सारुकका पिता सानु ताम्राकारको निधन

फिल्मी फण्डा । गत असार २१ गते आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन भएको छ । नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवहाक अध्यक्ष समेत रहेका सानु एक हप्तादेखि उपचारको क्रममा थिए ।

छोराको निधनपछि विक्षिप्त बनेका उनी बिरामी भए लगतै अस्पताल भर्ना भएका हुन् । शनिवार दिउसो ३ बजे काठमाडौँको नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । सानुको मृगौलामा समस्या देखिएपछि आइसीयूमा उपचार भइरहेको थियो । 

जादूगर समेत रहेका उनि ७४ वर्षका थिए । उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराएँ, भूँइमान्छे, मेरी मामु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । उनको आज (आइतबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । ताम्राकारको निधनले नेपाली चलचित्र क्षेत्र स्तब्ध बनेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech