फागुन २ बाट रिलिज हुने ‘रंगी’को गीत ‘छ भने माया’ सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘रंगी’ को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ। डान्सिङ नम्बरको यो गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ। गीतका शब्द, संगीत र एरेन्ज दुर्गेश थापाले गरेका हुन् भने विमल चिनलले प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ गरेका छन्।

गीतले प्रेमको भाव व्यक्त गर्दछ र फिल्मका मुख्य कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन्। गीतमा सलोन र नम्रताको जोडीलाई आकर्षक देख्न सकिन्छ। कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

संगीतकार दुर्गेश थापाले गीत सार्वजनिक गर्दै यसमा लामो समय टिक्ने मेलोडी समेटिएको बताए। उनले गायक आनन्द कार्कीलाई आफ्ना शब्द र संगीतमा समेट्न पाउँदा गर्व लागेको उल्लेख गरे। गायक आनन्द कार्कीले पनि यस गीत गाउन पाउँदा आफू खुसी भएको बताए। गायिका सुजता केसीले सुन्दर गीतमा स्वर दिन पाएकोमा आभार व्यक्त गरिन्।

फिल्मका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यमबाट सुनेको स्मरण गर्दै दर्शकलाई उत्कृष्ट गीत दिन पाउँदा खुसी लागेको बताए। निर्देशक सुरेश न्यौपानेले ‘रंगी’ सलोन र आफ्ना साना प्रयासको नतिजा भएको उल्लेख गरे।

नायिका नम्रता श्रेष्ठले फिल्ममा डेब्यू गर्न पाउँदा र डान्सिङ नम्बरमा काम गर्न पाउँदा आफू उत्साहित भएको बताइन्। निर्मात्री करिश्मा केसी बस्नेतले फिल्मलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरिन्।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, र दुर्गेश थापा, आमेश भण्डारी, भीम बिसीको संगीत रहेको छ। ‘रंगी’ फागुन २ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech