फिल्मी फण्डा । आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लामो ट्रेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल बनेको छ । फिल्म यौन मनोविज्ञानमा केन्द्रित रहेको ट्रेलरले संकेत गर्छ । लेखक तथा निर्देशक गणेश देव पाण्डेले भने फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्छ, चलचित्रको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ। जुलेबीु लेखक तथा निर्देशकको आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो। चार जना महिला पात्रको कथा रहेको फिल्मको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै फिल्मले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।
कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको फिल्मलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । फिल्मकी निर्मात्री आभा शर्मा नेपाल हुन् । निर्देशक पाण्डे स्वयंको लेखन रहेको चलचित्रको कथावस्तु दर्शकलाई नयाँ लाग्ने विश्वास निर्माण टिमको छ ।
फिल्ममा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।