत उठाउन सकेन । बाँकी फिल्महरुको बक्स अफिस रिपोर्टको लागि भने रिलिज कुर्नै पर्ने छ । यद्धपी प्रदिप खड्का स्टारर फिल्म 'एक्टर–टेक वान'ले बक्स अफिसमा राम्रो गर्न सक्ने अनुमान छ ।