कोरियाली फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’मा मुख्य भूमिकामा अरुण क्षेत्री

 नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सहनिर्माता चन्दन झा जोडिएका छन्।

रोमान्टिक कमेडी तथा सुपरनेचुरल विधामा निर्माण हुने फिल्ममा के-ड्रामाको स्वादसमेत रहनेछ। पूर्व कोरियाली के-पप स्टार र युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अनपेक्षित प्रेम सम्बन्ध फिल्मको मुख्य कथा हो। प्रेम, हास्य र रहस्यको संयोजनमार्फत आधुनिक सेलिब्रेटी संस्कृति र नेपालको आध्यात्मिक परिवेशबीचको सम्बन्धलाई प्रस्तुत गरिनेछ। साथै, प्रेम, पहिचान तथा बाहिरी देखावट र वास्तविकताबीचको भिन्नतालाई पनि कथामा समेटिनेछ।

फिल्मको पुरुष मुख्य भूमिकामा नेपाली अभिनेता अरुण क्षेत्री अनुबन्ध भएका छन्। अन्तर्राष्ट्रिय प्रेमकथाको केन्द्रमा नेपाली पात्र रहने फिल्ममा महिला मुख्य भूमिकाका लागि दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम पछि सार्वजनिक गरिने निर्देशक ह्वाङले बताएकी छन्।

फिल्मको निर्माण तथा सिर्जनात्मक टोलीमा निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ, सहनिर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल तथा क्रिएटिभ डाइरेक्टर, कास्टिङ डाइरेक्टर, भाषा तथा अभिनय प्रशिक्षक एवं क्यारेक्टर डाइरेक्टर उत्पल झा रहेका छन्।

हिमाल र पदयात्राका परिचित दृश्यभन्दा फरक, ‘ग्रान्ड एभरेस्ट आश्रम’ले अनौठो तथा अलौकिक प्रेमकथामार्फत नेपालको अर्को पक्ष प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ। फिल्ममा आध्यात्मिक र सामान्य जीवनबीचको द्वन्द्व तथा अन्तरक्रियालाई रोचक ढंगले देखाइनेछ।

लेखक तथा निर्देशक बोइम ह्वाङले नेपालप्रतिको आफ्नो आत्मीयताबारे भनेकी छन्, “विगतका वर्षहरूमा पटक–पटक नेपाल भ्रमण गर्ने क्रममा यस देश र यहाँका मानिसहरूप्रति मेरो गहिरो आत्मीयता बढेको छ। नेपालमा रहेको आकर्षण, अनौठोपन र आध्यात्मिक वातावरणलाई आफ्नै सिनेम्याटिक दृष्टिकोणमार्फत पर्दामा उतार्न चाहेकी हुँ।”

यस सहकार्यले नेपाल र दक्षिण कोरियाबीचको सांस्कृतिक तथा सिर्जनात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। दुवै देशका कलाकार तथा फिल्मकर्मीको अनुभवलाई एकसाथ जोडेर अन्तर्राष्ट्रिय स्तरको फिल्म निर्माण गर्ने लक्ष्य रहेको सहनिर्माता चन्दन झाले बताए।

विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरी निर्माण गर्न लागिएको फिल्म नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई ध्यानमा राखेर तयार गरिनेछ। पछि स्ट्रिमिङ प्लेटफर्ममार्फत पनि प्रदर्शन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु भई मार्चसम्म जारी रहने प्रारम्भिक योजना छ। नेपाली पात्रोअनुसार यो अवधि २०८३ माघदेखि चैतसम्म पर्छ। दक्षिण कोरियाली महिला मुख्य कलाकार, सहायक कलाकार तथा निर्माण टोलीका थप सदस्यहरूको विवरण छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech