फिल्मी फण्डा। ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार देशभरका ३८ हलमा ५१ दिन मनाउँने भएको छ ।
फिल्मले ४२ दिनसम्म देशव्यापी ४९ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । सात विदेशी बजारबाट फिल्मले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस (करिब १७ लाख ३० हजार अमेरिकी डलर) कमाएको विवरण सार्वजनिक भएको थियो ।
यसरी नेपालको ६ साता र विदेशको बक्स अफिस हिसाब जोड्दा अहिलेसम्म ‘पूर्णबहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन ७२ करोड ६० लाख २२ हजार ४०० हुन आउँछ ।
सरोज पौडेल निर्देशित यस फिल्मले बाबुछोराको भावनात्मक सम्बन्धको कथा भन्छ । फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत र बालकलाकार स्वयं केसीको मुख्य भूमिका रहेको छ ।