काठमाडौं। आगामी कात्तिक १४ गते आयोजना हुने ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’का प्रतियोगीहरू आइतबार राति ‘द ग्ल्याम नाइट’मा र्याम्पमा प्रस्तुत भएका छन्।
रिबन इन्टरटेनमेन्टले आयोजना गरेको फेसन शोमा २२ प्रतियोगीले ब्राइडल, निभिया र गाउन सिक्वेन्समा आफ्नो प्रस्तुति दिएका थिए। विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास, व्यक्तित्व र फेसनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए।
कार्यक्रममा अभिनेता राजेश हमाल, रमेश उप्रेती, जितु नेपाल, प्रमोद अग्रहरी, अभिनेत्री रेखा थापा, पूजा शर्मा, सुपुष्पा भट्ट तथा गायक आनन्द कार्कीलगायत सेलिब्रेटी सहभागी थिए।
ब्राइडल सिक्वेन्समा परम्परागत दुलही पहिरन प्रस्तुत गरेका प्रतियोगीहरूले निभिया सिक्वेन्समा सौन्दर्य तथा व्यक्तिगत हेरचाहसम्बन्धी ब्रान्ड प्रवर्द्धन र गाउन सिक्वेन्समा आफ्नो व्यक्तित्व तथा आत्मविश्वास प्रदर्शन गरेका थिए।
कार्यक्रममा राजेश हमाल, रेखा थापा, पूजा शर्मा र सुपुष्पा भट्टले प्रतियोगिताका विजेताले लगाउने ताज सार्वजनिक गरे। गायक आनन्द कार्कीले गीत प्रस्तुत गरे भने जितु नेपालले हास्यव्यङ्ग्य प्रस्तुत गरे।
प्रतियोगिताको ग्रान्ड फिनाले प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुनेछ। विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताबाट ‘मिसेस नेपाल इन्टरनेसनल’, ‘एमएस इन्टरनेसनल’ र ‘मिसेस कोस्मो’का विजेतासमेत चयन गरिनेछ। ती उपाधिका विजेताले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने आयोजकले जनाएका छन्।