फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक, नेपाली खेलाडीहरूका कथालाई फिल्ममा उतार्ने नयाँ ढोका खुलेको एन्जिलाको भनाइ

फिल्मी फण्डा।  नेपाली फिल्म अञ्जीला को ट्रेलर सार्वजनिक गरिएको छ। यो फिल्म महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको संघर्ष, सपना, र सफलता कथा बोकेको छ।

काठमाडौंमा आयोजित ट्रेलर सार्वजनिक समारोहमा मुख्य अभिनेत्री एन्जिलासँगै अभिनेता दयाहाङ राई, निर्देशक मिलन चाम्स, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो। निर्देशक चाम्सका अनुसार फिल्ममा अधिकांश राष्ट्रिय खेलाडीहरूका वास्तविक कथालाई समेटिएको छ। गैर-कलाकारलाई अभिनय गराउनु चुनौतीपूर्ण भएको उनले बताए।

अभिनेता दयाहाङ राईले महिला फुटबल टोलीका ठूला प्रशंसक रहेको उल्लेख गर्दै भने, "कप्तानको फिल्म बन्ने सुन्दा नै म भूमिका नहेरी काम गर्न राजी भएँ। यस्तो फिल्मको हिस्सा हुन पाउँदा जिन्दगीभर ऋणी रहनेछु।"

एन्जिला तुम्बापोले आफ्नो यात्रामा धेरै व्यक्तिहरूले साथ दिएको बताउँदै निर्देशक मिलन चाम्सलाई विशेष धन्यवाद दिइन्। "पहिला म उहाँलाई डराउँथे, तर अहिले आफ्नै दाइजस्तो लाग्छ। उहाँको मार्गदर्शन बिना यो यात्रा सम्भव थिएन।" उनले निर्माता प्रेम कुमार श्रेष्ठलाई आफ्नो "गडफादर" भनेर सम्बोधन गर्दै भनिन्, "उहाँकै कारण म यहाँसम्म आइपुगेकी हुँ। अब अन्य खेलाडीहरूको फिल्म पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ।"

चलचित्रमा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको समेत अभिनय रहेको छ। फिल्म इलामको आइतबारे, झापा, र काठमाडौंमा छायांकन गरिएको हो।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको अञ्जिला फाल्गुन २९ (मार्च 12) मा रिलिज हुँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech