फिल्मी फण्डा। गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनका घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ। शनिबार उक्त चलचित्रको पहिलो पोस्टर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन्।
पोस्टर सार्वजनिकपछि प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष तथा त्यसपछिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी दिन सहयोग गर्ने विश्वास व्यक्त गरे। उनले हिजोको समाजको वास्तविक अवस्थाबारे युवाहरूलाई अवगत गराउन आवश्यक रहेको बताए।
रुद्राक्ष फिल्म्स प्रा. लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन्। भाद्र दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ। ‘जनक्रान्ति’को प्रदर्शन मिति आगामी फागुन १ गतेका लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए।
निर्देशक तिमिल्सिनाका अनुसार चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनको पृष्ठभूमि समेटिनेछ। सत्य घटनामा आधारित यस चलचित्रले नयाँ पुस्ताका युवालाई नेपालको राजनीतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षको दाबी छ।
चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया, पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई–मधेशको सर्लाहीमा गरिने जनाएको छ।