फिल्मी फण्डा । उच्च कोटीको म्यूजिक भिडियो प्रस्तुत गर्ने एल ए स्टूडियोले नयाँ वर्ष २०२५ को अवसरमा अर्को आकर्षक म्यूजिक भिडियो सार्वजनिक गरेको छ। यस भिडियोमा "मालती" गीतबाट चर्चित जोडी साम्राज्ञी राज्य लक्ष्मी शाह र विशाल खरेलले पुनः स्क्रिन साझा गरेका छन्।
यस पटक पनि साम्राज्ञी आफ्नो बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् भने नयाँ मोडल विशाल खरेलले आफ्नो दमदार प्रस्तुती मार्फत प्रशंसा बटुल्न सफल भएका छन्।
गीतको निर्देशन "मालती" का निर्देशक सञ्जय न्यौपानेले गरेका छन्। अभिनयमा समेत पारंगत न्यौपाने चाँडै नै फिल्म निर्देशनमा डेब्यु गर्ने तयारीमा छन्।
थाईल्यान्डको आकर्षक लोकेशनमा छायांकन गरिएको यो भिडियो गीत बजारमा उपलब्ध अन्य गीतहरूभन्दा पृथक देखिन्छ। गीतलाई नेपाल आइडल सिजन २ का लोकप्रिय गायक सुमित पाठकले शब्द र संगीतमा तयार पारेका छन्।
सुमितको संगीतलाई सशक्त बनाउन नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका ममता गुरुङले महिला स्वर दिएकी छिन्। गीतको संरचना र प्रस्तुतिमा सुमित पाठकको निखार झल्किएको छ।
एल ए स्टूडियोले म्यूजिक भिडियो निर्माणमा नयाँ उचाई थप्दै नेपाली गीत-संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरिरहेको छ।