काठमाडौं । कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पाँच पाण्डव’को गीत ‘दाजु भाइजस्ता हुँदैनन् अरू’ सार्वजनिक भएको छ। सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर, अर्जुन पोखरेलको संगीत र डा. कृष्णहरि बरालको शब्द रहेको गीतले दाजुभाइबीचको प्रेम, एकता र भातृत्वको भाव प्रस्तुत गरेको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला देखिएका छन्। भिडियोको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरीलाई प्रस्तुत गरिएको छ।
वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा पाँच पाण्डवका चरित्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक सुशील पौडेलले बताएका छन्। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा छन्।
काली रानी फिल्म्सको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। फिल्ममा डल्बी एटमस साउन्डको अनुभव लिन सकिने निर्देशक निरौलाले बताएका छन्। फिल्मलाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।