ओस्कारमा भारतले मलयालम फिल्म ‘२०१८’लाई पठाउने

फिल्मी फण्डा - भारतले आगामी ओस्कार अवार्डमा मलयालम फिल्म ‘२०१८ः एभ्रिवन इज अ हिरो’लाई पठाउने भएको छ । जुड एन्थोनी जोसेफ निर्देशित यो फिल्मलाई निर्णायक मण्डलले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म फिल्मको विधामा छनोट गरेको हो । ९६ औं ओस्कर अवार्ड मार्च १०, २०२४ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुनेछ ।

फिल्म ‘२०१८’को कथा सन् २०१८ मा केरलामा आएको विनाशकारी बाढीमा आधारित छ । गत मे ५ मा रिलिज भएको यो फिल्म २०२३ को दोस्रो सबैभन्दा धेरै कमाउने मलयालम फिल्म थियो । यसलाई हिन्दीमा पनि डब गरिएको छ । फिल्ममा टोभिनो थोमस, आसिफ अली र अपर्णा बालमुरलीलगायत धेरै कलाकारले काम गरेका थिए ।

रिपोर्टका अनुसार यो वर्ष २२ फिल्म सर्टलिस्टमा परेका छन् । यसमा बलिउडबाट द केरला स्टोरी, गदर२, ज्वेइगाटो, रकी और रानी की प्रेम कहानी, मिसेस चटर्जी भर्सेस नर्वे र घूमरलाई सर्टलिस्ट गरिएको थियो ।

यसअघि सन् २००१ मा आमिर खान अभिनित बलिउड फिल्म ‘लगान’ले यस श्रेणीमा मनोनयन पाएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech