फिल्मी फण्डा । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गत ‘तियानतान अवार्ड प्यानोरामा’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ठमेलस्थित छाया सेन्टरमा तीन दिनसम्म चलेको कार्यक्रममा चीनका चर्चित तथा पुरस्कारप्राप्त ६ चलचित्र प्रदर्शन गरिएका थिए।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले आयोजना गरेको कार्यक्रममा करिब १४ सय दर्शक सहभागी भएको आयोजकले जनाएको छ। विभिन्न विधाका चिनियाँ चलचित्रप्रति नेपाली दर्शकको उत्साहजनक उपस्थितिले नेपालमा चिनियाँ फिल्मको व्यावसायिक सम्भावना बढेको संकेत दिएको छ।
प्रतिष्ठानका अध्यक्ष केपी पाठकले यस्ता कार्यक्रमले नेपाल र चीनबीच चलचित्रमार्फत सांस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले भविष्यमा चिनियाँ चलचित्र नेपालमा नियमित प्रदर्शन हुने तथा नेपाली चलचित्रले पनि चिनियाँ बजारमा प्रवेश पाउने वातावरण निर्माण हुने अपेक्षा व्यक्त गरे।
नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पानले चलचित्रलाई दुई देशबीचको सांस्कृतिक आदानप्रदानको सबैभन्दा प्रभावकारी माध्यमको रूपमा व्याख्या गरे।
कार्यक्रममा सस्पेन्स, युद्ध, सामाजिक यथार्थ, पारिवारिक संघर्ष र विज्ञान–कल्पनाजस्ता विविध विषयवस्तु समेटिएका ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’, ‘समर डायरी’, ‘द स्याडोलेस टावर’, ‘जर्नी टु द वेस्ट’ र ‘लस्ट इन द स्टार्स’ प्रदर्शन गरिएका थिए। प्रदर्शनपछि केही चलचित्रका निर्देशकहरूले नेपाली दर्शकसँग प्रत्यक्ष संवादसमेत गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमले नेपाली दर्शकमाझ चिनियाँ चलचित्रप्रतिको रुचि बढाउनुका साथै दुई देशबीच चलचित्र आदानप्रदान र सहकार्यका नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास जगाएको छ।