फिल्मी फण्डा । अमेरिकामा बसोबास गर्दै आइरहेका नारायण अधिकारीले ‘चलचित्रकर्मी कल्याणकारी कोष’लाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । बुधबार चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा पुगेर उनले सहयोग रकम प्रदान गरेका हुन् । सहयोग प्रदान गर्दै अधिकारीले आफु नेपाली फिल्मको शुभचिन्तक रहेको समेत बताए । सहयोग कार्यक्रममा अधिकारीलाई बोर्डका अध्यक्ष भुवन केसीले कदर पत्र प्रदान गरेका थिए । सहयोग रकम ग्रहण गरीसकेपछि कोषकी संयोजक बसुन्धरा भुषालले कोषमा एकपटकको सहयोग जुगजुगसम्मलाई हुने बताइन् ।
उक्त कार्यक्रमममा बोर्ड अध्यक्ष केसी, कोष संयोजक भुषालसहित बोर्ड सदस्यहरु केएल बुढाथोकी, राजु केसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र द्वन्द्व संघका अध्यक्ष नारायण प्रधानलगायत उपस्थित थिए । कोषले समस्यामा रहेका फिल्मकर्मीलाई आपतकालिन अवस्थामा सहयोग प्रदान गर्दै आएको छ ।