फिल्मी फण्डा । अगामी पुष २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित फिल्म ‘कार्साङ’ को पहिलो गीत ‘सात भन्ज्याङ’ सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतले जनजातीय जीवनशैली, प्रेम, र समर्पणको कथा बोकेको छ।
गीतमा डीपी खनाल को शब्द र एसडी योगी को संगीत रहेको छ। गायनमा संगीतकार योगीलाई रेश्मा पुन मगर ले साथ दिएकी छन् भने एरेन्जरको रूपमा रिकेश गुरुङ ले काम गरेका छन्। गीतको छायांकन भर्खरै सम्पन्न भएको थियो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र सिर्जना निङलेखु लाई नृत्य प्रस्तुत गर्दै देखाइएको छ। अभी लामाको कोरियोग्राफीमा तयार भिडियोमा लिम्बू, गुरुङ, र शेर्पा जातिको सांस्कृतिक पोशाकको प्रयोग गरिएको छ। यसले गीतलाई मात्र होइन, फिल्मलाई पनि सांस्कृतिक गहिराइ दिएको छ।
गीतले आदिवासी समुदायको प्रेम र जीवनशैलीलाई सांगीतिक शैलीमा प्रस्तुत गरेको छ। भिडियोको सेटअप र भावले फिल्मको समग्र कथावस्तुलाई संकेत गरेको छ।
दयाहाङ राई र सिर्जना निङलेखु प्रमुख भूमिकामा रहेका छन्। सिर्जनाको यो डेब्यु फिल्म हो, जसमा उनले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन्।
फिल्ममा जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, र कविता आले लगायतका कलाकारको अभिनय रहेको छ।
फिल्मले अभाव, गरिबी, र शेर्पा समुदायको सांस्कृतिक कथालाई पर्दामा उतार्ने उद्देश्य लिएको छ।
फिल्मको लेखन तथा निर्देशन यम शेर्पा ले गरेका हुन्। निर्माण पक्षमा पुरुषोत्तम प्रधान प्रमुख निर्माता र छायाँकारको रूपमा रहेका छन्। कार्यकारी निर्माताको जिम्मेवारी आङछिरिङ शेर्पा ले लिएका छन् भने सह–निर्मातामा गोविन्द बोहरा छन्।
एक महिनाअघि सार्वजनिक गरिएको फिल्मको टिजरले व्यापक चर्चा पाएको थियो। अब गीतले फिल्मप्रति दर्शकको उत्सुकतालाई झन् बढाएको छ।
‘कार्साङ’ ले सांस्कृतिक कथा र संवेदनालाई पर्दामा प्रस्तुत गर्दै नेपाली सिनेमालाई एक फरक उचाइमा लैजाने अपेक्षा गरिएको छ।