फिल्मी फण्डा । गत वर्ष बक्सअफिसमा २१ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्दै चर्चामा आएको ‘१२ गाउँ’को दोस्रो श्रृंखला ‘१२ गाउँ–२’ले यसपटक भने अपेक्षाकृत कमजोर सुरुवात गरेको छ । दसैँको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएका तीन नेपाली फिल्ममध्ये ‘१२ गाउँ–२’ बक्सअफिसमा तेस्रो स्थानमा देखिएको हो ।
दसैँको छेको पारेर प्रदर्शनमा आएका ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’ र ‘१२ गाउँ–२’को बक्सअफिस रिपोर्ट सार्वजनिक हुँदा पल शाह स्टारर ‘आ बाट आमा–२’ले सबैभन्दा राम्रो सुरुवात गरेको देखिएको छ ।
सार्वजनिक तथ्यांकअनुसार ‘आ बाट आमा–२’ले हालसम्म ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् ।
दोस्रो स्थानमा रहेको दीपकराज गिरी स्टारर ‘छ माया छपक्कै–२’ले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मका ८२ हजार ७५९ टिकट बिक्री भएका छन् ।
यता, गत वर्षको पहिलो श्रृंखलाको सफलतापछि निर्माण भएको ‘१२ गाउँ–२’ भने यी दुई फिल्मभन्दा पछाडि छ । फिल्मले १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यसका ५७ हजार ९८३ टिकट बिक्री भएका छन् ।
यससँगै एउटै बिदाको समयमा रिलिज भएका तीन फिल्मको व्यापारमा स्पष्ट अन्तर देखिएको छ । विशेषगरी पहिलो श्रृंखलाले २१ करोडभन्दा बढीको व्यापार गरेको पृष्ठभूमिमा ‘१२ गाउँ–२’को सुरुवाती कलेक्सनले दर्शकमाझ यसपटक पहिलो भागजस्तो प्रभाव पार्न नसकेको संकेत गरेको छ ।
यद्यपि, दसैँको लामो बिदा बाँकी रहेकाले आगामी दिनको व्यापारले फिल्मको अन्तिम अवस्था निर्धारण गर्नेछ । स्टारडम, सिक्वेलको अपेक्षा र दर्शकको वर्ड अफ माउथले आगामी दिनमा ‘१२ गाउँ–२’को व्यापार उकास्ने सम्भावना पनि कायमै छ ।
‘आ बाट आमा–२’लाई चन्द्र पन्तले निर्देशन गरेका हुन् भने ‘छ माया छपक्कै–२’लाई दीपेन्द्र लामा र ‘१२ गाउँ–२’लाई विराज भट्टले निर्देशन गरेका छन् ।
‘आ बाट आमा–२’मा पल शाहसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ ।
‘छ माया छपक्कै–२’मा दीपकराज गिरी, केकी अधिकारी, शनिसा भट्टराईलगायत कलाकार मुख्य भूमिकामा छन् । यस्तै, ‘१२ गाउँ–२’मा समीर भट्ट, विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनीलगायत कलाकारको अभिनय छ ।