उपासनासँग रोमान्स गर्दै कुन्दन, ‘भिडियोटेप’को घोषणा

फिल्मी फण्डा। एप्पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ । ललितपुरस्थित लाबिम मलमा आयोजित पत्रकार सम्मेलनमार्फत ओविद उद्दिनको निर्देशनमा बन्न लागेको फिल्म घोषणा गरिएको हो ।


हरर जनरामा निर्माण हुने फिल्मको छायांकन भदौ ५ गतेदेखि उपल्लो मुस्ताङबाट सुरु हुने भएको छ । निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३० दिनमा पूरा गरिनेछ ।


फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य मुख्य भूमिकामा रहनेछन् । यस्तै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं, सिद्धार्थ सिंहलगायत कलाकारको पनि अभिनय रहनेछ ।


फिल्ममा वशिष्ट प्रधान डीओपीका रूपमा रहेका छन् भने ईश्वर घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हाल्नेछन् । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा रहनेछन् ।
निर्देशक ओविदले आफू सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको भन्दै डेब्यू फिल्ममा पनि यही जनरा रोजेको बताए ।


“म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ । यसैले आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक विषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन,” उनले भने ।
अभिनेत्री उपासना सिंह ठकुरीले फिल्मका विषयमा एक वर्षअघिदेखि नै कुराकानी भइरहेको बताइन् । कथावस्तु मन परेकाले फिल्ममा काम गर्न आफू उत्साहित रहेको उनको भनाइ छ ।


“एक वर्षअघिदेखि नै यो फिल्मको विषयमा कुराकानी भइरहेको थियो । कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौँ । एकदमै उत्साहित छु,” उनले भनिन् ।
नव–नायक कुन्दन मान शाक्यले पनि फिल्मलाई लिएर आफू उत्साहित रहेको बताए ।


फिल्म करिब ४ करोड रुपैयाँको बजेटमा निर्माण हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रममा एप्पल इन्टरटेनमेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरे ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech