फिल्मी फण्डा । दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'नाङ्गो गाउँ'को टिजर सार्वजनिक भएको छ । गाउँको समसामयिक बिषयमा केन्द्रित फिल्मको टिजरमा इमान्दार शिक्षक र भ्रष्ट राजनीतिज्ञ बिचको युद्ध देखाइएको । परम्परागत राजनीति र भ्रष्टाचारले गाउँमा विकास हुन नसकेको कारण कसरी एक शिक्षक राजनीतिमा होमिन सक्छ भन्ने बिषय फिल्मको टिजरले उठान गरेको छ ।
टिजर हेर्दा दिपेन्द्र लामा राजनीतिक मुद्दाबाट बाहिर निस्कन सकेका छैनन् भन्ने स्पष्ट देखिन्छ, उनले निर्देशन गरेको 'छ माया छपक्कै' पनि यस्तै कथामा आधारित थियो । छ माया छपक्कै हिट भएको कारण हुन सक्छ सायद त्यस्तै कथामा बारम्बार फिल्म बनाएपनि चल्छ भन्ने भ्रम छ निर्देशक लामालाई । उनको फिल्ममा कलाकारको सँधै एकै नासको अभिनय र एकै परिवेशको कथा रहने गरेको छ । अब दर्शकले यस फिल्मलाई कत्तिको साथ दिन्छन् त्यो त भदौ २९ मा थाहा हुनेछ ।
फिल्ममा दयाहाङ राई, शिशिर बाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ ।
हिमाल शर्मा प्रस्तुतकर्ता रहेको फिल्ममा जय श्रेष्ठको लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता रामहरी श्रेष्ठ हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।