फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रका दुई चर्चित नाम—निर्माता तथा निर्देशक सन्तोष सेन र निर्माता, निर्देशक तथा अभिनेता दीपकराज गिरी—बीच सामाजिक सञ्जाल फेसबुकमा विवाद चर्किएको छ। विवादको केन्द्रमा ‘साइबर सेना’ भन्ने प्रसंग देखिएको छ।
केही दिनअघि दीपकराज गिरीले फेसबुकमा नाम नलिई सांकेतिक रूपमा एक स्टाटस लेखेका थिए। उनले उल्लेख गरेका थिए– आफ्नै फिल्मको प्रचार गर्ने सट्टा अरूको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गर्नुपर्ने र अरूको कलाकारलाई स्याल सम्झेर आफ्ना कलाकारलाई मात्र बाघ भन्नु गलत हो। उनले कसैको नाम नलिखेपनि, उक्त टिप्पणी सन्तोष सेन र विराज भट्टतर्फ लक्षित भएको बुझियो।
गिरीको उक्त पोस्ट सार्वजनिक भएपछि सन्तोष सेनले प्रतिक्रम जनाउँदै लामो स्टाटस लेखे। उनले आफ्नो फिल्म ‘बलिदान’ विरुद्ध सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियाहरू योजनाबद्ध रूपमा फैलाइएको दाबी गरे। सेनले दर्शकको भावनालाई फेक अकाउन्टमार्फत खेलबाड गर्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै प्रतिस्पर्धा सिर्जनामा हुनुपर्ने टिप्पणी गरे।
यसपछि विवाद झन् चर्कियो। सेनको नामै तोकेर गरिएको स्टाटसपछि दीपकराज गिरीले फेरि व्यंग्यात्मक जवाफ फर्काए। उनले यसपटक पनि कसैको नाम नलिखे पनि, उनको पोस्ट सन्तोष सेनतर्फ लक्षित भएको स्पष्ट देखिन्थ्यो। गिरीले सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा लेख्दै केही पात्र व्यंग्य र बौद्धिकता बुझ्न नसक्ने भन्दै टिप्पणी गरे।
यो विवादलाई धेरैले गत वर्षको दशैंसँग पनि जोडेर हेरेका छन्। त्यतिबेला दीपकराज गिरीको ब्रान्ड फिल्म ‘छक्का पञ्जा ५’ र विराज भट्ट–समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’ एकै दिन प्रदर्शन भएका थिए। त्यही समयदेखि ‘साइबर सेना’ भन्ने शब्द चलचित्र क्षेत्रमा व्यापक रूपमा चर्चामा आएको थियो। ‘१२ गाउँ’को प्रचारका क्रममा अन्य फिल्मका पोस्टमा समेत उक्त फिल्मको नाममा कमेन्टहरूको बाढी आएको थियो, जसमा सेनको संलग्नता रहेको आरोप लागेको थियो। सेनले भने बारम्बार आफू त्यस्तो गतिविधिमा संलग्न नभएको प्रष्ट्याउँदै आएका छन्।
फेसबुकमा दुवै पक्षबीच चलेको वाकयुद्धमा दर्शक र प्रयोगकर्ताहरूले पनि चासो देखाएका छन्। कोही सेनको समर्थनमा उभिएका छन् भने कोही गिरीको पक्षमा देखिएका छन्। केहीले भने नेपाली चलचित्र उद्योग सानो भएकाले मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
यसरी फेसबुकमा सुरु भएको विवादले फेरि एकपटक नेपाली चलचित्र क्षेत्रमा ‘साइबर सेना’को चर्चा तातिएको छ। विवाद तत्काल थामिने संकेत भने देखिएको छैन।