फिल्मी फण्डा । जेनजी आन्दोलनका कारण नेपाली फिल्म क्षेत्रमा पनि केही असर परेको छ। भदौ २३ र २४ गते भएको आन्दोलनका कारण कतिपय फिल्महरूले प्रदर्शन भइसकेको अवस्थामा स्थगन गरेका छन् भने केही फिल्महरूको प्रदर्शन मिति नै डामाडोल भएको छ।
भदौ १३ गतेदेखि प्रदर्शनमा आएको नाजिर हुसेन अभिनीत गुन्युचोलो र भदौ २० गतेदेखि प्रदर्शनमा आएको दयाहाङ राई अभिनीत रिमै ले आन्दोलनकै कारण प्रदर्शन स्थगन गरेका हुन्।
यस्तै, भदौ २७ गतेबाट प्रदर्शन हुने तय भएको सेभेन सिजले निर्माण गरेको अभिमन्यु पनि आन्दोलनका कारण रिलिज हुन सकेन। निर्माण पक्षले उक्त फिल्म फूलपातीको दिनबाट प्रदर्शन गर्ने योजना बनाइरहेको बुझिन्छ, तर ठोस निर्णय भइसकेको छैन। निर्माता विनोद पौडेलका अनुसार, फूलपातीको दिन अन्य कुनै फिल्म पछि हटे अभिमन्यु प्रदर्शन गर्ने, नभए छलफल गरेर नयाँ मिति टुंगो लगाइनेछ।
असोज ३ गतेबाट प्रदर्शन हुने भनिएको दयाहाङ राई अभिनित जारी–२ को मिति पनि अन्यौल बनेको छ। फिल्मले ट्रेलरजस्ता प्रचार सामग्री सार्वजनिक गर्न सकेको छैन भने असोज ३ आउन अब ६ दिन मात्र बाँकी छ। निर्देशक उपेन्द्र सुब्बाले छलफल गरेर चाँडै नयाँ मिति सार्वजनिक गरिने जानकारी दिएका छन्। फूलपातीकै दिन प्रदर्शन गर्ने सम्भावना भए पनि सोही दिन अन्य फिल्म रिलिज हुने भएकाले त्यो दिन सम्भव नहुने उनले बताए।
यसैबीच, असोज १३ गते तीन फिल्म रिलिज हुने तयारीमा छन्। तर आन्दोलनका कारण दर्शकको चहलपहल घटिरहेको अवस्थामा ठूला ब्यानर र ठूलो लगानीका फिल्म प्रदर्शन गर्ने कि नगर्ने भन्ने दोधारमा निर्माताहरू परेका छन्। जारी–२ र अभिमन्यु ले सोही मितिमा रिलिज गर्ने सम्भावना रहेकाले असोज १३ का लागि तय भएका अन्य फिल्महरू पनि अन्यौलमा परेका छन्।
असोज १३ मा रिलिज हुने तयारीमा रहेका फिल्महरूमा प्रकाश सपुत र उपासना सिंह ठकुरी अभिनीत माइतीघर, समीर भट्ट अभिनीत बलिदान र हरिवंश आचार्य अभिनीत हरिबहादुरको जुत्ता रहेका छन्।
माइतीघर का निर्माता रोहित अधिकारीले आन्दोलन सकिएको र चहलपहल विस्तारै बढ्दै गएकाले असोज १३ फूलपातीकै दिन फिल्म रिलिज गर्ने बताए। बलिदान का निर्देशक सन्तोष सेनले आन्दोलनपछि देशलाई चलायमान बनाउन हल र फिल्म दुवै चलाउन जरुरी भएको भन्दै फूलपातीमै प्रदर्शन गर्ने घोषणा गरेका छन्। त्यस्तै, हरिबहादुरको जुत्ता का निर्माता सरोज वलीले पनि केही दिन देशको अवस्था हेर्ने र त्यसपछि प्रचारलाई तिब्र बनाएर सोही दिन फिल्म रिलिज हुने जानकारी दिए।
भदौ २७ देखि असोज १३ सम्मका प्रदर्शन मिति अन्यौल हुँदा असोज ३१ गते रिलिज हुने अनमोल केसी अभिनित जेरी अन टप, कार्तिक ६ गते प्रदर्शन हुने बरिष्ठ बलराम र सोल्टिनी, तथा कार्तिक ७ गते रिलिज हुने पहाड र मैझारो समेतको मिति प्रभावित हुने देखिएको छ।
निर्माताहरू प्रदर्शन मिति टुंगो लगाउन वितरकसँग निरन्तर सल्लाहमा छन्। हलवालाहरूले दशैं–तिहारको भीडलाई ध्यानमा राखी उचित तालिका बनाएर फिल्म प्रदर्शन गर्नुपर्ने अपेक्षा राखेका छन्। यदि भदौ २७ को अभिमन्यु र असोज ३ को जारी–२ ले असोज १३ को मिति ओगट्ने हो भने, कार्तिक २० सम्मका सबै फिल्महरूको प्रदर्शन तालिका अस्तव्यस्त हुनेछ।
तर यदि यी दुई फिल्मले कार्तिकपछि रिलिज गर्ने निर्णय गरे भने, असोज १३ देखि तय भएका फिल्महरूको प्रदर्शन तालिकामा ठूलो असर नपर्ने देखिन्छ। यद्यपि, असोज १३ कै दिन कति फिल्म रिलिज हुने हो भन्ने विषयमा भने अझै निक्र्यौल भएको छैन।