फिल्मी फण्डा। अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो ।
बंगलामुखी मन्दिरमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको निर्देशक थापाले जानकारी दिइन् ।
बडीमालिकाजस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थानमा फिल्मको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको निर्देशक थापाले बताएकी छन् । उनका अनुसार बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।
“हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो,” उनले भनिन्।
फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा एकसाथ अभिनय गरेका थिए । यी दुवै फिल्ममा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् ।
अनमोल र सुहानासहित फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।
फिल्मको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् । निर्माण सहायकमा रञ्जित कोइराला छन् । कास्टिङ डाइरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।
पोस्ट प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप/हेयरमा रोनिशा अधिकारी रहेका छन् ।
फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् । मिडिया संयोजनको जिम्मेवारी दिनेश सिटौला फिल्म्स (सीपी जैसी)ले सम्हाल्नेछ भने पब्लिसिटी डिजाइनमा टौवा प्रोडक्सन जोडिएको छ ।
‘ए मेरो हजुर’का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो शृंखलापछि दोस्रो संस्करणदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।
यसपटक भने झरना निर्देशनसँगै अभिनयमा पनि देखिनेछिन् । ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन् । उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् वा नयाँ चरित्रमा देखिन लागेकी हुन् भन्ने निर्माण पक्षले खुलाएको छैन । यसले फिल्ममा उनको भूमिकालाई लिएर दर्शकमा थप कौतूहलता बढाएको छ ।
‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।