फिल्मी फण्डा । बहुप्रतिक्षित नेपाली फिल्म (‘माग्ने बुढा’)ले आफ्नो पहिलो पोस्टर (फस्ट लुक) सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। शुक्रबार प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष समारोहमा कलाकारहरूको उपस्थितिमा फिल्मको पोस्टर अनावरण गरिएको हो।
पोस्टर सार्वजनिक कार्यक्रममा अभिनेता केदारप्रसाद घिमिरे (माग्ने बुढा)लाई ‘माग्ने राजा’को शैलीमा पहेँलो पहिरनमा विशेष अवतारमा प्रस्तुत गरिएको थियो। त्यही पहिरन र रङ संयोजनले दर्शकलाई विगतको चर्चित चरित्र ‘माग्ने राजा’को झल्को दिलायो।
पोस्टर विमोचन कार्यक्रममा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता विल्सन विक्रम राई समेत सहभागी थिए। उनीहरूले मिडियासँग कुराकानी गर्दै फिल्ममा आफूले निभाएका भूमिका र अनुभवहरू बाँडे।

‘माग्ने बुढा’ले एक गरिब व्यक्तिको धनी बन्ने सपना र संघर्षको कथा प्रस्तुत गर्छ। फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने कथा–पटकथा सामीप्य तिमल्सिनाले तयार पारेका छन्। मुनाल घिमिरेले निर्माण गरेको यस फिल्ममा हास्य, सामाजिक सन्देश, र प्रेरणा मिसिएको बताइएको छ। फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने बताइएको छ।
तस्वीर : अनुप भट्टराई