चलचित्र समीक्षा तथा पत्रकारिता सम्बन्धी तीनदिने तालिम काठमाडौंमा जारी

फिल्मी फण्डा। चलचित्र समीक्षा र चलचित्र पत्रकारितासम्बन्धी तीनदिने विशेष तालिम आइतबारदेखि काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा सुरु भएको छ। आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रम जेठ २७ गतेसम्म चल्नेछ।

चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि, समीक्षात्मक लेखन क्षमताको विकास तथा चलचित्रका विविध आयामबारे पत्रकारहरूलाई व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित आयोजित तालिममा २५ जना चलचित्र पत्रकार सहभागी छन्।

कार्यक्रममा चलचित्रकर्मी तथा प्रशिक्षक राजेश गङ्गाजु, वरिष्ठ पत्रकार अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरिरहेका छन्। तालिमअन्तर्गत नेपाली चलचित्रको इतिहास र विकासक्रम, समीक्षाको सिद्धान्त तथा अभ्यास, पत्रकारिताका नैतिक मूल्य–मान्यता, डिजिटल युगमा चलचित्र पत्रकारिताको बदलिँदो स्वरूप तथा चलचित्र निर्माणका प्राविधिक पक्षबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता केवल सूचना सम्प्रेषणको माध्यम मात्र नभई चलचित्र उद्योगको विकास, प्रवर्द्धन र गुणस्तर वृद्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित क्षेत्र भएको बताए। उनले निष्पक्ष, तथ्यपरक र जिम्मेवार समीक्षा तथा विश्लेषणमार्फत पत्रकारहरूले चलचित्र क्षेत्रलाई सकारात्मक दिशा दिन महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा व्यक्त गरे।

अध्यक्ष बलामीले पत्रकारको पेशागत दक्षता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्दै चलचित्र पत्रकारितालाई अझ व्यावसायिक, सिर्जनशील र विश्वसनीय बनाउन निरन्तर अध्ययन, अभ्यास र क्षमता विकास आवश्यक रहेको बताए।

आयोजकका अनुसार तालिमले सहभागी पत्रकारहरूलाई समीक्षा लेखन, गुणस्तरीय सामग्री उत्पादन तथा चलचित्र क्षेत्रको गहन अध्ययन–अनुसन्धानमा थप सक्षम बनाउने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech