विराज र समीरको ‘१२ गाउँ २’को टिजर सार्वजनिक

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । करिब दुई मिनेट लामो टिजरमा संवादभन्दा एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ । गोली, किक र फाइटका दृश्यले भरिएको टिजरले फिल्मको कथावस्तुबारे भने धेरै खुलासा गर्दैन ।

विराजको भ्वाइस ओभरबाट सुरु हुने टिजरमा समीर भट्टका एक्सन दृश्यलाई विशेष प्राथमिकता दिइएको छ । टिजरको मुख्य आकर्षण भने विराज र समीरलाई एकसाथ प्रस्तुत गरिएको दृश्य हो । उक्त दृश्यमा उनीहरूलाई दुई शक्तिका रूपमा प्रस्तुत गर्दै युद्धको फैसला दुईमध्ये एकको अन्त्यबाट हुने संकेत गरिएको छ ।

यसले फिल्ममा विराज र समीरबीच नै मुख्य टकराव हुने सम्भावनातर्फ संकेत गर्छ । यद्यपि, फिल्मको वास्तविक कथावस्तु भने टिजरमार्फत खुलाइएको छैन ।

असोज ३० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा विराज र समीरसँगै अनुपविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी र अर्जुन आचार्यलगायत कलाकारको अभिनय छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् ।

फिल्ममा महेश पौडेल डीओपी, राम केसी र राजु लामा छायांकन, बन्दे प्रसाद सम्पादन, सन्तोष सरकार लेखन तथा स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । कालाचरणको पार्श्व संगीत (बीजीएम) र गीता गुरप्पाको ध्वनि संयोजन रहेको फिल्म २०८१ सालमा प्रदर्शन भएको ‘१२ गाउँ’को सिक्वेल हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech