१३ शहरमा ‘सुरताल म्युजिकल टुर’ गर्दै प्रकाश सपुत, प्रमोद र परम्परा तथा फिरन्ते

फिल्मी फण्डा । गायक प्रकाश सपुत, प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डले देशका विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् । यी कलाकारहरू ‘सुरताल म्युजिकल टुर २०८३’ लिएर देशका ७ वटै प्रदेशका प्रमुख शहरमा पुग्न लागेका हुन् ।

सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रा.लि.को आयोजनामा हुने सांगीतिक टुर असोज १० गते धनकुटाको हिलेबाट सुरु हुनेछ । टुरमा प्रकाश सपुत आफ्ना चर्चित तथा नयाँ गीत लिएर ‘भाका नेपाल’ ब्याण्डसहित लाइभ प्रस्तुतिमा देखिनेछन् । त्यस्तै, प्रमोद र परम्परा ब्याण्ड तथा फिरन्ते ब्याण्डको समेत ऊर्जावान् लाइभ प्रस्तुति रहनेछ ।

परम्परागत कन्सर्टभन्दा फरक र अविस्मरणीय अनुभव दिने उद्देश्यले कार्यक्रमको तयारी गरिएको आयोजकले जनाएको छ । अत्याधुनिक साउण्ड सिस्टम, भव्य लाइटिङ, लाइभ इन्स्ट्रुमेन्ट, गीतको भावअनुसार कोरस डान्स तथा मञ्चीय अभिनयलाई समेत प्रस्तुतिमा समावेश गरिनेछ । कार्यक्रमलाई निशा पन्थीले सञ्चालन गर्नेछिन् ।

‘सुरताल म्युजिकल टुर’ मनोरञ्जनमा मात्र सीमित नरहने आयोजकको भनाइ छ । कार्यक्रमको खर्च कटाएर बाँकी हुने आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद् प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रदान गरिनेछ ।

यसअघि पोखराबाट सुरु गर्ने तयारी गरिएको टुर बाढीका कारण उत्पन्न परिस्थितिका कारण पोखरा र धरानका कार्यक्रम हाललाई स्थगित गरिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए ।

‘यो सांगीतिक अभियान केवल मनोरञ्जनमा सीमित नभई विपद्को समयमा नागरिकसँग एकाकार हुने र नेपाली मौलिक संगीतलाई देशका कुना–काप्चासम्म पु¥याउने साझा संकल्प हो,’ उनले भने ।

पहिलो चरणअन्तर्गत असोज १० गते धनकुटाको हिलेमा भव्य उद्घाटनपछि असोज १४ गते तेह्रथुम, १७ गते खाँदबारी र १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ ।

त्यसपछि दोस्रो चरण मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुनेछ । मंसिर ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि स्थगित पोखरा र धरानका कार्यक्रमसमेत आयोजना गर्दै टुर सम्पन्न गरिने आयोजकले जनाएको छ ।

देशका विभिन्न भूगोलका दर्शकमाझ नेपाली संगीतको मौलिक सुर र ताल पुर्‍याउने उद्देश्यसहित कलाकार तथा आयोजक टोली तयारीमा जुटेको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech