‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक, एक्सन अवतारमा प्रदीप खड्का

फिल्मी फण्डा। नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ। प्रदीप खड्काको जन्मदिनको अवसरमा बुढासुब्बा डिजिटलमार्फत सोमबार सार्वजनिक गरिएको टिजरमा मुख्य रूपमा उनीमाथि केन्द्रित दृश्यहरू समावेश छन्।

टिजरमा प्रदीपको एक्सन स्टन्टलाई विशेष प्राथमिकता दिइएको छ, जसले फिल्मको एक्सन पक्षलाई झल्काउँछ। केही दृश्यमा उनलाई सामान्य अवस्थामा पनि देख्न सकिन्छ। यसअघि सार्वजनिक पहिलो टिजर र गीत ‘म त फ्यान भए यार’ले चर्चा पाइरहेकै बेला नयाँ टिजरले फिल्मको हाइप बढाउनेमा निर्माण टिम विश्वस्त छ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको ‘पिताम्बर’मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ललगायत कलाकारको अभिनय छ। फिल्मलाई कृषा चौलागाईंले निर्देशन गरेकी हुन्।

फिल्मको पटकथा प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका छन् भने छायांकन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन्। सम्पादन बन्दे प्रसादले गरेका हुन्। संगीत आशीष अविरल र बाबुल गिरीको रहेको छ भने द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन्। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech