दिपेश रोक्का । आगामी माघ ११ देखी प्रर्दशनमा आउन लागेको चलचित्र फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को गीत ‘सपनीमा’ शुक्रबार सार्वजनिक गरिएको छ। ललितपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित एक विशेष कार्यक्रममा गीतको सार्वजनिकता गरिएको हो।
यस गीतमा गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ भने शब्द र संगीत करुण थापाले तयार गरेका छन्। यो गीतले करुण थापाको २० वर्षपछि पाश्र्व गीत लेखनमा गरिएको कमब्याकलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। गीतको रेकर्डिङ एकस्टिक नेपाल स्टुडियोमा गरिएको हो, जसमा फणिन्द्र राईको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ छ।
गीतको भिडियोमा फिल्मका प्रमुख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन्। भिडियोमा यी दुईलाई ग्रामीण परिवेशमा रोमान्टिक अवतारमा देखाइएको छ। रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्, जसले नाजिर र सृष्टिलाई आकर्षक डान्स शैलीमा प्रस्तुत गरेका छन्।
कार्यक्रममा गायिका इन्दिरा जोशीले भने, "फिल्मले तराईका पात्रलाई हिरोको रूपमा प्रस्तुत गरेको छ, र म यसमा स्वर दिन पाएकोमा गर्व गर्छु।" गायक करण परियारले भने, "यो गीतले मेरो पाश्र्व गायनको सपना पूरा गरेको छ।"
गीतकार करुण थापाले भने, "फिल्मका निर्देशक दीपेन्द्र गौचनसँगको पुरानो मित्रता र विश्वासका कारण मैले यो गीत लेखेको हुँ।" उनले थपे, "फिल्मका लागि तयार भएका दुई गीतमध्ये ‘सपनीमा’ लाई सबैले मन पराएर चयन गरेका छन्।"
निर्देशक दीपेन्द्र गौचनले फिल्मको कथासँग मेल खाने गीत तयार गर्ने प्रयास गरेको बताए। उनले संगीत र कथाको संयोजनलाई विशेष महत्व दिएका छन्। रामजी लामिछानेले भने, "दिग्गज कलाकारसँग सहकार्य गर्नु मेरो लागि ठूलो अनुभव हो।"
फिल्म ‘मिसिङः केटी हराएको सूचना’ ट्राई सिटी पिक्चर्सको प्रस्तुतिमा निर्माण भएको हो। फिल्ममा नाजिर हुसेन, सृष्टि श्रेष्ठसँगै अन्य चर्चित कलाकारहरूको अभिनय छ। यस फिल्ममा दीपेन्द्र गौचनले निर्देशन, निर्माण र लेखन गरेका छन्।