फिल्मी फण्डा। १९ वर्षीया प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म आयोजना हुँदैछ।
प्रिन्सेसले ‘एस अफ मोडेल्स अन फायर’ नामक नेपालको अग्रणी मोडलिङ प्रतियोगिता जितेर यो अवसर पाएकी हुन्। उनले आफ्नो प्रतिभा र कडा मेहनतका आधारमा विजयी हुँदै यो प्रतिस्पर्धामा भाग लिने पात्रता प्राप्त गरेकी हुन्।
उनले साउन १५ मा जयपुर प्रस्थान गर्नेछिन्। प्रतियोगितामा उनी क्याप्चर फोटोग्राफी नेपाल तर्फबाट सहभागी हुँदैछिन्। यो संस्था पविन्द्र श्रेष्ठद्वारा स्थापित र निर्देशित हो, जसले नेपालमा विभिन्न सौन्दर्य प्रतियोगिता तथा मोडलिङ कार्यक्रमको आयोजना गर्दै आएको छ।
प्रतियोगिताका लागि उनको तयारीमा पविन्द्र श्रेष्ठले मार्गदर्शन गरिरहेका छन्। स्टेज प्रस्तुति र कोरियोग्राफी प्रशिक्षण अजय गुरुङ र रोहन श्रेष्ठले प्रदान गरिरहेका छन्। प्रिन्सेसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो बनाउनेमा आयोजक पक्ष र समर्थकहरू आशावादी छन्।