दिल्लीमा ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ सुरु, प्रदीप खड्का र आना शर्मा सद्भावना दूत नियुक्त

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासको आयोजनामा ‘सिनेनेपाल कल्चरफेस्ट २०२६’ औपचारिक रूपमा सुरु भएको छ। नेपाल–भारतबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मा लाई नेपाल–भारत चलचित्र तथा सांस्कृतिक प्रवर्द्धनका लागि नेपालको सद्भावना दूत (गुडविल एम्बेसडर) नियुक्त गरिएको छ।

कार्यक्रमअन्तर्गत जुलाई महिनालाई ‘नेपाली चलचित्र महिना’ का रूपमा मनाउने योजनाअनुसार नेपाली फिल्म ‘Aktor: Take One’ को विशेष प्रदर्शन गरिएको थियो। सोही अवसरमा फिल्मका निर्माता मोती कार्की लाई नेपाली फिल्मको विकास, विस्तार र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार कार्यक्रमको उद्देश्य नेपाली फिल्म, कला र संस्कृतिलाई भारतीय बजारमा थप अवसर सिर्जना गर्नुका साथै नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्नु हो।

दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा ले नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान, चलचित्र सहकार्य तथा नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस पहलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा इन्डो–नेपाल फिल्म एन्ड कल्चरल फोरमका अध्यक्ष सन्दीप मारवा, ग्लोबल ट्रेड एन्ड टेक्नोलोजीका अध्यक्ष गौरव गुप्ता, नेपाल तथा विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधि, वरिष्ठ अभिनेत्री विपना थापा, प्रवासी नेपाली, नेपाली विद्यार्थी तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाली दूतावासका मिनिस्टर काउन्सेलर अम्बिका जोशी ले गरेकी थिइन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech