कान्समा अवार्ड जितेको ‘तीनीहरू’को कथा के हो ?

फिल्मी फण्डा।  कान्ससहित विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेर अवार्ड जितेको नेपाली चलचित्र ‘तीनीहरू : एलिफेन्ट्स इन द फग’ यही भदौ १९ गतेदेखि नेपालमा प्रदर्शनमा आउँदैछ। अविनाश विक्रम शाहको निर्देशन तथा पटकथामा बनेको यो चलचित्र कान्समा जुरी च्वाइस अवार्ड जितेपछि घरेलु दर्शकमाझ पनि प्रतीक्षित बनेको छ।

चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक तथा सिमान्तकृत समुदायको कथा प्रस्तुत गर्छ। निर्माणपक्षका अनुसार हात्ती चलचित्रको एउटा पात्र मात्र नभई सिमान्तकृत समुदायमाथि समाजले बनाएका सीमा र नियन्त्रणको विम्ब पनि हो। मानिसले हात्तीलाई पूजा गरे पनि जंगलभित्रै सीमित गरेझैँ समाजले महिला तथा सिमान्तकृत समुदायलाई निश्चित सीमाभित्र राख्ने विषय फिल्मले उठाएको छ।

चलचित्रको ट्रेलरमा भने हात्तीलाई देखाइएको छैन। निर्माणपक्षले कथा र अनुभवसँग जोडिएको हात्तीको पक्षलाई दर्शकले फिल्ममै अनुभव गरून् भन्ने उद्देश्यले ट्रेलरमा नदेखाइएको जनाएको छ। ट्रेलरले मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूको संसारलाई केन्द्रमा राखेको छ।

गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय रहेको चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको हो।

यसैबीच, निर्माण टिमले भोटेकोसी बाढी प्रभावितका लागि ९ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। नेपाल प्रिमियरबाट उठ्ने अनुमानित ७ लाख र निर्माताहरूको तर्फबाट २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ। अन्तर्राष्ट्रिय सह–निर्माताहरूले पनि बाढीपीडितका लागि सहयोग जुटाउने निर्देशक शाहले बताएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech