फिल्मी फण्डा । कान्तिपुर फिल्म एकेडेमीअन्तर्गतको कान्तिपुर थिएटरमा आजदेखि नाटक ‘महाभारत’ मञ्चन सुरु भएको छ । ‘सेतो धरती’को सफल मञ्चनपछि थिएटरले नयाँ प्रस्तुतिका रूपमा उक्त नाटक दर्शकमाझ ल्याएको हो ।
भारतीय लेखक कुलदीप कुणालको नाटकलाई नवीन भट्टले नेपाली रूपान्तरण, डिजाइन तथा निर्देशन गरेका हुन् । नाटकको अनुवाद प्रकाश दाहालले गरेका छन् ।
नाटकमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल पहिलो पटक रंगमञ्चमा देखिएका छन् । साथै वरिष्ठ कलाकार तथा निर्देशक रमेश बुढाथोकी, सुवर्ण थापा, सन्दीप श्रेष्ठ, प्रतिक चौधरी, सुपज्ञा शर्मा लगायत २० जना कलाकारको अभिनय रहेको छ ।
नाटकमा सेट डिजाइन तुफान थापा, लाइट डिजाइन दीपेश गजुरेल, संगीत संयोजन तथा गायन अनुप तिमिल्सिना, कोरियोग्राफी अनिष क्षेत्री र निर्माण रमेश पुरीले गरेका छन् ।
‘महाभारत’ असार ७ गतेसम्म हरेक दिन (बुधबार बाहेक) साँझ ५ः१५ बजे कान्तिपुर थिएटर, गैह्रीधारामा मञ्चन हुनेछ । सार्वजनिक बिदाका दिन दिउँसो १ः१५ बजे अतिरिक्त शो पनि रहने जनाइएको छ ।
नाटकको टिकट दर ५०० र १००० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूले सीमित कोटामा ३०० रुपैयाँमै नाटक हेर्न सक्नेछन् । दर्शकले थिएटरको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत अनलाइन टिकट बुक गर्न सक्ने व्यवस्था गरिएको छ ।