फिल्मी फण्डा। आउँदो दशैंको फुलपातिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले सोही मितिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’ टीम र निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध जाहेरी दिएका छन्।
अधिकारी भोटाहिटीस्थित साइबर ब्यूरोमा पुगेर जाहेरी दर्ता गरेका हुन्। अधिकारीका अनुसार, ‘बलिदान’सँग सम्बन्धित व्यक्तिहरूले सामाजिक सञ्जालमा आफ्नो चलचित्र ‘माइतीघर’लाई लक्षित गर्दै नकारात्मक टिप्पणीहरू गर्दै आएको कारण आफू साइबर ब्यूरो पुगेको हो।
उनले भने, “साइबर प्रयोगकर्ताहरूले हामीमाथि निरन्तर नकारात्मक कमेन्ट गर्दै प्रहार गरिरहेका छन्। यही कारणले गालीगलौजसम्बन्धी जाहेरी दर्ता गर्न साइबर ब्यूरो पुगेको हुँ।” अधिकारीले जाहेरी दर्ता नम्बर २५६८ रहेको जानकारी पनि दिएका छन्। आउँदो दशैंको फुलपातिमा ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ नामक तीन चलचित्र प्रदर्शनमा आउने भएका छन्।
यी मध्ये ‘माइतीघर’ र ‘बलिदान’का निर्माताहरू सामाजिक सञ्जालमा आक्रमक तवरले वाकयुद्धमा उत्रिएका छन्। यसै क्रममा गालीगलौजसम्बन्धी जाहेरी दर्ता भएको हो। अर्कोतर्फ, ‘हरिबहादुरको जुत्ता’को निर्माण टिम अहिलेसम्म मौन देखिएको छ।